२ असार २०८१, शनिबार
२ असार २०८१, शनिबार
कसले सुरु गर्याे खलंगाको लाखेनाच ?
कसले सुरु गर्याे खलंगाको लाखेनाच ?
  • जनक केसी

नाँचगान, क्यारिकेचर, र विभिन्न सामाजिक लोक परम्परा र सँस्कृतिहरुको दुरुस्तै झल्को दिने लाखे नाँच जाजरकोटको एउटा महत्वपुर्ण लोक पर्व हो । जाजरकोटका २१ औ राजा उपेन्द्रविक्रम शाहको पालादेखि खलंगामा लाखे नाचको सुरुवात गरिएको हो । राजा उपेन्द्रविक्रमले भक्तपुरबाट जिल्लामा भित्र्याएको नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्ष अघि सुरु गरेको लाखेनाच सदरमुकाम खलंगाका लागि मात्र नभइ समग्र जाजरकोटको एउटा मौलिक तथा सामाजिक एकता दर्शाउने पर्व वनेको छ । प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गाँठेमंगल पर्व मनाउँदै खलंगामा लाखेनाच सुरु हुने गर्दछ ।

सामाजिक सद्भाव, एकता र मेलमिलापसँगै स्वस्थ मनोरन्जनका लागि जिल्ला सदरमुकाम खलंगामा मात्रै देखाइने लाखेनाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सम्म जारी रहने गरेको छ । गोविन्दमान भडेलले सुरु गरेको लाखेनाचमा सुरुका बेला साधुराम धोवीले निकै कलात्मक र रमाइलो पारामा लाखे नाच्ने गर्थे । साधुरामको लाखेनाच निकै रमाइलो र आकर्षक हुने गरेको वुढापाकाहरुको स्मरणीय अनुभुतिवाट स्पष्ट हुन्छ । साधुरामपछि लाखेको भुमिकामा स्थानीय डोलप्रसाद श्रेष्ठ, भवानीसुन्दर श्रेष्ठ, हुमप्रसाद शाक्यले पनि निकै कलात्मक प्रस्तुती दिन्थे ।

यस्तै पछिल्लो समयमा भरत केसीको लाखेनाच पनि सम्झन लायक मानिन्छ । भप्पुहरुको भूमिकामा बालकृष्ण भडेल, नीमबहादुर भडेल, कर्णबहादुर भडेल, क्षेत्रबहादुर श्रेष्ठ, केशवमान भडेल, कृष्ण श्रेष्ठ सल्यानी माइलाले पनि निकै रमाइलो र आकर्षक अभिनय गरेर लाखेनाचलाई रोचक बनाउने गरेका थिए । रमाइलो एवं जोशिलो पारामा ढोल बजाउने पत्थर शाही र राउटेको अभिनय गर्ने दीपबहादुर केसी र राउटेनीको भूमिका गर्ने लेकबहादुर शाहलाई पनि स्थानीय बूढापाकाहरु रमाइलोसँग सम्झन्छन् । स्मरण गर्न लायक कुरा के छ भने, बर्षेनि हुने लाखेनाचमा आकर्षक एवं कलात्मक तरिकाले राउटेको अभिनय गर्ने भएकाले दीपबहादुर केसीको परिवारलाई नै राउटेको परिवारको नामले स्थानीयहरुले सम्झने गर्दछन् ।

यस्तै लाखे नाँचमै लाटीको भूमिकामा रमाइलो गर्ने शान्तबहादुर श्रेष्ठलाई पनि लाखेनाचको कुरा गर्न बित्तिकै सम्झनेहरु धेरै छन् । कृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काट्ने नाँचमा श्रीकृष्ण बनेर नाच्ने डम्बरजँग शाह र उनका छोरा भरतजँग शाहलाई पनि स्थानीयहरु निकै प्रिय मनले सम्झने गर्छन् । पछिल्लो समयमा कृष्णजीको भूमिकामा भने बमबहादुर भडेल र महेन्द्र भडेलको अभिनय पनि सम्झन लायक छ ।

अघिल्लो पुस्ताका लाखे नाँच सञ्चालकहरुको मृत्यु र निष्क्रियतापछि स्वर्गीय निमबहादुर भडेल (पीलममरा माइला)ले लामो समय लाखेनाचलाई जीवन्त राख्नुको साथै जिल्लाकै पौराणिक सम्पदाको रुपमा जोगाई दिने काम गरे । उनले लाखेनाचको अगुवाइ गर्दासम्म लाखेनाच हेर्नका लागि सदरमुकाम खलंगामा गाउँहरुबाट मात्र नभएर छिमेकी जिल्ला रुकुम, सल्यानबाट समेत जाजरकोट खलंगामा लाखेनाच हेर्नेको ठूलो भीड लाग्ने गर्दथ्यो । प्रहरीको बर्दीमा कालो चश्मा लगाएर सिटी फुक्दै लाखेनाच अन्तर्गतका विभिन्न जात्रा र गतिविधिहरुमा निमबहादुरले देखाउने सक्रियता र लाखेनाँचमा त्यो बेला गाउने एउटा गीत निकै चर्चित थियो । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीच भएको लडाइँको दुरुस्तै झल्को दिने विभिन्न गतिविधिहरु सन्चालन गर्दै खलंगा बजार क्षेत्र भरि लाखेनाच नाच्ने गरिन्छ ।

लाखेनाचका क्रममा स्थानीय लोक भाका, भेषभुषा र चालचलन एवम रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, बैरागी जात्रा र अन्य जात्राहरु देखाउँदै समाजका विभिन्न विकृतिहरु माथि खरो व्यंग्य प्रहार गर्ने गतिविधिहरु निकै रोचक छन् । लाखे नाँचको बेला कंशको प्रतीकको रुपमा डरलाग्दो राक्षसी रुप गरेको लाखे र उसका सिपाहीका प्रतीकका रुपमा विभिन्न काला सेता र अन्य रंग र स्वरुपका मुकुण्डो लगाएका भप्पुहरुको साथै अन्य हाँस्य पात्रहरुको रमाइला र मनोरन्जनात्मक गतिविधिले स्थानीय बस्ती तथा बजारहरुमा छुट्टै रौनक छाउने गर्छ । भप्पुहरुका विभिन्न रुप र नामहरु पनि स्थानीय वस्तीमा प्रचलित छन् । टुरे, सुरे, दारे अर्थात थेप्चे लगायतका नामका भप्पुहरुले दिने मनोरन्जनलाई केटाकेटीदेखि युवा र प्रौढसम्मका नागरिकहरुले रमाइलो मान्दै सम्झिएर उच्चारण गर्छन् ।

यस्तै तत्कालीन समयमा राजतन्त्र रहेको वेलामा राजाको दीर्घायुको कामना गर्दै निमबहादुर भडेलले लय हालेर गाउने ‘बढ–बढ विदा, हाम्रा श्रीपाँचको, आज्ञा पालन गराँंै ।’ वोलको गीत र यसको तालमा नाँच्ने लाखे र भप्पुहरुको नाँचले सबैलाई उत्साह र उमंग दिएर रमाइलो अनुभूति दिने गर्दथ्यो । निमबहादुर भडेलले आफ्नै घरायसी कारणले जाजरकोट छोडेपछि लाखेनाच बिस्तारै ओझेलमा पर्दै गयो र यसलाइ मौलिक र व्यवस्थित गर्ने तर्फ स्थानीय सरकार, सर्वसाधारण र सरोकारवालाहरुले खासै चिन्ता र चासो नलिएको पनि देखिन्छ । नेवार समुदायमा पछिल्लो पुस्ताका युवाहरुले लाखे नाँचको निरन्तरता र संक्षरणमा ध्यान नदिएका कारण लाखे नाँच ओझेल परेको देखिन्छ । पहिले निकै मौलिक तरिकाले लाखेनाच नाँच्ने गरे पनि पछिल्लो समयमा सबैले बेवास्ता गरेपछि जिल्लाको सम्पत्तिको रुपमा रहेको लाखेनाच हराउने अवस्थामा पुगेको छ । ‘आफ्नोभन्दा बढी अरुको संस्कृति र परम्पराको देखासिकी गर्ने हामीले कहिले पनि आफ्नो लोक परम्पराको जगेर्ना गर्न सकेका छैनौं ।

मौलिक ढंगले पुस्ता हस्तान्तरण हुन नसकेको लाखे नाँच गएको दुइ तीन वर्ष देखि फेरि विशेष तयारीका साथ मनाउने पहल गरिएको भनिएपनि मौलिकता, स्वस्थ मनोरन्जन र खलंगावासीको उत्साहपुर्ण सहभागिताको अभाव भने खड्केको देखिन्छ । लाखे पर्वलाई जिल्लाकै सम्पत्तिको रुपमा विकास गर्नेगरी संस्थागत या समुहगत रुपमा व्यवस्थित पहलको जरुरत देखिन्छ । स्थानीय कला सँस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले यस तर्फ भेरी नगरपालिका र अन्य निकायले गम्भीरतापुर्वक सोच्न जरुरी छ । विगतमा निमबहादुर भडेलले जिल्ला छोडेपछि लाखेनाच ९पर्व० मा केही उच्छृंखलताहरु देखिएका छन् यसलाइ हटाउन जरुरी छ ।

लाखे नाँचका लागि नेवार समुदायको पहिलो जिम्मेवारी र सक्रियता जरुरी भएपनि यो हामी सवैको मौलिक पर्वको रुपमा स्थापित भइसकेकोले जिल्लाका सबै स्थानीय जाति र समुदायका मानिसहरुले यस नाचलाई माया र साथ न्यायपुर्ण ढंगले दिन जरुरी छ । पछिल्लो समयमा खलंगा तथा आसपासका ठकुरी, बाहुन, क्षेत्री र दलित लगायतका समुदायले लाखे नाँचमा देखाएको चासो, रुचि र सहभागिता निकै सकरात्मक छ । लाखे नाँचलाइ मौलिक स्वरुप दिन तथा नयाँ पुस्तामा हस्तान्तरणको गतिलो जिम्मेवारीवोध गराउनका लागि युवा पुस्ता र अगाडिको पुस्ताका विचमा सहकार्य हुन जरुरी देखिन्छ ।लाखेनाच जिल्ला सदरमुकाम खलंगाका नेवार समुदायको मात्र नभएर आम सदरमुकामबासीको पुरानो चिनारीका रुपमा रहेको लोक सम्पत्ति हो भन्ने कुरा सवैलाइ वुझाउन र वुज्न आवस्यक छ । विगतदेखि वर्तमानसम्म जाजरकोटको निकै लोकप्रिय र भव्य महत्वको स्थानीय पर्वका रुपमा रहेको लाखेनाच पछिल्लो समयमा बेवास्ताका कारणले लोप हुन थालेको प्रति सवैले चिन्ता र चासो लिनै पर्ने देखिन्छ ।

विगतमा स्थानीय नेवार र अन्य समुदायको सामूहिक पहलमा निकै रोचक ढंंगले मनाइने लाखेनाच पछिल्लो चरणमा खल्लो हुँदै गएको छ ।जबर्जस्ती रकम माग्ने, उग्रता देखाउने, अभद्र स्वभावका गतिविधिहरु सञ्चालन गर्ने कार्यप्रति स्थानीयले असन्तुष्टि जनाउने गरेका छन् । स्वस्थ मनोरन्जन तथा मौलिकताको प्रदर्शन भन्दा बढी जबर्जस्ती बटुवाहरुसँंग रुपैयाँ माग्ने गतिविधिहरु असोभनीय छन् जुन सुधार गर्न जरुरी छ । जिल्लाको ऐतिहासिक तथा सामाजिक परम्परासँग जोडिएको लाखेनाच ९पर्व० लाई सबै मिलेर संरक्षण गर्नुपर्ने सवैको दायित्व हो ।

विगतमा लाखे नाँच स्वस्थ मनोरन्जन तथा मौलिक कला एवं संस्कृती झल्काउने किसिमका गतिविधिहरु गर्ने गरिएको सरोकारवालाहरुले सम्झने र सोहि अनुसार पर्व मनाउनु राम्रो हुन्छ । युवा पुस्ताले आफ्नो संस्कृती र परम्परालाई भुल्दै गएका कारण जिल्लामा लाखे नाँच लगायतका अन्य स्थानीय पर्व तथा परम्पराहरु लोप हुने अवस्था पुगेकोले अव सवै स्थानीय चाडपर्व र परम्पराहरुलाय युवाहरुले अग्रजहरुवाट ज्ञान अनुभव लिएर संरक्षणको पहल लिनु पर्छ । उचित चासो, चिन्ता र पहल लिन हामीले कन्चुस्याइ गर्दै जादा अहिले जिल्लामा लाखे नाँच लगायतका अन्य स्थानीय मेला, पर्व, नाँच, गीत र संस्कृतिहरु लोप हुँदै गएका छन् ।

भेरी नगरपालिकाको आब २०७५/०७६ मा सम्पन्न नगर सभाले खलंगामा मनाइने लाखे नाँच लगायतका पर्वहरु र जाजरकोट दरबारको संरक्षणका लागि विशेष नीतिगत निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन तर्फ स्वयम भेरी नगरपालिकाले नै चासो दिएको छैन । अव यस निर्णयलाइ प्रभावकारी कार्यान्वयनका लागि सवैले पहल गर्नु पर्छ । यस पटकको लाखे नाँचलाइ व्यवस्थित र उपलव्धीमुलक वनाउन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आवस्यक समन्वय गरेको छ । सवैको साथ सहयोग र सहकार्यका माध्यमवाट जिल्लाको महत्वपुर्ण पर्वको संरक्षण गर्ने तर्फ विशेष गरि भेरी नगरपालिका र स्थानीयवासीले सोच्नुपर्ने वेला भएको छ । मौलिक परम्परा र सँस्कृति हाम्रा अमुल्य धरोहर हुन सवैले यीनको संरक्षणको पहल गरौं । धन्यवाद।

लेखक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित
  • Nabintech