२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार
अब त बुद्धि आओस् ! – नयाँ वर्ष २०८२ को राष्ट्रिय अपेक्षा
अब त बुद्धि आओस् ! – नयाँ वर्ष २०८२ को राष्ट्रिय अपेक्षा
  • पवन शर्मा

जाजरकोट ।  नयाँ वर्ष फेरि आयो। फूलहरू फक्रिए, शुभकामनाहरू आदानप्रदान भए, सामाजिक सञ्जाल रंगिन बन्यो। तर जनताको मनचाहिँ अझै पहिलेजस्तै खिन्न र निराश देखिन्छ। किनकि हामी वर्ष बदलिरहेका छौं, तर अवस्था भने उस्तै छ। हरेक नयाँ वर्ष नयाँ सरकारजस्तै लाग्छ – सुरुमा आशा हुन्छ, तर अन्त्यमा निराशा मात्र बाँकी रहन्छ।

नेपालमा राजनीतिक परिवर्तन धेरै भए – राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापनादेखि संघीयता, समावेशीता र संविधानसम्म। तर परिवर्तनको मुख्य लक्ष्य जनताको जीवनस्तरमा सुधार अझै परकै कुरा जस्तो लाग्छ। शासकीय प्रणाली फेरिए, तर शासन गर्ने शैली र सोच उस्तै छन्। गुट, उपगुट, भागबण्डा, संसदीय संख्याको खेल अनि स्वार्थको प्रतिस्पर्धा, अनि जनताको पिडा सुनिने ठाउँ कतै छैन।

नयाँ वर्ष २०८२ मा हाम्रो सबैभन्दा ठूलो आशा र माग हो “अब त बुद्धि आओस्”!

राजनीतिक दलहरूका नेताहरूले सोच्नुपर्छ  आखिर हामी किन यहाँ छौं ? जनताको मत किन पायौं ? हिजोका सहिदहरूले किन रगत बगाए ? संविधान लेख्नका लागि जनताले किन आन्दोलन गरे ? यी प्रश्नहरूको जवाफ खोज्ने कि केवल कुर्सीका लागि दौडिरहने ?

देशमा बेरोजगारी चरम छ। युवाहरूले देश छोड्न बाध्य छन् । शिक्षा र स्वास्थ्यको अवस्था कमजोर छ। भौतिक पूर्वाधारमा भ्रष्टाचार व्याप्त छ। तर राजनीतिक एजेन्डा भने सत्तासमीकरणमै सीमित देखिन्छ । नयाँ अनुहार ल्याउने कुरा हुन्छ, तर नीति, सोच र प्रतिबद्धता पुरानै जस्तो देखिन्छ।

अब आवश्यक छ, राजनीतिक दलहरूबीच राष्ट्रहितकाे सहकार्य । बहस होस् तर सभ्य होस्। प्रतिस्पर्धा होस् तर विकासको लागि होस्। मत भिन्नता होस् तर देशभक्तिप्रति साझा एकता होस्।

२०८२ सालले सबै नेताहरूमा नयाँ चेत, जिम्मेवारी र इमानदार नेतृत्व विकास गरोस्। हामी जनताले फेरि पनि आशा गर्न चाहन्छौं,
“अब त बुद्धि आओस्!”

  • १ बैशाख २०८२, सोमबार प्रकाशित
  • Nabintech