११ श्रावण २०८२, शनिबार
११ श्रावण २०८२, शनिबार
युट्युब र सामाजिक सञ्जालको छायाँमा मूलधार मिडिया : पाठक नै अन्योलमा
युट्युब र सामाजिक सञ्जालको छायाँमा मूलधार मिडिया : पाठक नै अन्योलमा
  • न्युज डेस्क

जाजरकोट । नेपालको सञ्चार जगत अहिले गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ। सूचनाको प्रवाह र वितरण प्रणाली एकातिर झनझन डिजिटल बन्दै गएको छ भने अर्कोतिर सूचना उपभोग गर्ने आम पाठक, दर्शक र स्रोताको मानसिकता झन् जटिल र असमझदारीपूर्ण हुँदै गएको देखिन्छ।

युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको बढ्दो प्रभावले मूलधार मिडिया-जुन पत्रकारिताका स्थापित मूल्य, मान्यता र आचारसंहिता पालना गर्छन्ती- छायाँमा पर्न थालेका छन्।

यसरी मूलधार मिडिया छायाँमा पर्दै गर्दा पाठक/दर्शकहरूमा विश्वसनीयता, तथ्य र स्रोतको आधारमा सूचनाको छनोट र बुझाइमा गहिरो अन्योल उत्पन्न भएको छ।

नेपालमा इन्टरनेटको पहुँच बढेसँगै हरेक नागरिक सूचना उत्पादक र प्रसारक बन्न थालेका छन्। मोबाइल फोनमा क्यामेरा र डेटा हुँदा जोकोहीले समाचार जस्तो देखिने भिडियो तयार गर्न सक्छ र युट्युब, फेसबुक, टिकटकमा राखेर ‘पत्रकार’ जस्तो देखिन सक्छ।

यसले सूचना प्रवाहको लोकतान्त्रिकताको अभ्यास त सिर्जना गर्‍यो, तर यसको दुरुपयोगले समाचार र अफवाहबीचको सीमाना धमिल्याइदिएको छ। युट्युब च्यानलहरूले सनसनीपूर्ण, भावनात्मक र भ्रामक विषयवस्तुहरू प्रस्तुत गरेर ‘भ्यू’ र ‘सब्सक्राइबर’ बढाउने होड चलाएका छन्। यस्तो प्रवृत्तिले ‘सूचनाको सत्यता भन्दा पनि लोकप्रियता महत्वपूर्ण’ भन्ने भ्रम फैलिएको छ।

नेपालमा छापामा आधारित पत्रिकादेखि अनलाइन पोर्टल, एफएम रेडियो, टेलिभिजनसम्मको सञ्चार संरचनाले समाचारको स्रोत, पुष्टि, सन्दर्भ, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण मान्दै आएको थियो। तर पछिल्लो समय, ती मिडियामाथि पनि विभिन्न आरोप लाग्न थालेका छन्रा-जनीतिक पूर्वाग्रह, मालिकको स्वार्थ, विज्ञापनमुखी र कमजोर अनुगमनको कारण।

त्यसैले, जब मूलधार मिडियाको विश्वसनीयता आफैं कमजोर हुँदै जान्छ, त्यही मौकामा युट्युब र सामाजिक सञ्जालले आफ्नो ठाउँ बनाउँछ। जनताले सत्य नझिकेर सजिलो, छिटो र रोचक कुरा खोज्न थालेपछि, मूलधार मिडियाले पनि ‘डिजिटल बजार’मै टिक्न केही हदसम्म उस्तै शैली अपनाउन बाध्य भएका छन्।

‘पत्रकारिता’ भन्नाले तथ्य, सन्तुलन, स्रोत र सामाजिक उत्तरदायित्वका आधारमा समाचार प्रस्तुत गर्ने कार्य बुझिन्छ। तर आजको डिजिटल परिवेशमा ‘कन्टेन्ट क्रिएटर’ को बाढी छ। युट्युबरहरूले विभिन्न घटनाहरूलाई पूर्वाग्रही ढंगले प्रस्तुत गरेर ‘ट्रेंड’ बनाउँछन्, जसको असर जनमानसमा गहिरो हुन्छ।

उदाहरणका लागि, कुनै दुर्घटना भएपछिको पीडित परिवारको अन्तर्वार्ता ‘हिट’ बनाइन्छ, तर त्यसमा संवेदनशीलता, गोपनीयता वा मानसिक स्वास्थ्यको ख्याल गरिँदैन। पत्रकारिता जहाँ समस्या देखाएर समाधान खोज्ने प्रयास गर्छ, त्यहाँ युट्युबमा समस्या देखाएर भिउज बटुल्ने उद्देश्य रहन्छ।

वास्तविक समस्या यहि हो-पाठक र दर्शक कुन कुरा समाचार हो र कुन कुरा नाटकीयकरण भएको हो भन्ने छुट्याउन नसक्ने अवस्थामा पुगेका छन्। हिजोसम्म सत्यतथ्यमा विश्वास गर्ने पाठक आज युट्युबको नाटकीय हेडलाइन हेरेर ‘बुझिसके’ भन्ने मानसिकतामा पुगिसकेका छन्।

त्यसैले मूलधार मिडियाले सत्य समाचार दिए पनि पाठकले त्योभन्दा पहिले युट्युबको सनसनीपुर्ण भर्सन हेरेर धारणा बनाइसकेको हुन्छ।

युट्युब र सामाजिक सञ्जालको छायाँले पत्रकारहरूमा पनि गहिरो असर पारेको छ। मूलधार मिडियामा काम गर्ने पेशागत पत्रकारहरूले मेहनत र अनुसन्धानमा आधारित समाचार बनाउँछन्, तर त्यसको प्रभाव युट्युबरहरूले क्षणभरमै हरण गरिदिन्छन्।

नेपालजस्ता लोकतन्त्र निर्माणको यात्रा तय गरिरहेका देशहरूमा सत्य सूचना जनचेतनाको मेरुदण्ड हो। यदि सूचना नै भ्रमित बन्यो भने, जनताको निर्णय क्षमतामा भ्रम पैदा हुन्छ, जसको असर प्रत्यक्षरूपमा लोकतान्त्रिक अभ्यासमा पर्छ।

त्यसैले, युट्युब र सामाजिक सञ्जालको प्रयोगमा सतर्कता आवश्यक छ। मूलधार मिडियाले पनि पुरानै शैलीमा समाचार दिएर टनाटनको प्रतिस्पर्धा जित्न सक्दैन। जनचाहना बुझेर, प्राविधिक विकास अपनाएर र सत्य–सन्तुलित सामग्री प्रस्तुत गरेर मात्र मूलधार मिडिया पुनः केन्द्रमा फर्कन सक्छ।

अन्ततः, यथार्थ बुझ्न चाहने पाठकहरूलाई नै चेतना जगाउनु मूल लक्ष्य हो। किनभने जागरूक पाठक नै शक्तिशाली मिडियाको आधार हो।

  • १० श्रावण २०८२, शुक्रबार प्रकाशित
  • Nabintech