नेपाली समाज विकासको थुप्रै सम्भावना बोकेर अघि बढ्ने बाटोमा छ। भौगोलिक विविधता, सांस्कृतिक समृद्धि र प्राकृतिक स्रोतहरू हामीसँग छन्। जनशक्ति पनि छ, नयाँ पुस्तामा ऊर्जाशीलता पनि देखिन्छ। तर यति धेरै सम्पत्तिका बाबजुद हाम्रो समाज किन यथास्थितिमा अल्झिइरहेको छ ? यसको मूल कारण मध्ये एक हो, हाम्रो सोचमा गहिरिएको नकारात्मकता ।
हाम्रो चिया पसलदेखि सामाजिक सञ्जालसम्म हेर्नुस्, बहसहरू नकारात्मकताले भरिएका हुन्छन्। अरूको सफलता देख्दा प्रेरणा होइन, शंका गरिन्छ। कसैले केही नयाँ प्रयास गर्यो भने उसको कमजोरी खोज्ने हतारो गरिन्छ। कसैले भन्छ – ‘ऊ पनि त यस्तो थियो’, अर्को भन्छ – ‘यो त देखावटी मात्रै हो ।’ सकारात्मक प्रयासलाई पनि तल्लो स्तरको आलोचना र आरोपले घेर्नु हाम्रो संस्कारजस्तै बनिसकेको छ ।
यो प्रवृत्ति केवल व्यक्तिगत व्यवहारमा सीमित छैन । हाम्रो राजनीतिक संस्कार, प्रशासनिक प्रणाली र सामाजिक सम्बन्धमा समेत यसको गहिरो प्रभाव देखिन्छ । नेताले जनतालाई विश्वास गर्दैनन्; जनता नेताप्रति शंका गर्छन् । शिक्षकले विद्यार्थीलाई प्रोत्साहन दिनुभन्दा पहिले उनको कमजोरी देख्छन् । अभिभावकले सन्तानमा अवसर देख्नुभन्दा पहिले डर देख्छन् । यस्तो परिवेशमा सिर्जनशीलता पलाउन सक्दैन, नवीन सोच जन्मन सक्दैन ।
नकारात्मक सोचको जरो विगतको अस्थिरता र असफलतामा छ । दशकौँसम्म राजनीतिक अन्योल, भ्रष्टाचार, अवसरको असमान वितरण र व्यवस्थापकीय कमजोरीले आम नागरिकमा निराशा र विश्वासहीनता जन्माएको छ । बारम्बार असफलताले थिचिएका जनतामा सकारात्मक दृष्टिकोण पलाउन गाह्रो भएको छ। परिणामतः हामी दोषारोपणमै सीमित भइरहन्छौं ।
तर यो अवस्था अपरिवर्तनीय भने होइन । सोच परिवर्तन हुनसाथ समाज परिवर्तन हुन्छ। सकारात्मक सोच भनेको केवल ‘राम्रो कुरा सोँच्नु’ मात्र होइन; यो एक दृष्टिकोण हो -जहाँ अरूको सफलतामा प्रेरणा देखिन्छ, गल्तीमा सुधारको अवसर देखिन्छ र असफलतामा सिकाइको पाठ भेटिन्छ ।
आजको नेपाललाई सबैभन्दा आवश्यक छ – सोचाइको आमूल परिर्वतन । नेतृत्वमा सकारात्मक सोच हुनुपर्छ, नागरिकमा आशावादी दृष्टि हुनुपर्छ, र हाम्रो बहस संस्कृतिमा समाधानमुखी छलफलको संस्कार बस्नुपर्छ । सामाजिक सञ्जाललाई गाली र आरोपको थलो होइन, रचनात्मक विचार आदान-प्रदान गर्ने मञ्च बनाउन सकिन्छ । शिक्षामा नयाँ सोचलाई प्रोत्साहन गर्न सकिन्छ ।
नकारात्मक सोचको यो जेलभित्र हामी जति बसिरहन्छौं, उति हाम्रो सम्भावनाको संसार सुक्दै जान्छ। हामीलाई अब जिम्मेवारीका साथ आफैँलाई प्रश्न गर्नुपर्छ -के हामी सधैँ यस्तै कुण्ठित सोचमा बाँधिइरहने ? कि अब सकारात्मक सोचको उज्यालो बाटोमा हिँड्ने आँट गर्ने ?
समयले उत्तर मागिरहेको छ।