काठमाडौं । नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ । नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत मागदाबी गरेको विषयमा संघले बोर्डको ध्यानाकर्षण गराएको हो ।
आइतबार संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ सिनेमा भनेको व्यापार मात्र होइन, यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो । त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केवल नेपाली भाषाका सिनेमालाई मात्रै हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ । भाषा भनेको अभिव्यक्तिको माध्यम हो भने कला, साहित्य, संस्कृति र भेषभूषासँग पनि यसको अन्तर्निहित सम्बन्ध रहेको हुन्छ ।’
विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशीसरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलापमा हुने निर्माता संघको ठहर छ ।
साथै संघले ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । यसलाई नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रियकरणको कोसेढुंगाको रुपमा लिएको संघले उल्लेख गरेको छ ।