
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–१३, कार्कीगाउँमा रहेको सूर्यकिरण युवा विकास केन्द्रको आयोजनामा दोस्रो वार्षिक उत्सव खेलकुद एवं सांस्कृतिक समारोह–२०८३ आयोजना हुने भएको छ ।
महोत्सवअन्तर्गत खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ । प्रतियोगितामा विजेता टोलीलाई नगद ३२ हजार, मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ भने उप–विजेताले नगद १६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सहभागी टोलीका लागि दर्ता शुल्क ३ हजार रूपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा खेलकुदसँगै स्थानीय कला प्रदर्शनी, मयुर नाच, तथा स्थानीय बाजागाजाको प्रदर्शन पनि समावेश गरिनेछ, जसले स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
दर्ता प्रक्रिया २०८२ चैत्र २६ गतेदेखि २०८२ चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ भने खेल प्रतियोगिता २०८३ बैशाख १ गतेदेखि ३ गतेसम्म हुने तालिका रहेको छ ।
यसैबीच, जाजरकोटमा पहिलो पटक ‘सूर्यकिरण अवार्ड’ आयोजना हुने भएको छ । आगामी २०८३ वैशाख १ गते, सूर्यकिरण युवा विकास केन्द्रको वार्षिकोत्सवको अवसरमा उक्त अवार्ड कार्यक्रम सञ्चालन गरिनेछ । अवार्ड कार्यक्रममा सहभागिताका लागि आयोजक संस्थाले सम्पूर्णलाई निमन्त्रणा समेत गरेको छ।

आयोजकका अनुसार कार्यक्रम छेडागाड नगरपालिका–१३, कार्कीगाउँमै आयोजना हुनेछ र खेलमा कुनै विवाद उत्पन्न भए आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ । साथै, प्रतियोगितामा सहभागी हुन नेपाली नागरिकता वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
महोत्सव तथा अवार्ड कार्यक्रमले खेलकुद विकाससँगै स्थानीय कला, संस्कृति र प्रतिभाको सम्मानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।