६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
गजल
गजल
  • प्रकाश सापकोटा

होला, हजुरले भनेपछि हिउँको रङ पनि कालो होला
निभे निभोस् बत्ती बस्तीमा हजुरको मन त उज्यालो होला !

किन निकाल्नुहुन्छ लोकसेवाको विज्ञापन गोरखापत्रमा ?
नाउँ निकाल्ने आखिर हजुरकै भतिजो या त सालो होला !

हामीतिर हेर्दै घुर्छ र गर्जिन्छ, उता फर्केर ‘म्याउ-म्याउ’ गर्छ
राघेपाटे त्यो ढाडे जन्तु, खै बाघ होला कि बिरालो होला !

चाहे जाओस् भुइँचालो, फैलियोस् चाहे भोकमरी महामारी
के फरक पर्छ हजुरलाई, मर्ने त गाउँको गोठालो होला !

महासय, सुँघ्नोस् नाकमा सुँघ्ने क्षमता बाँकी छ भने
आमाका ‘मुटु’को तातो रगत माटोमा अझै आलो होला !

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech