
जाजरकोट। जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचनाहरू हटाउने प्रक्रिया सुरु भएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त बैठकले अतिक्रमण नियन्त्रणका लागि ठोस कार्ययोजना अघि सारेको छ। डिभिजनल वन अधिकृत दिपेश केसीका अनुसार, हाल जिल्लाभर करिब १ हजार ५ सय ५२ हेक्टर वन क्षेत्र विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण गरी कब्जामा राखेका छन्। वन क्षेत्रको संरक्षण र अवैध अतिक्रमणलाई निरुत्साहित गर्ने उद्देश्यले कार्यालयले यो अभियानलाई तीव्रता दिएको हो।
समितिको निर्णयअनुसार, पहिलो चरणमा सरकारी तथा वन क्षेत्र अतिक्रमण गरेर बसेकाहरूलाई ३५ दिने सार्वजनिक सूचना जारी गरिनेछ। डिभिजन वन कार्यालयले तोकेको उक्त ३५ दिनको समयावधिभित्र आफैंले अतिक्रमित संरचना हटाउन र जग्गा खाली गर्न निर्देशन दिएको छ। यदि तोकिएको समयसीमाभित्र अटेर गरी संरचना नहटाएमा नियमानुसार बल प्रयोग गरी सरकारी जग्गा खाली गराइने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले वन तथा सार्वजनिक जग्गाको संरक्षणमा सहयोग पुर्याउन आम नागरिकलाई अपिलसमेत गरेका छन्।