८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
जाजरकोटीले नै मन नपराएको जाजरकोट
जाजरकोटीले नै मन नपराएको जाजरकोट
  • जनक केसी

२०८० कार्तिक १७ गतेको मध्यरातमा रामीडाँडालाइ केन्द्रविन्दु बनाएर विनासकारी भूकम्प गएपछि बिगतका केहि घटनाहरुले नेपाल भित्र मात्रै चिनाएको जाजरकोट देश बाहिर पनि चिनिन पुग्यो । भूकम्पले ढालेको जाजरकोट र अप्ठेरोमा परेका जाजरकोटीहरुलाइ कोहि हेर्न मात्र आए कोहि साथ दिन आए । देश भित्रका ७६ जिल्लावाट मात्र हैन विश्वका विभिन्न देशहरुबाट मानिसहरु जाजरकोटीहरुको दुख र पिडामा साथ दिन अनि जाजरकोट बुझ्न आए ।

भूकम्प पछिको जाजरकोट हेर्नका लागि जाजरकोट सदरमुकाम खलंगामा आएका धेरै जसोले जाजरकोटको विकास, पहिचान, र सामथ्र्यलाइ जोडेर धेरै प्रश्नहरु गरे । यहाँको सडकको अवस्था, यहाँको पुर्वाधार विकासको अवस्था अनि यहाँका जनताको सामाजिक र आर्थिक सक्षमताको अवस्थालाइ उनीहरुले धेरै कोणवाट अध्ययन गरे । जाजरकोटसंग जोडिएर उनीहरुले सोधेका धेरै प्रश्नहरु मध्य एउटा प्रश्न यस्तो थियो यहाँ घुम्न लायक, हेर्न लायक अनि मनोरन्जन लिन लायक कुनै पर्यटकीय स्थलहरु छैनन् ? उनीहरुले सोचे होलान कि नेपालका अन्य जिल्लाहरुमा जस्तै कृत्रिम वा प्राकृतिक रुपले निर्मित सम्पदाहरु जाजरकोटमा पनि व्यवस्थित र संरक्षित गरेर राखिएका छन् । उनीहरुलाइ पैसा खर्च गर्न कुनै समस्या थिएन । उनीहरु फे्रेस हुन र यहाँको सुन्दरतासंग रमाउन आतुर देखिन्थे । यति मात्रै हैन उनीहरु जाजरकोटी जनताको लागि आर्थिक आयको श्रोत बन्न अनि रोजगारीका अवसर बन्न चहन्थे ।

उनीहरुको प्रश्न सुन्दा र उत्सुकता हेर्दा लाग्थ्यो जाजरकोटका पुर्खा र प्रकृतिले पनि यो ठाँउमा कुनै आकर्षक पर्यटकीय गन्तव्य वा महत्वपुर्ण सम्पदाहरु बनाएका छन् जसलाइ अहिलेका पुस्ताले जोगाएर राखेका छन् । खलंगाका होटेलमा दुइ चार दिन वस्न आएका स्वदेशी तथा विदेशी पाहुनाहरुलाइ यहाँ माथि भत्किन लागेको तर कसैले नदेखेको जाजरकोट दरबार छ भन्ने वाहेक कुनै थप जवाफ स्थानीयहरुले दिन सकेनन् । जाजरकोटको सबै अवस्था अध्ययन गरेर यहाँका प्राकृतिक सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको अवस्था गतिलो नदेखेपछि उनीहरुले अर्को प्रश्न गरे के यहाँका सरकार र नेताहरुले केहि गर्दैनन ? सरकारले जाजरकोटका यी महत्वपुर्ण सम्पदाहरुको संरक्षण विकास र प्रवद्र्धनका लागि बजेट कार्यक्रम हाल्दैन ? त्यसको जवाफ दिन पनि स्थानीयहरु अलमलमा परे । अनि उनीहरुले अर्को प्रश्न पनि गरे जाजरकोटको त अहिले सरकार र निजामति सेवामा पनि राम्र्रै पहुँच छ नि है ? यो प्रश्नको उत्तर दिने वेला ढाड भाँचिएको विरामी बाेले जसरी स्थानीयहरु बाेल्थे अँ‘। हो।। ।

यसै विच एउटा अर्को प्रसंग पनि यहाँ राख्न मन लाग्यो । गत वर्ष जाजरकोट दरबारको संरक्षणका बारेमा केहि कुरा सोधपुछ गर्न म पुरातत्व विभागमा गएको थिएँ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तर्फवाट दरबार संरक्षण तथा संग्राहलय स्थापना सम्वन्धी योजनालाइ सहयोग पुर्याउने गरि कतैबाट बजेट तर्जुमाको सम्भावना छ कि भनेर कुरा गर्दै जाने क्रममा एक जना अधिकृतले भनेको कुराले सारै निरास बनायो । उनले आफनो कम्प्युटरमा रहेका योजनाहरुको सुची देखाउदै भने यदि तपाइको जिल्लाको कोहि नेता मन्त्री हुनुहुन्छ या मन्त्रालयमा ठुलो पदमा जिल्लाको मान्छे हुनु हुन्छ भने तपाइले भनेको काम हुन्छ , बजेट पनि पाउन सक्नु हुन्छ । यो कुरा सुनेर मैले जाजरकोटको राजनैतिक नेतृत्वको पहुँच र कर्मचारीतन्त्रमा देखिको पहुँचका बारेमा सोचेँ अनि आसाबादी पनि भएँ । यहि अनुसार सबैतिर लिखित मौखिक, फोन, मेसेज अनि भेटघाट सबै उपायबाट यो कार्यका लागि पहल गरेँ । पटक पटक फोन मेसेज र भेटघाट तथा बैठक छलफल निरन्तर गरियो व्यक्तिगत रुपमा पनि सस्थागत रुपमा पनि तर यी सबै पहलले अहिले सम्म कुनै उल्लेखनीय उपलब्धी भने देखिएन । पछि के हुन्छ थाहा छैन ।

सरासर हेर्दै जाँदा जाजरकोटमा कुनै आकर्षक पर्यटकीय गन्तव्यहरु भ्वाट्टै देखिदैनन् ।अनि सबैलाइ लाग्छ मुगुको रारा ताल जस्तो ताल जाजरकोटमा छैन, मनकामनाको मन्दिर जस्तो भब्य मन्दिर जाजरकोटमा छैन । पोखराको डेविस फल्स जस्तो झरना पनि जाजरकोटमा छैन , गोरखा पाल्पा जिल्लामा जस्तो भब्य आकर्षक दरवारहरु पनि जाजरकोटमा छैनन् । देवघाट पशुपथि नाथ जस्तो शिव मन्दिर पनि जाजरकोटमा छैन । अनि कुनै हिमाल, आकर्षक पाटन, देवल, मेला, वाजा, भेषभुषा र अन्य मन लोभ्याउने सम्पदाहरु जाजरकोटमा कुनै पनि छैनन् भन्ने वुझाइ सबैमा छ । यस्तो सोचाइ र बुझाइ जिल्ला वाहिरका मानिसहरुमा मात्र हैन स्वयम जाजरकोटीहरुमा पनि छ । जल, जंगल जमिन मात्र नभएर सामाजिक तथा ऐतिहासिक पहिचान र विशेस्ताका हिसावले जाजरकोट कम्जोर र सुन्य जिल्ला पक्कै पनि हैन तर यसलाइ जिल्लावासीले नै माथि उठाउन गतिलो भुमिका नगरेको सत्य हो । हिजो राणा या पन्चायतकाल र बहुदल कालमा जाजरकोट बिपन्न, दुर्गम र बिकट अनि एक्लो थियो तर गणतन्त्रकालपछि कुनै न कुनै हिसावले जाजरकोटको पहुँच केन्द्रिय राज्यसत्ता सम्म शसक्त छ तर परिवर्तनको आभाष मात्र नभएको हो ।

आज देशमा गणतन्त्र स्थापना भएको १६ वर्ष पुरा भएको छ, जनआन्दोलन सफल भएर शसस्त्र द्धन्द स्थायी रुपमा सकिएको १८ वर्ष पुरा भएको छ भने जनताको संविधान जारी भएको ९ वर्ष पुगेको छ तर अहिले सम्म पर्याप्त अन्न फल्ने खेतबारी भरि पुग्ने जाजरकोटमा ठुलो भरपर्दो सिचाइ योजना निर्माण गर्न सकिएको छैन, जाजरकोट अस्पतालमा विशेषज्ञ सेवा सुरु हुन सकेको छैन, जिल्ला भित्र र बाहिरका मानिसहरुलाइ लोभ्याएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र जनताको आयआर्जनको नियमित श्रोत वनाउने कुनै पर्यटकीय गन्तव्य निर्माणको लागि गतिलो योजना बनाएर कार्यान्वयन गर्न सकिएको छैन, बारेकोटको फलाम खानीको उत्खनन गर्ने काम सरकारबाट गराउन सकिएको छैन, टालेगाउँको काइनेट पत्थरको उचित व्यवस्थापन गरेर जिल्लालाइ फाइदा पुरयााउने काम गर्न सकिएको छैन, बारेकोट र कुशेका जंगलहरुमा पाइने विश्वको दुर्लभ रेडपान्डा संरक्षणको लागि गतिलो काम गर्न सकिएको छैन , सदरमुकाम खलंगाको पिउने पानीको मुख्य आधार बुदबुदीको जंगल र पानी मुहान जोगाउनको लागि केहि उल्लेखनीय काम गर्न सकिएको छैन, गोरखाको मनकामनाको समानान्तर मन्दिरको रुपमा चिनिएको मछाइनाको मालिका मन्दिरको निर्माण र त्यस क्षेत्रको प्रवद्र्धन गर्ने गतिलो काम गर्न सकिएको छैन, पैंकको मष्टा, बारेकोटको ठाकुरजी, कुकुर दह, शंखदह, च्याखुरे पाटन सम्म गतिलो पहुँच मार्ग निर्माण र त्यस क्षेत्रको प्रवद्र्धन र विकासको लागि गतिलो काम गर्न सकिएको छैन, खलंगा बजारको पहिरो जोखिमलाइ रोक्न गतिलो ढलनिकासको व्यवस्था गर्न सकिएको छैन, सुयडाको कालिका मन्दिर, जगतिपुरको वायु घट्ट, डिंगाको दिदी बहिनी झरना, दसेराको फाल्म गुफा, पजारुका चैत्य स्तुप देवलको उचित संरक्षण व्यवस्थापन र प्रवद्र्धनको लागि पनि केहि गर्न सकिएको छैन । बारेकोटको कराइचुली हिमाल, कुशेको कुशे पाटन, भेरीको शिवालय मन्दिर क्षेत्र, नलगाडको खनटाकुरा, शिवालयको चिनीकम्द मेला, कुशेको धारपानी मेला, भेरीको रमाइलो मेला, बारेकोटको रामीडाँडा मेलालाइ पनि गतिलो व्यवस्थापनका साथ आकर्षक मौलिक सम्पदा बनाउन केहि पनि गर्न सकिएको छैन ।

जाजरकोटको समग्र विकासको लागि खटिनु पर्ने , चिन्तित हुनु पर्ने, दौडिनु पर्ने, सरकार र राज्यसंग लड्नु पर्ने त आखिर जाजरकोटीले नै त हो । केहि जाजरकोटीहरु धेरै धनी छन् तर जाजरकोट गरिब छ , केहि जाजरकोटीहरुले माथिल्लो तहको पद प्रतिष्ठा र जिम्मेवारी पाएका छन् तर जाजरकोट एक्लो अनि कमजाेर छ । स्थानीय तहको निर्वाचन भएको ७ वर्ष पुरा भयो तर कुनै पनि स्थानीय तहले गौरव गर्न लायक यो काम गरेका छौं भनेर भन्न सक्ने अवस्था जिल्ला भित्रबाट छैन । यस्तै जिल्ला बाहिर माथिल्लो स्थानमा रहेकाहरुले पनि जाजरकोटको स्वरुप बदल्न र जनताको अवस्था बदल्न यो काम उल्लेखनीय रुपले गर्यौं भनेर भन्न सक्ने अवस्था पनि छैन । जाजरकोटका लागि जाजरकोटीहरु लड्न पनि चाहन्छन् । त्यसरी लड्न चहानेहरु सबै कम्जोर र विपन्नहरु छन् । जाजरकोटको परिवर्तन र समृद्धिको लागि जाजरकोटवासीसंग निकै ठुलो सपना र भरभराउदो हुटहुटी पनि छ तर त्यहि हुटहुटी, त्यहि सपना अनि त्यहि सक्रियता तिनै जाजरकोटीको भोटले चुनाव जितेकाहरु र उच्च सरकारी पदमा पुगेकाहरुसंग हुन्थ्यो भने आज जाजरकोट भरि जाजरकोटीको माया फक्रिरहेको हुन्थ्यो । जाजरकोटका होनहार युवाहरुले आफनै गाउँमा रोजगारीका अवसरहरु पाइरहेका हुन्थे । विदेसिदै गएका सयौं हजारौं युवाहरु गाउँमै रोकिन्थे । विकास भनेको पानीका मुल पुर्ने अनि गाउँ वस्ती नै बाढी पहिरोको जोखिममा पार्ने गरि डोजरले बाटो खन्ने, हुँदा खादाको जंगल मास्ने, कनिका छरे जस्तो गरेर बजेट अनुत्पादक कार्यमा खर्च गर्ने, चालु खर्चलाइ विकासको प्रगति मान्ने, उत्पादन तर्फ बजेट केन्द्रित गर्न गाह्रो मान्ने अनि बजेट तर्जुमा गर्दा जनताको आवाज भन्दा कार्यकर्ताहरुको चाकरी सुन्ने मात्र गरे कसरी जनताले देखेको सपना पुरा हुन्छ रु स्थानीय स्तरमा राजस्व संकलनका मौलिक उपाायहरु प्रयोग गर्न सकिने श्रोत र अवसर नजुटाउने, जिल्लाको पहिचानसंग सम्वन्धित संरचना र योजनाको निर्माणमा कुनै चासो नदिने अनि जनताको भन्दा कार्यकर्ताको आवस्यकता र मागलाइ पहिलो प्राथमिकता दिएर बजेट र योजना छनोटमा सक्रियता देखाउदै जाँदा समृद्ध जाजरकोट साँच्चिकै हाम्रै पालामा सम्भव होला तरु राजनीतिमा आसा लाग्दो तरिकाले उदाएकाहरु, निजामति सेवामा गर्व गर्न लायक भएकाहरु, व्यापार, उद्योग र सामाजिक क्षेत्रमा अव्वल कहलिएकाहरु आफनो जिम्मेवारी वहनका क्रममा जाजरकोटलाइ कति पटक सम्झिन्छन् होलारु जाजरकोट बदल्ने चिन्ता कति गर्छन् होला ? जाजरकोट छोडेर गए पनि जाजरकोटमै बसे पनि जाजरकोटवाट फाइदाको हिसाब मात्रै गरिरहदा सम्म हाम्रो नियति अरुलाइ सराप्ने र आफनो दुनो सोझ्याउने मात्रै हुने स्पष्ट छ ।

जाजरकोट दरबार वर्षौ देखि जीर्ण छ, भुकम्पले आधा बनाउदा पनि कसैको आखा लागेको छैन , मछाइनाको मालिका,पैंकको मष्टा, बारेकोटको रेडपान्डा, बारेकोटकै ठाकुरजी दल, शंख दह लगाएतका भब्य अनि सुन्दर सम्पदाहरु ओझेल परेका छन् । खेतभरि चहार्ने गतिलो सिचाइ छैन, गाँउ बस्तीमा खानेपानीको गतिलो सुविधा छैन, गाउँ छोडेर विदेसिन बाध्य युवाहरुलाइ यतै अवसर दिएर रोक्ने कुनै उपाया छैन, गाउँ गाउँमा वढ्दै गएको भ्रष्टाचार अनियमितता र ठगी रोक्ने कुनै दमदार नेतृत्व छैन । जसले भ्रष्टाचारलाइ बढावा दिन्छ, पक्षपात गर्छ, चाकरी गर्न सिपालु छ त्यो सत्ता शक्ति र जनता सवैको प्रिय हुने चलन बलियो बनाइसकेका छौं । ।जाजरकोटका लागि केहि पनि राम्रो काम गर्न कोहि पनि जाजरकोटी अग्रसर भए साथ सहयोग र योगदान पाउन सजिलो छैन । सकरात्मक र सृजनात्मक सोच राखेर सहकार्य गरिदिनेहरु भेटाउन सारै गाह्रो छ । हामी समस्या देख्छौं तर समाधान दिनका लागि अग्रसर हुदैनौं । हामी गाली आलोचना मात्रै गर्छौ तर आफनो तर्फवाट गर्ने भुमिकाका बेला पन्छिन मात्र जानेका छौं । आफुले के गरेँ भनेर नसोच्ने तर अरुले यो गरेनन उ गरेनन भनेर कराउने कार्यमा हामीले राम्रो भुमिका निभाउन जानेका छौं । यसको एउटै कारण हो सक्षम जाजरकोटीहरुले नै जाजरकोटलाइ माया नगर्नु अनि जाजरकोट प्रति अरुको मात्र कर्तव्य र दायित्व छ हाम्रो केहि छैन भन्ने दरिद्र सोच राख्नु ।माथिल्लो तह र जिम्मेवारीमा रहेका जाजरकोटीहरु मात्र हैन जिल्लामै रहेका जाजरकोटीहरुले पनि साचिकै माया गरेको भए जाजरकोटमा केहि उल्लेखनीय र दुनियालाइ देखाउन मिल्ने काम हुन्थ्यो । त्यसैले जाजरकोटीको नाम मात्र हैन जाजरकोट प्रतिको सपना र समर्पित भावना समेत पुरा गर्न इमानदार प्रयास अघि सारौं । धन्यवाद ।

लेखक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन्

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech