१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
फिल्मको पाइरेसी रोक्न हटलाइन नम्बरसहितको साइबर सुरक्षा डेस्क स्थापना हुने
फिल्मको पाइरेसी रोक्न हटलाइन नम्बरसहितको साइबर सुरक्षा डेस्क स्थापना हुने
  • paschimpatra

काठमाडौँ । सामाजिक संजालमा फिल्म पाइरेसी बढेपछि त्यसलाई रोक्न चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने भएको छ ।

मंगलबार बोर्डमा आयोजित समारोहमा अध्यक्ष भुवन केसीले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए ।

‘सामाजिक संजालले निर्मातालाई दर्शकसामु पुग्न जति सजिलो भएको छ त्यति नै यसले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति खडा गरेको छ’ केसीले भने, ‘यसले हाम्रो उद्योगलाई नोक्सान पुर्‍याएको छ ।’

कलाकारको गोपनियता र सुरक्षामा पनि साइबर हमला भएको बताउँदै अध्यक्ष केसीले यी चुनौतिलाई सम्बोधन गर्न डेडिकेटेड डेस्क स्थापना गर्ने नीति लिएको बताए । डेस्कको लागि प्रणाली विकासको काम सुरु भएको जानकारी दिँदै कार्यक्रममा साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु प्रस्तुत गरियो ।

साइबर जोखिम न्यूनीकरण गर्न प्रहरी, निर्माता संघ, सामाजिक संजाल प्लेटफर्म र सम्बद्ध निकायसँग सहकार्य गरिने अध्यक्ष केसीले बताए ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, सूचना प्रविधि केन्द्रका निर्देशक प्रदिप शर्मा पौडेल, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हादप्रसाद पुडासैनी, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का लगायतको उपस्थिती थियो ।

सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलले बोर्डले चालेको कदम महत्वपूर्ण रहेको बताउँदै केन्द्रले आवश्यकता नुसार सहकार्य गर्ने प्रतिबद्धता जनाए । सूचना प्रविधि विभागका महानिर्देशक श्रेष्ठले साइबर सेक्युरिटी डेस्कलाई आवश्यक सहयोगको लागिसरकार तत्पर रहेको बताए । रजिष्ट्रार पुडासैनीले साइबर सेक्युरिटी र बौद्धिक सम्पतीको संरक्षण परस्पर रहेको बताउँदै सहकार्य गर्ने बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले तुरुन्तै लागु हुने गरि साइबर सेक्युरिटी डेस्कलाई अघि बढाउन जोड दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रेग्मीले प्रहरीले साइबर सेक्युरिटीको लागि डेडिकेटेड ब्यूरो ’साइबर ब्यूरो’ नै सञ्चालन गरेको जनाउँदै चलचित्र र चलचित्रकर्मीहरुका हरेक समस्या समाधान गर्न नेपाल प्रहरी २४ घण्टा नै तयार रहेको बताए ।

‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन र यसको लागतबारे आगामी आर्थिक बर्षको बजेट विनियोजनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोर्डले प्रस्तावना पेश गरिसकेको छ । छायांकनदेखि रिलिजसम्म फिल्मका महत्वपूर्ण दृश्य सामाजिक संजालमा सार्वजनिक हुँदा निर्मातालाई हैरानी भएको छ ।

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech