
१८ पुस सुर्खेत । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बीमातर्फ रकम हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले तीन जना प्रतिवादीलाई दोषी ठहर गर्दै जनही दुई वर्ष कैद सजाय सुनाएको छ । साथै अदालतले उनीहरूबाट २४ लाख रुपैयाँभन्दा बढी विगो तथा जरिवाना असुल गर्न आदेश दिएको छ ।
अदालतका अध्यक्ष एवम न्यायाधीश सुदर्शनदेव भट्ट सदस्यद्वय न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर करार पदमा कार्यरत कर्मचारी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध रकम हिनामिनाको अभियोग लगाइएको थियो ।अदालतका अनुसार प्रतिवादीले भ्रष्टाचार गरी हिनामिना गरेको ठहर भएको कुल विगो रकम २४ लाख २ हजार ९० रुपैयाँ रहेको छ ।