जाजरकोट दरबारलाइ संग्राहलय बनाउने अभियान अन्तरगत चर्चित गोरखा दरबार र त्यहाँको दरबार संग्राहलयवारे अध्ययन भ्रमण गर्ने इच्छाले माघ २७ गते विहान गोरखा जिल्लामा पुग्ने अवसर मिल्यो ।
नेपाल एकिकरणका प्रवर्तक पृथ्वीनारायण शाह जन्मेको दरबार हेर्ने र त्यहाँ सरकारले निर्माण गरेको ऐतिहासिक संग्राहलय अवलोकन गर्ने मेरो पुरानो धोको पुरा गर्न जाँदा दरबारको स्वरुप र संग्राहलय भित्रका सामाग्रीहरु मात्रै नभएर त्यहाँको अन्य अवस्थाको अध्ययन गर्ने पनि अबसर मिल्यो ।
दुइ घन्टाको गोरखा बसाइको क्रममा मैले गोरखा दरबार र त्यस आसपासको क्षेत्र अनि भुगोल लगाएत अन्य कुराको अध्ययन अवलोकन गर्ने क्रममा गोरखा दरबार क्षेत्र र जाजरकोट दरबार क्षेत्र विचका केहि कुराहरु तुलना गर्न मन लाग्यो । विक्रम सम्बत १४५५ मा राजा जगतिसिंहले स्थापना गरेको जाजरकोट राज्य र विक्रम सम्बत १६१६ भदौ २५ गते द्रव्य शाहले स्थापना गरेको गोरखा राज्यको महत्वका विचमा धेरै फरक भएपनि भुगोल र मौलिकतामा समानता पाएँ ।
राजा राम शाहले विक्रम सम्वत १६६६मा निर्माण गरेको गोरखा दरबार क्षेत्र अहिले पनि मौलिक रुपमै सुरक्षित छ ।विक्रम सम्बत १७७९ सालमा नेपाल एकिकरणका प्रवर्तक पृथ्वीनारायण शाहको जन्म भएको उक्त दरवारको ऐतिहासिक पुरातात्विक तथा मौलिक महत्वका साथै सो क्षेत्रको जीवन्त मौलिक वातावरण र स्वरुपले जो कोहिलाइ पनि प्रभावित बनाउछ । गोरखा राज्य र दरवार क्षेत्रको सम्बत इतिहासमा जाजरकोट राज्य र दरवारसंग पनि भएकोले यी दुइ क्षेत्रका बारेमा केहि तुलनात्मक विश्लेषण गर्न मन लागेको छ ।
१. गोरखा दरबार क्षेत्र
ऐतिहासिक पुरातात्विक तथा राष्ट्रिय महत्वको ४ सय १३ वर्ष पुरानो गोरखा दरबार क्षेत्र गोरखा सदरमुकाम वजार भन्दा माथिको ढुंगे टाकुरोमा रहेको छ । वरिपरिको घना जंगल, अप्ठेरो चटटानी पहाडमा उतिवेलै वनाइएको ढुंगे सिढि,कलात्मक संरचनाहरु,उतिवेलैका भौतिक स्वरुप र चटटानी पहाडको टुप्पोमा रहेको कलात्मक गोरखा दरवार राष्ट्रिय महत्वको ऐतिहासिक तथा पुरातात्विक सम्पदा वनेको छ ।विक्रम सम्वत १७७९ मा नेपाल एकिकरणका प्रर्वतक राजा पृथ्वीनारायण शाहको जन्म यहि दरबारमा भएका कारण पनि यो दरबारर क्षेत्रको महत्व र गरिमा झन बढेको छ । शासन सन्चानमा निकै चतुर र निपुण पृथ्वीनारायण शाहलाइ नेपाल एकिकरणको अभियान सुरु गर्ने र सफल बनाउने प्रेरणा दिएको यस दरबार क्षेत्र सवैको लागि अध्ययन र चासोको विषय छ । वर्षाैं सम्म दरबार क्षेत्र वरपरिको मौलिक स्वरुप र संरचना जोगाइराख्ने काममा गोरखाली जनता, नेता, स्थानीय सरोकारवालाहरुले दिएको चासो र खेलेको भुमिका अन्य ठाउँका लागि सिकाइको स्रोत भएको देखिन्छ ।
२. जाजरकोट दरबार क्षेत्र
आज भन्दा ६ सय २४ वर्ष अघि अर्थात विक्रम सम्बत १४५५ मा राजा जगतिसिंह मेदिनीबर्माले स्थापना गरेको जाजरकोट राज्यका नवौं राजा मन्दिर शाहले तत्कालीन राजधानी जगतिपुरबाट हालको खलंगा बजारको माथि टाकुरोमा राजधानी सारेको क्षेत्रलाइ नै जाजरकोट दरबार क्षेत्र भनिन्छ । जाजरकोटका १६ औं राजा हरि शाहको पाला देखि नै जाजरकोट राज्यको चर्चा र महत्वको बयान इतिहासमा छ । विक्रम सम्बत १८०० सालमा काँसी भ्रमणमा गएका गोरखाका राजा पृथ्वीनारायण शाह र जाजरकोटे राजा हरि शाहका विचमा भएको भेटघाट तथा धर्मसन्धी पछिको अवस्थाका कारण जाजरकोट दरबार क्षेत्रको महत्व र चर्चा उल्लेखनीय छ । विक्रम सम्बत १८०० सालपछि खलंगाको टाकुरोमा निर्माण भएको दरबार क्षेत्रमा रहेका रातो दरबार र सेतो दरबार क्षेत्रलाइ नेपाल सरकारले चार वर्ष .अघि मुलुकका प्रमुख पर्यटकीय गन्तव्यको सुचीमा राखेको छ । हल्ला र चर्चा वढी नभएका कारण ओझेलमा परेको जाजरकोट दरबार क्षेत्रले स्वयम जाजरकोटीकै साथ नपाएर मौलिकता गुमाउन पुगेको छ । विगतका केहि मौलिक संरचनाको विनास, राज्यकालमा प्रयोग भएका सामाग्रीहरुको चोरी तथा दरबार क्षेत्र सम्मको पहुच मार्गको स्वरुप विनास भएका कारण जाजरकोट दरबार र इतिहास बारे नयाँ पुस्ताका चासो र जिज्ञासाहरु अनुत्तरित हुने देखिन्छ ।
गोरखा दरबार र जाजरकोट दरबार क्षेत्र बिचका केहि मिल्दा र केहि नमिल्दा कुराहरु
१. गोरखा दरबार र जाजरकोट दरबार दुवै सदरमुकाम बजार माथिको टाकुरोमा छन् तर गोरखा दरबार नमिलेको चट्टानको टाकुरोमा छ भने जाजरकोट दरबार मिलेको खुला टाकुरोमा छ ।
२. गोरखा दरबार र जाजरकोट दरबार दुवै जंगलको बिचमा छन् तर गोरखा दरबार सानो छ जाजरकोट दरबार ठुलो आकारमा छ ।
३.गोरखा दरबार र जाजरकोट दरबारको उत्तरपट्टि भिरालो ठाँउ र दरबार सम्म पुग्न दुइ तर्फ पुर्व र पश्चिमबाट पैदल मार्गहरु छन् तर गोरखा दरबार पुग्न पुरानै मौलिक ढुंगाका सिढी भएका पैदल मार्गमा हिड्न पर्छ भने जाजरकोट दरवार पुग्ने ठाँटीवजारवाट उकालो लाग्ने र गैरीखालीवाट उकालो लाग्ने मौलिक सिढी भत्काएर ऐतिहासिक तथा पुरातात्विक स्वरुप नास गरेर मोटर गुड्ने सडक बनाउने क्रम तिब्र छ । ।
४.गोरखा दरबार र जाजरकोट दरबार दुबै शाह वंशीय राजाले बनाएका हुन् तर गोरखा दरबार क्षेत्रका सबै मौलिक संरचनाहरु अहिले पनि उहि रुपमा सुरक्षित र व्यबस्थित छन् भने जाजरकोट दरबार क्षेत्र वरपरका अधिकांश स्वरुप र संरचना भत्काएर अबशेष पनि भेटन नमिल्ने बनाइदै छ ।
५.गोरखा दरबार र जाजरकोट दरबार दुवै पुरानै स्थानमा छन् तर गोरखा दरबारमा राजाहरुले प्रयोग गरेका सबै सामाग्रीहरु संग्राहलयमा सुरक्षित रुपले राखिएको छ भने जाजरकोट दरबारका केहि सामाग्रीहरु चोरि भएर केहि सामाग्रीहरु भाइभारदारहरुले भागबन्डा गरेर राख्दा दरबार खोक्रो भएको छ ।
६. गोरखा दरबार र जाजरकोट दरबार दुबै आकर्षक पर्यटकीय गन्तब्य हुन तर गोरखा दरबारको रेखदेख संरक्षण र सम्वद्र्धनको लागि त्यहाँका स्थानीय जनता, नेता, सरकार र सरोकारवालाहरुको गतिलो चासो र सक्रिता छ भने जाजरकोट दरबारको संरक्षण र सम्वद्र्धनका लागि यहाँका जनता, नेता, सरोकारवाला कसैको कुनै चासो र चिन्ता छैन ।
७. गोरखा दरबार र जाजरकोट दरबार दुबै इतिहास अध्ययन गर्न खोज्नेका लागि महत्वपुर्ण सन्दर्भ सामाग्री हुन तर गोरखा दरबारको प्रचार प्रसार र संरक्षण गर्नका लागि त्यहाँ सबैको सकरात्मक र सिर्जनात्मक सोच र व्यबहार छ भने जाजरकोट दरबारको प्रचार प्रसार र संरक्षणका लागि जिल्लावासीका बिचमा सकरात्मक एकता छैन, स्थानीय सरकारलाइ चासो छैन अनि यो क्षेत्र जनप्रतिनिधिहरुको प्राथमिकतामा छैन ।
जाजरकोट दरबार क्षेत्रका मौलिकता के थिए र कहाँ हराए ?
१. मन्दिर शाहको पालामा जगतिपुरबाट खलंगामा राजधानी सरेपछि निर्माण गरिएको दरबारको कुनै अबशेष नभएपनि गोरखाका राजा पृथ्वीनारायण शाहका समकालीन जाजरकोटी राजा हरि शाहले निर्माण सुरु गरेको खलंगाको पहिलो दरबार अर्थात रातो दरबारको छानो मौलिक छैन भने अन्य स्वरुपको उचि संरक्षण गर्ने तर्फ कसैको ध्यान छैन ।
२. जाजरकोट दरबार प्रवेश गर्ने स्थान हालको जिल्ला समन्वय समितिको क्यान्टीन छेउमा रहेको वर पिपलको नजिकै निकै कलात्मक र आकर्षक आकृतिमा उफ्रिन लागेका दुइ वटा सिंहको द्धार २०४२ सालमा जिर्ण भएर भत्काइयो तर त्यस पछि फेरि सो संरचनाको पुर्ननिर्माण गर्ने काम कसैले गरेन ।
३. जाजरकोटको सेतो दरबारको प्रांगण भित्र सम्पदा जोगाउने उद्देस्य भन्दा पनि पैसा कमाउने उद्दस्यले दरबारको ऐतिहासिक तथा पुरातात्विक रुप बिनास गर्ने गरि विभिन्न संरचना बनाउने, खन खोर्सन गर्ने तथा पुरानो मौलिक स्वरुप बिगार्ने काम भयो तर यसलाइ रोक्न कुनै स्थानीय सरकार, स्थानीय नेता या वासीले चासो देखाएनन् ।
४. इतिहासमा जाजरकोट राज्य चलाउने टाकुराको दरबारमा जानका लागि उतिबेलाका जनताको कठिन मेहनत र लगानीमा निर्माण गरिएको ठाँटीबजार र गैरीखालीबाट उकालो लाग्ने सिढी सहितका बाटोहरु हाका हाकी विकासका नाममा भत्काएर सिमेन्ट प्रयोग गरिएका जोखिमपुर्ण मोटरेबल सडक बने यसमा पनि कसैले कुनै चासो र चिन्ता लिएन ।
५. भोलि हाम्रा सन्ततिले हामीलाइ सोध्ने छन् – जाजरकोट दरबार क्षेत्र वरिपरि के के कस्ता संरचना थिए ? दरबार पुग्न जनताहरु कस्तो बाटोको प्रयोग गर्थे ? जाजरकोट दरबारमा के के सामान थिए ? खलंगाको पुरानो स्वरुप कस्तो थियो ? हाम्रा ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु जोगाउन कसले के पहल गर्यो ? यी स्वभाविक प्रश्नहरुको जवाफ कसले तयार पार्ने ? अहिले सम्म अत्तोपत्तो छैन ।
६. जिल्लाका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको उचित रुपमा जोगाउन न कोहि स्थानीय सरकारसंग गुरु योजना छ न कसैले अघि बढाएको अभियानमा कसैको साथ मिल्छ यो जिल्लाको एउटा दुर्भाग्य जस्तै भएको छ ।
७. जाजरकोटको सेतो दरबारको भब्य भवन निकै जिर्ण भइसकेको छ । यसको माथिल्लो तला निकै कम्जोर हुनुका साथै यसलाइ तत्काल मौलिक रुपमै पुर्ननिर्माण गर्न जरुरी छ तर यस तफै कसैको सक्रिय पहल छैन ।
८. गोरखाका दुबै दरबारमा कुनै सरकारी कार्यालय छैनन भने जाजरकोटका दुबै दरबारमा सरकारी कार्यालयहरु छन् ।
निष्कर्ष
नेपालका विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुमा जाजरकोटका सबै नेता जनता र सरोकारवालाहरु पुगेकै छौं । हामी जाजरकोटीहरु पनि त्यस्ता सम्पदाहरुमा गरिब छैनौं । हामी अरुका सम्पदाहरु हेरेर रमाउछौं तिनको बयान मजाले सुन्छौं तर आफ्ना सम्पदाहरु जोगाउने, व्यबस्थापन गर्ने र तिनको उचित प्रवद्र्धन गर्ने तर्फ कुनै गम्भीर चासो र चिन्तायुक्त काम गरेका छैनौं । हाम्रा अघि हामीले देख्दा देख्दै जिर्ण बन्दै गएका, नष्ट हुदै गरेका अनि ओझेल पर्दै गएका भव्य दरबारहरु, भाषा सँस्कृतिहरु, गीतसंगीत र बाजाहरु अनि प्राकृतिक धरोहरहरु हामीले नजोगाए कसले जोगाइदिने ? स्थानीय सरकारहरु, नेताहरु र नागरिक अगुवाहरु यो विषयमा बेखवर जस्तै बनिदिनु हुदैन । हामी पनि जाजरकोट घुम्न आउनेलाइ हाम्रा ऐतिहासिक, पुरातात्विक, साहित्यीक, भाषिक,साँस्कृतिक र सामाजिक तथा प्राकृतिक सम्पदाहरु देखाउने जिम्मेवारी लिन सक्छौं । यसबाट जिल्लाको पहिचान गर्ब गर्न लायक वन्ने मात्र होइन स्थानीय जनताको लागि रोजगारीको अवसर समेत सिर्जना भएर गरिबी निबारणमा समेत सहयोग पुग्छ । डोजरले पहाड छिचोलेर सडक खन्नु मात्र विकास होइन हाम्रा बाजेबज्यै र बाआमाले हामीलाइ दिएका सम्पदा जोगाउनु पर्छ भन्ने हेक्काको इमानदारी कार्यान्वयन पनि क्रान्तिकारीताको अनुकरणीय नमुना हो ।
लेखक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।