
काठमाडौ । मेटा कम्पनीले नेपालका लागि फेसबुक मोनेटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमार्फत आम्दानी गर्ने विषयमा प्रयोगकर्ताको चासो उल्लेखनीय रूपमा बढेको छ।
यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाईको सुविधा उपलब्ध गराउँदै आएको थियो। तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता मोडेलहरू क्रमशः हटाउँदै नयाँ प्रणाली अन्तर्गत ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ सुरु गरेको हो।
फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच योग्यता पुर्याएर आम्दानी गर्ने उद्देश्यले आपसी सहकार्यको अभियान नै चलेको देखिन्छ। यस्तो सहकार्य विशेषगरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालन भइरहेको छ।
यी ग्रुपहरूमा हप्रयोगकर्ताहरूले एक–अर्कालाई फलो गर्ने, पोस्टमा लाइक र कमेन्टमार्फत इङ्गेजमेन्ट बढाउने तथा फेसबुकले तोकेका मापदण्ड पूरा गर्न सहयोग आदान–प्रदान गर्ने गरेका छन्। यस्ता थुप्रै ग्रुपहरूमध्ये हाल ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप निकै सक्रिय देखिएको छ।
उक्त ग्रुपमा हाल एक लाख चार हजारभन्दा बढी सदस्य रहेका छन् भने १३/१४ जना एडमिनको रूपमा सक्रिय छन्। आपसी सहकार्यमार्फत फेसबुकमा फलोअर्स बढाउने उद्देश्यले सञ्चालनमा आएको यो ग्रुप दामोदर न्यौपानेको परिकल्पनामा स्थापना गरिएको हो।
फेसबुक मोनेटाइजेसनका लागि अत्यन्त सक्रिय रहँदै आएको उक्त ग्रुपले सामाजिक सञ्जाल प्रयोगकर्तालाई उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ।