१६ कार्तिक २०८२, शनिबार
१६ कार्तिक २०८२, शनिबार
भेरी नगरपालिकाले ल्यायो ८६ करोड ७८ लाख बढीको बजेट ( पूर्णपाठ सहित)
भेरी नगरपालिकाले ल्यायो ८६ करोड ७८ लाख बढीको बजेट ( पूर्णपाठ सहित)
  • paschimpatra

जाजरकोट । आगामी आर्थिक बर्ष २०८२/०८३ लागि भेरी नगरपालिकाले ८६ करोड ७८ लाख बढीको बजेट ल्याएको छ । मंगलबार नगर उपप्रमुख सीता जैसीले ८६ करोड ७८ लाख ८१ हजार ९ सय ७८ रूपैयाँकाे बजेट  नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

यस्ताे छ  पूर्णपाठ

र्थिक बर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट

सभाध्यक्षज्यू,

गरिमामय यस सभाका सदस्यज्यूहरु,

  • म भेरी नगरपालिकाको उप प्रमुखको हैसियले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित भएको छु।
  • मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीय शासन प्रणाली स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रध्दान्जली व्यक्त गर्दछु साथै मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणको अभियानमा होमिएका घार्इते, अपाङ्ग योध्दा तथा सहिद परिवारमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
  • २०८० कार्तिक १७ मा गएको भुकम्पले आम नगरवासि नागरिकहरुलाई दिएको पिडा हालसम्म पनि ताजै छ। विभिन्न दातृ निकायहरु तथा विकास साझेदार निकायहरुको सहयोगमा क्षतिग्रस्त सार्वजनिक संरचनाहरु खानेपानी तथा विद्यालय भवनहरुको मर्मत तथा पुनर्निर्माण कार्य अगाडी बढे तापनि प्रभावित घरपरिवारहरुको पुनर्स्थापनाका लागि नीजी आवास निर्माण प्रक्रियाको थालनी निकै ढिला गरी यसै हप्तादेखि शुरु भएको छ । आर्थिक वर्षको अन्तिम समयमा शुरु भएकोले लाभग्राहीहरुसंग सम्झौता बाहेक रकम निकासा हुने सम्भावना झिनो रहेको छ। बर्षा यामसंगै शुरु भएको पुनर्निर्माण कार्यले बर्षा नसकिदासम्म गति लिने सम्भावना देखिदैन। पिडितहरुले बर्षा संगै आगामि जाडो सिजन समेत अस्थायी टहरामै गुजारा गर्नु पर्ने अवस्था देखिदै छ। प्रभावित परिवारहरूको आवास निर्माणका लागि प्राप्त बजेट झन्जटिलो प्रक्रिया र ढिलाईका कारण फिर्ता हुने अवस्था रहेको छ। भुकम्पले ढलेका भौतिक संरचनाका भग्नावशेष हटाउने कार्य अझै पनि हुन सकेको छैन। भुकम्प प्रभावितहरुको आवास निर्माणका लागि विद्यमान समस्या समाधान गरी प्रभावित परिवारहरुको पुनर्स्थापनाका साथै आम नागरिकहरुको अति आवश्यक समस्या समाधान गर्नै पर्ने चुनौती हाम्रो सामु रहेको छ। उपलब्ध सिमित श्रोतबाट सबै समस्याको समाधान संभव नभएकोले प्राथमिकताका आधारमा अधुरा अपुरा भौतिक पूर्वाधार निर्माणसंगै स्थानीय स्तरमा रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरूमा आगामि आर्थिक बर्ष २०८२।८३ को बजेट केन्द्रित गर्नुपर्ने अवस्था रहेको छ।
  • प्रस्तुत बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान- २०७२, स्थानीय सरकार संचालन ऐन, २०७४, नेपालको चालु सोह्रौँ आवधिक योजना, राष्ट्रिय योजना आयोगबाट जारी स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८ तथा कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली: सुखारी कर्णालीवासीको दूरदृष्टि, यस नगरपालिकाको प्रथम पञ्च बर्षिय आवधिक योजनाको भेरी नगर समृध्दिको आधारः कृषि शिक्षा पर्यटन उद्यमशिलता र सुशासन सहितको सुरक्षित पूर्वाधार भन्ने दिर्घकालीन सोच र यस नगरपालिकाले तर्जुमा गरी कार्यान्वयनमा ल्याएका ऐन नियम तथा कार्यविधिहरू, नेपाल सरकारबाट प्राप्त मार्गदर्शन, कर्णाली प्रदेश सरकार तथा नगरपालिकाको नीति कार्यक्रम तथा लक्ष्य, बस्ति तथा वडा समितिबाट निर्धारित प्राथमिकता, जिल्लामा कार्यरत विकास साझेदार तथा सरोकारवाला सरकारी- गैर सरकारी निकाय एवं नगरवासि नागरिकहरूको सल्लाह सुझावको आधारमा यो बजेट तर्जुमा गरेको छु।
  • नागरिकहरुका समस्या धेरै छन्। नगरपालिकाको आफ्नो आय श्रोत ज्यादै न्यून छ। नागरिकहरुका समस्या समाधानका लागि संघीय सरकार, प्रदेश सरकार तथा विकास साझेदार निकायहरुको भर पर्नु पर्ने अवस्था छ। भुकम्प गएको करिव ३ बर्ष वितिसक्दा पनि नागरिकहरुको दैनिक जनजीवन सहज र नियमित हुन सकेको छैन। निकट आईरहेको बर्षायामले टहरोमा जीवन गुजार्न बाध्य नागरिकहरुको जनजीवन अझ बढी कष्टकर हुने संभावना छ। यस कठिन अवस्थामा म यस भेरी नगरपालिकाको उप प्रमुखको हैसियतले आगामी आर्थिक बर्ष २०८२।८३ को बार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न यस गरिमामय सभाको बैठकमा उपस्थित भएको छु ।

सभाध्यक्षज्यू,

अव म चालु आर्थिक बर्ष २०८१।८२ को जेष्ठ मसान्तसम्मको अवस्थाको बारेमा संक्षिप्त रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानतर्फ संघीय सरकार वित्तिय समानीकरण अनुदान ११ करोड १५ लाख र प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु १ करोड २८ लाख २७ हजार रुपैयाँको अख्तियारी प्राप्त भएकोमा संघीय सरकार वित्तिय समानीकरण अनुदानतर्फ रु ७ करोड ९२ लाख ५४ हजार र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानमध्ये १ करोड २८ लाख २७ हजार निकासा प्राप्त भएकोमा संघीय सरकार वित्तिय समानीकरण अनुदानतर्फ रु ५ करोड ७१ लाख ८० हजार र प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानतर्फ ८० लाख ५८ हजार रुपैयाँ खर्च भईसकेको छ । निकासा प्राप्त रकममध्ये संघीय सरकारको सशर्त अनुदानतर्फ ३८ करोड ३ लाख ८७ हजार रुपैयाँको अख्तियारी प्राप्त भएकोमा जेष्ठसम्म २८ करोड ९५ लाख ८४ हजार रुपैयाँको निकासा प्राप्त भएकोमा रु २४ करोड ९२ लाख ९६ हजार खर्च भएको छ। प्रदेस सरकारको सशर्त अनुदानतर्फ चालु तथा पूँजीगत गरि ७ करोड ९० लाख ९० हजार अख्तियारी प्राप्त भएकोमा रु ७ करोड ४५ लाख १९ हजार रुपैयाँको निकासा प्राप्त भएकोमा ३ करोड १९ लाख ५१ हजार खर्च भएको छ।

त्यसैगरि संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १२ करोड १५ लाख रुपैयाँको अख्तियारी प्राप्त भएकोमा ९ करोड ४३ लाख ९० हजार निकासा प्राप्त भई रु ८ करोड २० लाख ७ हजार रुपैयाँ खर्च भएको छ।

त्यसैगरी प्रदेश सरकारको राजश्व बाँडफाँडतर्फ रु २० लाख ९ हजार रुपैयाँको निकासा प्राप्त भई रु १५ लाख ८३ हजार रुपैयाँ निकासा प्राप्त भईसकेको छ।

आन्तरिक आयतर्फ गत बर्षको मौज्दात रु १ करोड ८९ लाख ६८ हजार र राजश्व असुल रु २ करोड ९४ लाख ९८ हजार सहित जम्मा रु ४ करोड ८४ लाख ६६ हजार मध्ये २ करोड ८६ लाख ८६ हजार खर्च भएको छ।

कार्य संचालन कोषतर्फ प्रकोप व्यवस्थापन कोष र विविध खर्च खाता अन्तर्गत १५ करोड ८६ लाख १४ हजार रुपैयाँ प्राप्त भएकोमा १२ करोड २६ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।

त्यसैगरि सामाजिक सुरक्षातर्फ जेष्ठ मसान्तसम्म १४ करोड ५७ लाख १४ हजार अख्तियारी प्राप्त भएकोमा १० करोड ९३ लाख ९१ हजार रुपैयाँ भुक्तानी भईसकेको छ ।

यसरी चालु आ. व. को जेठ मसान्तसम्म कुल जम्मा रु १ अरब ५ करोड ८८ लाख ३९ हजार रुपैयाँको अख्तियारी प्राप्त भएकोमा रु ७० करोड १२ लाख ३० हजार खर्च भई चालुतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५५ प्रतिशत गरी कुल बजेटमा ६६ प्रतिशत वित्तिय प्रगति हासिल देखिएकोले आर्थिक बर्षको अन्त्यसम्म सबै बार्षिक कार्यक्रम सम्पन्न हुने अपेक्षा लिएको छु ।

सभाध्यक्षज्यू,

  • अव म आर्थिक बर्ष २०८२।०८३ को बजेटका उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु,
  • शिक्षा तथा स्वास्थ्य क्षेत्रको सेवालार्इ गुणस्तरीय एवं प्रभावकारी तुल्याउने ।
  • सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको दिगो विकास गर्ने
  • कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी उत्पादन बृद्दि गर्ने ।

सभाध्यक्षज्यू,

  • आर्थिक बर्ष २०८२।८३ मा यस नगरपालिकाले जम्मा रू ८६ करोड ७८ लाख ८१ हजार ९ सय ७८ रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। जसमध्ये संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान रू ११ करोड ७५ लाख, सशर्त अनुदान चालुतर्फ रू २९ करोड ९३ लाख, पूँजीगततर्फ रु ४ करोड १० लाख, राजश्व बाँडफाँड वापत रू १२ करोड ४३ लाख ५८ हजार १ सय ७१, समपुरक अनुदान रू २ करोड ७८ लाख, विशेष अनुदान पूँजीगततर्फ ८५ लाख गरी कुल जम्मा रु ६१ करोड ८४ लाख ५८ हजार १ सय ७१ र कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रू १ करोड ४९ लाख ९९ हजार, राजश्व बाँडफाँड वापत रू २५ लाख २२ हजार ८ सय ७, सशर्त अनुदान पुँजीगत ३ करोड ९५ लाख, सशर्त अनुदान चालुतर्फ १५ लाख ३२ हजार, गरी कुल जम्मा रु ५ करोड ८५ लाख ५३ हजार ८ सय ७ र नगरपालिकाको आन्तरिक श्रोतबाट रू २ करोड ७ लाख ८० हजार र स्थानीय राजश्व बाँडफाँड १ करोड २० हजार गरि कुल जम्मा रु ३ करोड ८ लाख, सामाजिक सुरक्षातर्फ १५ करोड र कार्य संचालन कोष अन्तर्गत १ करोड आम्दानी हुने अनुमान गरिएको छ। उक्त बजेटबाट माथि उल्लेखित उद्देश्यहरू हासिल गर्न आगामि बर्षको लागि निम्न क्षेत्रगत कार्यक्रम तर्जुमा तथा बजेट विनियोजन गरेको छु।

आर्थिक विकासक्षेत्रतर्फः

कृषिः भेरी नगरपालिकाको कृषि क्षेत्रलाई ब्यवस्थित एवं प्रभावकारी तुल्याई आधुनिकिकरण तथा ब्यवसायिकरणका माध्यमबाट उत्पादन तथा उत्पादकत्व बृध्दि गर्न देहाय बमोजिमका नीति तथा कार्यक्रम तर्जुमा गरेकोछु । यसका लागि रु ४५ लाख रुपैयाँ बजेट ब्यबस्था गरेको छु ।

  • यस नगरपालिकाको प्रथम पञ्चबर्षिय आवधिक योजनाले निर्दिष्ट गरे बमोजिम नगर कृषि प्रोफाईल अध्यावधिक तथा कृषि गुरु योजना तयार गरिनेछ। यसबाट कृषि क्षेत्रको विविधिकरण तथा व्यावसायिकरण भई उत्पादन तथा उत्पादकत्व बृध्दि हुने अपेक्षा गरेको छु। यसका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छु ।
  • गत विगत बर्षहरु देखि संचालन हुँदै आएका नगर किसान साझेदारी कार्यक्रम अन्तर्गत बीउ विजनमा अनुदान, रैथाने बाली प्रबर्ध्दन,  फलफुल खेती, करेसावारी प्रबर्ध्दन, कृषि औजार हस्तान्तरण जस्ता कार्यक्रमहरूलाई आगामी बर्ष पनि निरन्तरता दिईनेछ । जसका लागि रु. ३ लाख ५० हजार बजेट बिनियोजन  गरेको छु ।
  • तरकारी बाली प्रबर्ध्दनको लागि किसानहरुलाई प्रोत्साहन गर्न हाईब्रिड तथा उन्नत बीउको मुल्य अनुदान सहयोग उपलब्ध गराउन २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेकोछु ।
  • हिउदे तथा बर्षे फलफुल खेती प्रबर्ध्दनका लागि फलफुलको बिरुवामा मुल्य अनुदानका लागि समेत बजेट ब्यवस्था गरेको छु ।
  • कृषि पेशालार्इ आधुनिक तथा प्रविधिमैत्री बनाउन कृषकसंगको साझेदारीमा कृषि मेशिनरी औजार वितरण कार्यक्रमलाई आगामि बर्षमा पनि निरन्तरता दिईने छ । यसका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
  • परम्परागत रुपमा खेती गरिदै आएको रैथाने बाली प्रबर्ध्दन कार्यक्रमलाई आगामी आ.व. मा पनि निरन्तरता दिईने छ। तरकारी तथा खाद्यान्न बालीको उत्पादनमा संलग्न किसानहरुलाई अनुदान सहयोगका लागि रु. १ लाख बजेट बिनियोजन गरेको छु ।
  • विपद्जन्य कृषि तथा जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको असर न्यूनीकरणका लागि सिकाई तथा असल अभ्यास आदान प्रदानका लागि समेत बजेट ब्यवस्था गरेको छु।
  • बालीनालीमा क्षति पुर्याउने विभिन्न रोग किराहरुको नियन्त्रणका लागि किटनासक औषधि वितरणका लागि रु ४ लाख बजेट ब्यवस्था गरिएको छ ।
  • करेसावारी प्रबर्ध्दनका लागि तरकारीको उन्नत किट वितरण तथा च्याउको वीउ वितरणका लागि समेत आवश्यक बजेट विनियोजन गरेको छु ।
  • नगरपालिकाको केन्द्रबाट टाढा रहेका वडा तथा बस्तीका किसानहरुलाई सेवा प्रवाहका लागि स्थापित कृषि सेवा केन्द्र स्याउली र कृषि सेवा केन्द्र कुदु मार्फत सेवा प्रवाहका लागि समेत १३ लाख ८० हजार रुपैया बजेट ब्यवस्था गरेको छु ।
  • आगामि आ.व.मा संघीय सरकार संगको समन्वयमा स्रोत जुटाई वडा नं ९ लाई रैथाने दलहन बाली संरक्षण क्षेत्र घोषणा गरिनेछ।
  • संघीय सरकारसंगको समन्वयमा बजेट तर्जुमा गरि धान, गहुँ, कोदो तथा भटमास जस्ता बाली झार्नका लागि थ्रेसर मेशिन हस्तान्तरण गरिनेछ। यसबाट बाली भित्र्याउँदा लाग्ने खर्च र समयमा बचत हुन गई उत्पादनमा लाग्ने लगतमा किसानहरुलाई फाईदा पुग्नेछ ।
  • बजेट अभावका कारण समेट्न नसकिएका तर किसानहरुबाट अत्यधिक रुपमा माग भई आएका थप संभावित क्षेत्रहरुमा आँप तथा कागतिको ब्यावसायिक खेतीका लागि संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा बजेट ब्यवस्था गरि आँप तथा पकेट क्षेत्र कार्यक्रम संचालन गरिनेछ ।

पशुपन्छी विकासः पशुपन्छि पालन ब्यवसायमा आवध्द कृषकहरुलार्इ प्रोत्साहन गरी उत्पादन बृध्दि गर्न माथि उल्लेखित क्रियाकलापहरु संचालनका लागि जम्मा रु २४ लाख बिनियोजन गरेको छु ।

  • पशुपन्छी क्षेत्रको सेवा व्यवस्थित एवं प्रभावकारी तुल्याई उत्पादन बृध्दि गर्न पशुपन्छी गुरुयोजना निर्माणका लागि रु २ लाख बजेट ब्यवस्था गरेको छु ।
  • पशुपन्छीहरुको नियमित उपचार सेवालाई निरन्तरता दिन रु ९ लाख ९० हजार रुपैयाँ बिनियोजन गरेको छु। आकस्मिक रुपमा आईपर्ने महामारीजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि रु ३ लाख ५० हजार बजेट बिनियोजन गरेको छु।
  • रेबिज लगायत अन्य संक्रामक रोग नियन्त्रणका लागि खोप कार्यक्रम संचालन गर्न रु २ लाख ६० हजार रुपैयाँ बिनियोजन गरेको छु।
  • नेपाल सरकारको नीति अनुसार रेविज रोगबाट हुने मान्छेको मृत्युलाई सन् २०३० सम्म शुन्यमा झार्न सचेतनाका लागि रु १ लाख बिनियोजन गरेको छु ।
  • किसान/नगरपालिका ५०/५० प्रतिशत साझेदारी अन्तर्गत ब्यावसायिक पशुपालन फर्महरुलाई बर्डिजो तथा विद्युतिय घाँस काट्ने मेशिन वितरणका लागि रु १ लाख ७० हजार बजेट ब्यवस्था गरेको छु ।
  • पशुपालनका लागि आवश्यक आहारा विकास तथा पोषण सुधार गर्न हिउँदे तथा बर्षे ( डाले तथा भुर्इ) घाँस खेती कार्यक्रमलार्इ आगामि बर्षमा समेत निरन्तरता दिर्इनेछ।
  • वडा नं १० को नव प्रगतीशील टोल बिकाश संस्थाका सदस्यहरुको आयआर्जनका लागि ब्यावसायिक बाख्रा पालन गर्न रु १० लाख बजेट विनियोजन गरेको छु ।
  • बजेटमा समेट्न नसकिएका किसानहरुका समस्या सम्बोधन गर्न यस नगरपालिकाभित्र कार्यरत काम गर्ने संघ र प्रदेश कार्यालयहरु तथा अन्य गैह्र सरकारी संघ संस्थाहरुको स्रोतलाई समेत परिचालन गरिनेछ।

सहकारीतर्फः

  • नगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीहरुको तथ्याङ्क अध्यावधिक तथा व्यवस्थापनका लागि रु ५० हजार बजेट बिनियोजन गरेको छु ।
  • कृषि तथा पशुपन्छी संग सम्बन्धी उत्पादनको क्षेत्रमा काम गर्ने सक्रिय सहकारीहरुलाई मागमा आधारीत कार्यक्रम संचालनका लागि रु ३ लाख ५० हजार रुपैयाँ बजेट ब्यवस्था गरेको छु ।

लघुउद्यमतर्फः

  • भौगोलिक रुपमा विकट रहेका वडाका महिलाहरुको आय आर्जन तथा सुविधाका लागि कुटानी पिसानी तथा तेज पेल्ने मिल उद्योग स्थापनका लागि रु २ लाख बजेट ब्यवस्था गरेको छु ।

संस्कृति तथा पर्यटन प्रबर्ध्दनः

३३. पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण तथा पौराणिक मन्दिरहरुको जिर्णोध्दार एवं पुनर्निर्माणका लागि रु १७ लाख बजेट विनियोजन गरेको छु ।  

३४आन्तरिक पर्यटन प्रबर्ध्दन गरी रोजगारी सिर्जना गर्ने अभिप्रायले शुरु गरिएको मछार्इना बडिमालिका गुरुयोजना कार्यान्वयन  र भुकम्पबाट ध्वस्त भएको दरवार क्षेत्र तथा शिवालय क्षेत्रको पूर्निर्माण गर्न संघ, प्रदेश सरकार तथा अन्य साझेदार निकायसंग समन्वय तथा सहकार्य गरिने छ ।

३५. संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा ऐतिहासिक क्षेत्र जगतिपुरको पुनर्निर्माण एवं धार्मिक तिर्थस्थलको रुपमा रहेको रिम्नाबाट जलयात्रा संचालन र मैदे होमस्टेका संचालनका लागि आगामि आव मा पनि पहल गरिनेछ ।

३६. पर्यटकिय गन्तव्यको रुपमा रहेका वडा नं. १ को चमेरे गुफा, वडा नं. २ को सांङ्टा गुफा मन्दिर  र  डोप्के सिद्ध पाईला मन्दिर निर्माण र प्रबर्ध्दनका लागि साझेदार निकाय वा सरोकारवालाहरसंग समन्वय तथा सहकार्य गरिने छ ।

सामाजिक विकास क्षेत्रतर्फः

युवा, शिक्षा तथा खेलकुद विकास

३७.  गुणस्तरीय शिक्षा प्रबर्ध्दनका लागि आवश्यकता बमोजिम शिक्षक दरवन्दी नै नभएका र पर्याप्त दरवन्दी नभएका विध्यालयहरूमा स्वयं सेवक शिक्षक व्यवस्थापन गर्नका लागि विगत आ.व. देखि शुरू गरिएको शिक्षक अनुदान कार्यक्रमलार्इ आगामि आ.व. मा पनि निरन्तरता दिईने छ। यसका लागि वाल विकास केन्द्रका वाल शिक्षक ७ जना, आधारभुत तह (१- ५) १० जना, आधारभुत तह (६- ८) १९ जना  मावि तह ७ गरी जम्मा ३६ जना शिक्षकको लागि रु १ करोड १९ लाख ६४ हजार बजेट बिनियोजन गरेको छु।

३८. वालविकास केन्द्रका शिक्षक तथा विध्यालय कर्मचारीहरूको थप पारीश्रमिकका लागि करिव ६६ लाख ६० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छु ।

३९. बिद्यालयहरुको नियमित अनुगमन तथा सिकाई सहजीकरणका लागि गत विगत बर्ष देखि ब्यवस्था गरिएको स्रोत ब्यक्ति ब्यवस्थापन निरन्तरताका लागि समेत बजेट ब्यवस्था गरेको छु ।

४०. बिध्यालय शिक्षालार्इ ब्यवहार उपयोगि र उपलब्धिमुलक बनाउन स्थानीय आवश्यकतामा आधारित कक्षा ४ र ५ का लागि भेरी नगरको पहिचान स्थानीय पाठ्य पुस्तक निर्माण गर्नको लागि रु ४ लाख बजेट ब्यवस्था गरेको छु ।

४१. खेलकुद क्षेत्रको विकास तथा प्रबर्ध्दनका लागि विगत आ.व. देखि शुरु भइ निर्माणाधिन अवस्थामा रहेको कुदुको रंगशाला निर्माण सम्पन्न गर्नका लागि रु १ करोड ७० लाख बजेट ब्यवस्था गरिएको छ। निर्माणाधिन अवस्थामा रहेको वडा नं. ५ डाप्कामा इन्डोर कभर्ड हल सम्पन्न गर्नको लागि संघीय तथा प्रदेश सरकारसंग बजेट ब्यवस्थाका लागि पहल गरिनेछ ।

४२. पालिकास्तरमा खेलकुद प्रबर्ध्दनका लागि खेलकुद सामग्री वितरण लगायत राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता संचालनको लागि रु २३ लाख रुपैयाँ बजेट ब्यवस्था गरेको छु ।

४३. आगामि आ.व. देखि विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शिक्षा तथा विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनमा प्रोत्साहन गर्नका लागि अध्ययन तथा अनुसन्धान कार्यक्रमको शुरुवात गरिनेछ। यसका लागि रु १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु ।

४४. वालवालिकाहरुको सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन पालिकास्तरीय नमूना विद्यालय विकास कार्यक्रम संचालनको लागि ३ लाख रुपैयाँ बजेट ब्यवस्था गरेको छु । उक्त कार्यक्रम ३ वटा विद्यालयहरुमा शुरु गरिनेछ ।

४५.   कर्णाली प्रदेश सरकारसंगको साझेदारीमा लक्ष्मी मा.वि. भेरेमा चालु आ.व. देखि शुरु भएको वृत्ति मार्गनिर्देशन कार्यक्रमलाई थप विद्यालयहरुमा विस्तार गर्न प्रभावकारी देखिएकोले उक्त कार्यक्रमका लागि १ लाख रुपैयाँ विनियोजन गरेको छु ।

४६. विद्यालय शिक्षण सिकाईलाई सूचना प्रविधियुक्त बनाउन अपरिहार्य भएकोले क्रमशः ईच्छुक विद्यालय र शिक्षा क्षेत्रमा कार्यरत संघ संस्था तथा नगरपालिकाको साझेदारीमा शिक्षामा सूचना प्रविधियुक्त शिक्षण सिकाई कार्यक्रम शुरु गरिनेछ। यसको लागि रु २ लाख बजेट बिनियोजन गरेको छु ।

४७. विद्यालय तहमा अध्ययनरत तथा उच्च शिक्षा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विशेष गरी MBBSS, Bsc Ag. Bsc Vet विषयमा अध्ययरत विद्यार्थीहरुका लागि छात्रबृत्ति प्रदान गर्न एकीकृत छात्रवृत्ती कोषमा रु ९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छु ।

४८. आगामि आ.व.मा शैक्षिक सुशासन तथा संस्थागत क्षमता विकासका लागि ११० जना शिक्षकहरुलाई तालिम प्रदान गरिनेछ। यसका लागि आवश्यक बजेट समेत व्यवस्था गरेको छु ।

४९. शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय तथा शिक्षकहरुलाई प्रोत्साहनका लागि पुरष्कृत तथा सम्मान गर्ने परिपाटिको थालनी गरिनेछ। सोको लागि रु १ लाख बजेट ब्यवस्था गरेकोछु ।

लागुऔषध नियन्त्रण तथा रोकथामः

५०. युवाहरुमा फैलिदै गएको लागु औषधको दुर्ब्यसन रोकथाम तथा नियन्त्रणका लागि गत विगत चालु बर्ष देखि संघीय तथा कर्णाली प्रदेस सरकारसंगको सहयोगमा शुरु गरिएको लागु औषध नियन्त्रण तथा रोकथाम कार्यक्रमको निरन्तरताका लागि रु. ७ लाख बजेट ब्यवस्था गरेको छु ।

मानसिक स्वास्थ्यतर्फः

५१. नगरवासि नागरिकहरुको मानसिक स्वास्थ्य सुधारमा योगदान पुर्याउने उद्देश्यले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालसंगको साझेदारीमा शुरु गरिएको मानसिक स्वास्थ्य कार्यक्रमलाई आगामि आ.व. पनि निरन्तरता दिईने छ। सोको लागि साझेदारी स्वरुप रु ३ लाख रुपैयाँ बिनियोजन गरेको छु ।

स्वास्थ्य सेवातर्फः नगरवासिहरुको स्वास्थ्य सेवा सुदृढिकरणका लागि देहाय बमोजिमका नीति तथा कार्यक्रमहरु संचालन गरिनेछ । यसका लागि रु ६७ लाख बजेट ब्यवस्थापन गरेको छुः

५२. नागरिकहरुको स्वास्थ्य सम्बन्धी संविधान प्रदत्त हकलार्इ प्रत्याभुत गर्न जिल्ला अस्पताल देखि भौगोलिक रुपमा टाढा रहेका बस्तीका नागरिकहरुको सुविधाको लागि वडा नं ७ को स्याउलीमा निर्माणाधिन अवस्थामा रहेको नगर अस्पताल निर्माणका लागि संघीय सरकारको समपुरक अनुदान रु २ करोड र नगरपालिकाको समपुरक रकम रु ८० लाख थप गरी रु. २ करोड ८० लाख रकमबाट अस्पतालको भवन निर्माण सम्पन्न गरिने छ ।

५३. संक्रामक रोग रोकथाम, नियन्त्रण र स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्रबाट उपचार सेवा प्रदान गर्न औषधि तथा ल्याव सामग्रि खरिद तथा ढुवानीका लागि रु. २२ लाख बजेट बिनियोजन गरेको छु ।

५४. मातृ शिशु स्वास्थ्य सम्बन्धि सेवा उपलब्ध गराउन घरदैलोमा सेवारत रहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलार्इ मासिक रु १२०० का दरले गत बर्ष देखि शुरु गरिएको प्रोत्साहन भत्ता कार्यक्रमलाई आगामि आर्थिक बर्षमा समेत निरन्तरता दिईनेछ । यसका लागि रु ५ लाख १८ हजार रुपैया बजेट ब्यवस्था गरेको छु ।

५५. गर्भवति महिलाहरुको नियमित जाँचको लागि शुरु गरिएको मेडिक मोवाईल कार्यक्रमलाई आगामि बर्षमा पनि निरन्तरता दिईने छ।

५६. पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी समस्या भएका महिलाहरुको स्वास्थ्य जाँचको लागि छनौट उपमेयरसंग प्रजनन् स्वास्थ्य स्क्रिनिङ शिविर संचालन गरिनेछ। सोको लागि आवश्यक रु. १ लाख बजेट ब्यवस्था गरेको छु।

५७. आगमि बर्षमा पनि गर्भवति महिला तथा बच्चाको स्वास्थ्य जाँचको लागि अल्ट्रासाउण्ड सुविधासहितको स्वास्थ्य टोली स्वास्थ्य सुविधा नपुगेका वडाहरुमा परिचालन गर्ने कार्यलाई निरन्तरता दिईने छ। यसबाट गर्भमा रहेको बच्चा तथा आमाको स्वास्थ्य अवस्थाको बारेमा समयमै जानकारी भै सजगता अपनाउन सहयोग पुग्ने अपेक्षा गरेको छु।

५८. उपचार तथा जाँचका लागि जिल्ला बाहिर प्रेशन गरिएका तर आर्थिक समस्याका कारण उपचार गराउन असमर्थ रहेका क्षयरोगका अति विपन्न बिरामीहरुलाई आवश्यक अनुसारको यातायात खर्च उपलब्ध गराउनका लागि १ लाख रुपैयाँ विनियोजन गरेको छु ।

५९. विगत लामो समय देखि सेवा गरि ६० बर्ष उमेर हदका कारण सेवा निवृत्त भएका मातृ शिशु कार्यकर्ताहरुलाई प्रति व्यक्ति एकमुष्ट रुपमा ५० हजार रुपैयाँ पालिकाको तर्फबाट उपलब्ध गराईनेछ। यसको लागि आगामि बर्षमा रु १ लाख ५० हजार रुपैयाँ बजेट तर्जुमा गरेको छु ।

६०. नसर्ने रोगहरुको स्क्रिनिङ तथा उपचारका लागि विगत आ.व. देखि संचालन हुँदै आएको मेयर स्वास्थ्य सुधार कार्यक्रमलाई आगामि बर्षमा समेत निरन्तरता दिईनेछ । यसको लागि रु ३ लाख बजेट ब्यवस्था गरेको छु । यसबाट शारिरीक तथा आर्थिक दृष्टिले अस्पतालसम्म गई उपचार गर्न असमर्थ नागरिकहरुलाई लाभ पुग्ने अपेक्षा लिएको छु ।

६१. जिल्ला अस्पताल जाजरकोटमा अप्रेसन गर्दा आकष्मिक रुपमा आवश्यक पर्ने रगत उपलब्ध गराउनका लागि रक्त संचार सेवा अझै पनि ब्यवस्थित र प्रभावकारी हुन नसकेको हुँदा रक्त संचार सेवा Blood Bank सुदृढिकरण तथा संचालनका लागि रु १ लाख उपलब्ध गराईने छ ।

६२. मातृ तथा नवजात शिशुहरुको मृत्यु दर घटाउन गर्भवति तथा सुत्केरीहरुका लागि आईरन तथा क्याल्सियम चक्कि खरिदका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको बजेट आगामि बर्षदेखि उपलब्ध नगराउने भएकोले आईरन तथा क्याल्सियम चक्कि खरिद गर्न रु १० लाख बजेट ब्यवस्था गरेको छु।

पोषण स्वास्थ्यतर्फः

६३. नगरपालिकाबासि न्यूनपोषण र अधिक पोषण दुबै प्रकारका कुपोषणसम्बन्धी समस्याबाट पीडित महिला तथा बालबालिकाहरूको पोषण सुधारका लागि संचालनमा रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमको लक्ष्य अनुसार संचालनमा रहेको पोषणमैत्री नगर घोषणा अभियानलाई निरन्तरता दिन रु ९ लाख बजेट ब्यवस्थापन गरिएको छ। यसबाट पोषणको दृष्टिकोणले धेरै महत्वपूर्ण रहने गर्भावस्थादेखि दुईवर्षको “सुनौला हजार दिन” को अवधिमा गर्भवती आमा र बच्चालाई खुवाइने खानेकुराको जानकारी एवम् पोषण अवस्थामा सुधार हुने अपेक्षा गरेकोछु ।

खानेपानी तथा सरसफार्इः 

६४. नगरपालिका क्षेत्रमा रहेको स्वच्छ पिउने पानीको अभाव तथा स्वच्छताका लागि नेपाल सरकार तथा फिनल्याण्ड सरकार/युरोपियन युनियनको साझेदारीमा संचालित सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (SUSWA) आयोजनाबाट उपलब्ध हुने ३ करोड ९३ लाख ४ हजार रुपैयाँ, नगरपालिकाको १ करोड ५० लाख र उपभोक्ताहरुको करिव ५१ लाख २६ गरी जम्मा रु ५ करोड ९४ लाख ३० हजार बरावरको बजेट परिचालन गरि वडा नं ५ को छिप्रेना काफलचौर, वडा नं १३ को कुदु, वडा नं १० को भुरचौर तथा कल्लेरी र वडा नं ११ को बाहुनगाउँमा खानेपानी तथा सरसफाई कार्यक्रम संचालन गरिनेछ।यसबाट आयोजना क्षेत्रका करिब सबै घरधुरी लाभान्वित हुने अपेक्षा लिएको छु ।

६५. उल्लेखित आयोजना SUSWA बाट पालिकाको सबै वडाहरुमा विस्तारित खानेपानी सुरक्षा योजना संचालन तथा कार्यान्वयन गरिनेछ। सोको लागि आयोजनामा उपलब्ध बजेटमध्ये आयोजनाको रु २५ लाख र पालिकाबाट रु १५ लाख रुपैयाँ खर्च गरिनेछ। यसबाट सबै वडामा रहेका खानेपानी योजनाहरुको मर्मत संभार भई उपभोक्ताहरुलाई दिगो रुपमा स्वच्छ पिउने पानीको सुविधा प्राप्त हुने अपेक्षा गरेको छु।

६६. यस नगरपालिकाको वडा नं ४ मुलपानी बोहरा र वडा नं १२ को विष्णेचौरमा सोलार लिफ्ट प्रविधिबाट खानेपानी योजना निर्माण गरिनेछ। यसको लागि Renewable World/HRDC द्वारा संचालित सुरक्षित पानी, सरसफाई र स्वच्छताका लागि सौर्य उर्जा आयोजनाबाट रु १ करोड ५८ लाख र नगरपालिकाले ६९ लाख रुपैयाँ बेहोर्ने गरि बजेट ब्यवस्थापन गरिएको छ ।

६७. हेल्भेटास नेपाल एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रमको सहयोगमा वडा नं. ७ का ५ वटा बस्तीमा खानेपानी तथा सरसफाई योजना संचालन गरिनेछ। हेल्भेटास नेपालबाट रु १ करोड ४२ लाख ५३ हजार र नगरपालिकाले ५० लाख ९० हजार रुपैयाँ ब्यहोरिनेछ।

६८. नगरपालिकाको बजार क्षेत्र खलंगामा ढल व्यवस्थापनका लागि तर्जुमा गरिएको विस्तृत परियोजना (DPR) बमोजिम ढल निकासको व्यवस्थापन गरिनेछ । उक्त कार्यका लागि संघीय सरकारबाट रु ७८ लाख र नगरपालिकाले रु. ५२ लाख  गरि जम्मा रु १ करोड ३० लाख बजेट ब्यवस्था गरिएको छ । थप आवश्यक पर्ने रकमका लागि विकास साझेदार तथा अन्य निकायहरुसंग समन्वय गरिनेछ ।

६९.   यस चालु आ.व.मा नगरपालिकाले कर्णाली प्रदेश सरकार, निजी क्षेत्र तथा दातृ निकायहरूसंगको साझेदारीमा विस्तृत योजना तर्जुमा गरि नगर क्षेत्रको फोहर बिशेष गरी प्लाष्टिकजन्य फोहर प्रशोधन तथा व्यवस्थापन गर्ने नीति तय गरिएकोमा बजेट अभावका कारण कार्यान्वयन हुन नसकेकोले आगामि आ.व.मा बजेट तर्जुमा गरि फोहरको दिगो ब्यवस्थापनका लगि पहल गरिनेछ। यसको लागि रु ७ लाख रुपैयाँ बिनियोजन गरेको छु।

७०. नगर क्षेत्रको आधारभूत सरसफार्इ तथा फोहरको दिगो व्यवस्थापनका लागी स्थानीय नागरिक, टोल विकास संस्था तथा उध्योग व्यापार संघसँगको समन्वय, सहकार्यमा बजार सरसफार्इ अभियान संचालन गरिने छ। सरसफार्इ अभियानमा नगरवासिहरूको सक्रिय सहभागिता जुटाउन सरसफार्इ शुल्क संकलन गरी परिचालन गर्ने कार्यलार्इ आगामि आ.व. मा समेत निरन्तरता दिर्इने छ।

पूर्वाधार क्षेत्रतर्फः सडक यातायातः

७१. नगरका सबै वडा केन्द्रसम्म सडकको ट्रयाक खन्ने कार्य सम्पन्न भर्इसकेकोले बाह्रै महिना यातायात सेवा सुचारू गर्न सडकहरूको स्तरोन्नति गर्ने कार्यमा प्राथमिकता दिईनेछ। यसका लागि रु १ करोड २५ लाख  ७० हजार रुपैयाँ  बजेट बिनियोजन गरेको छु । अपुग हुने बजेट संघ तथा प्रदेश सरकारसंगको समन्वयबाट जुटार्इने छ ।

७२.   अधिकांश वडा केन्द्रमा जाने सडक कच्ची भएको र बर्षायाम पछी मर्मत सम्भार नगरी यातायात सुचारु हुन नसक्ने भएकोले सडक र पूँजीगत मर्मत सुधारका लागि रु २१ लाख बिनियोजन गरेको छु ।

७३. खलंगा सदरमुकामस्थित वडा नं ३ थाप्लेचौर बसपार्कको स्तरोन्नति तथा व्यवस्थापनका लागि नगर विकास कोषसंग ऋण सम्झौताको प्रकृया अगाडी बढाईएको छ। कोषको ऋण लगानीबाट बसपार्क निर्माण गरिनेछ।

सिंचार्इः

  • उत्पादनका दृष्टिकोणले महत्वपूर्ण रहेको वडा नं. १० को भुरचौर फाँटमा सिंचाई गर्न फेराखोला भुरचौर सिंचाई कुलो निर्माण गरिनेछ । यसका लागि संघीय सरकारको बिशेष अनुदान रु. ८५ लाखबाट उक्त योजना प्रारम्भ गरिनेछ।

७५. सिंचार्इ सुविधाका लागि वडा नं ५ र ११ मा कुलो तथा ट्याङ्कि निर्माण गर्न रु ८ लाख बजेट बिनियोजन गरेको छु ।

नदी नियन्त्रणतर्फः

७६. नदी कटान रोकी खेतीयोग्य जमिन संरक्षणका लागि वडा नं ११ मा तटबन्धन निर्माण गर्न रु ६ लाख बजेट विनियोजन गरेको छु। नदी कटान तथा भु क्षय सम्बन्धी समस्या धेरै भएता पनि बजेट सिमितता कारण पर्याप्त बजेट विनियोजन गर्न नसकिएकोले जिल्लास्थित संघीय सरकारका सम्बन्धित कार्यालयहरुसंग समन्वय गरी समस्याग्रस्त स्थानमा तटबन्धन निर्माणको पहल गरिनेछ।

भवन तथा सहरी पूर्वाधारतर्फः

  • वडा तथा बस्तीस्तरबाट माग भई आएका स सना पुर्वाधार निर्माणका लागि रू १६ लाख ५० हजार बजेट बिनियोजन गरेको छु।
  • भूमीहिन सुकुम्वासि भूमिहिन दलित तथा अव्यवस्थित बसोबासिहरुको लगत संकलन व्यवस्थापन लगायत अन्य आवश्यक कार्य संचालनका लागि रु ८ लाख बजेट बिनियोजन गरेको छु ।

महिला बालबालिका तथा जेष्ठ नागरिकः

७९. लैङ्गिक समानता तथा सामाजिक समावेशी नीति अनुरुप हिंशामा परेका, असहाय तथा विपन्न महिलाहरूको राहत तथा आय आर्जन क्रियाकलाप संचालन गर्न महिला लक्षित साझेदारी कार्यक्रमका लागि रू. ४५ लाख बिनियोजन गरेको छु। उक्त बजेटबाट घरेलु हिंसामा परेका महिला तथा बालबालिकाहरुका लागि कोष स्थापना, एकल तथा महिला द्वन्द पीडित, असहाय महिलाहरुको लागि सिपमुलक तथा आयआर्जन सम्वन्धी क्रियाकलाप तथा जनचेतना मुलक कार्यक्रम संचालन गरिने छ ।

८०. लैङ्गिक हिंशामा परेका महिला तथा जोखिममा परेका बालबालिकाहरुको तत्काल राहत तथा उध्दारका लागि लैङ्गिक हिंसा निवारण कोष र बालबालिकाहरुको लागि आपतकालिन बाल उध्दार कोषमा आगामि आ.व. का लागि बजेट रकम रु २ लाख बजेट विनियोजन गरेको छु ।

८१.  लैङ्गिक हिंशा प्रभावित महिला तथा किशोरीहरुलाई व्यवसाय संचालनका लागि सहयोग गर्न ब्यावसायिक सहयोग अनुदान स्वरुप रु १ लाख विनियोजन गरेको छु।

८२. अति विपन्न महिलाहरूको लागि सीप तथा क्षमता विकास तालिम संचालनका गर्न रू. ४ लाख ५० हजार रकम विनियोजन गरेको छु ।

८३.  अति विपन्न तथा असहाय दलित नागरिकहरुको क्षमता विकास, रोजगारमुलक सिप विकास लगायत आय आर्जन सम्बन्धि मागमा आधारित कार्यक्रम संचालन गर्न रु. ८ लाख बजेट ब्यवस्था गरेको छु।

८४. सन २०२६ को डिसेम्बरमा बालमैत्री नगर घोषणाका लागि संचालित अभियानका लागि रु १३ लाख बजेट ब्यवस्था गरेको छु। अभियानको सफलताको लागि पालिकामा कार्यरत सेभ द चिल्ड्रेन, कारीतास नेपाल लगायतका संघ संस्थाको सहकार्य तथा सहयोग परिचालन गरि बालबालिकाको लगानी योजना कार्यान्वयन गरिनेछ।

८५. जोखिम परेका बालबालिकाहरुलाई तत्काल राहत तथा अन्य बालबालिकाहरुसंग सम्बन्धित सूचना गुनासो तथा उजुरीका लागि २४ घण्टा खुला रहने गरी टलफ्रि सेवा शुरु गरिएको छ। यसको निरन्तरताको लागि आवश्यक बजेट ब्यवस्था गरेको छु ।

८६. स्थानीय प्रशासन प्रदेश तथा संघीय सरकारसंगको समन्वय र सहकार्यमा संरक्षण विहिन वालवालिकाहरूको उद्दार, संरक्षण, लैङ्गिक हिंशा, बालविवाह, बालश्रम विरुध्द तथा लागु पदार्थ दुर्व्यसन न्यूनिकरण तथा बाल क्लबहरूको सशक्तिकरण जस्ता कार्यक्रमहरू समेत संचालन गरिनेछ।

८७. जोखिममा परेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आपतकालीन सहयोगका लागि समेत बजेट ब्यवस्था गरेको छु ।

८८. अपाङ्गता शिविर संचालनका लागि रु ४ लाख बजेट ब्यवस्था गरेको छु। यसबाट अपाङ्गता भएका ब्यक्तिहरुलाई वडास्तरबाटै नयाँ परिचय पत्र प्राप्त गर्न र पुरानो अद्यावधिक गर्ने कार्यमा सुविधा पुग्ने अपेक्षा लिएको छु।

वन वातावरण तथा विपद् ब्यवस्थापनतर्फः

८९. आकस्मिक रूपमा आर्इपर्ने बाढी, पहिरो, सडक दुर्घटना, आगोलागि जस्ता प्राकृतिक विपद् तथा विभिन्न रोगका महामारीको अवस्थामा पिडितहरूको तत्काल उपचार तथा विपद्मा परेका पिडितहरूलार्इ तत्काल राहत वितरण तथा उध्दार गर्न उद्धार सामाग्री खरिद तथा भण्डारणका लागि रु १० लाख बिनियोजन गरेको छु ।

९०.  प्राकृतिक विपद ब्यवस्थापन तथा तत्काल राहत उध्दारमा वडाको भुमिकालाई प्रभावकारी बनाउन वडास्तरीय विपद् ब्यवस्थापनका लागि रु ६ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छु ।

९१. जनप्रतिनिधि तथा कर्मचारहरुलाई  विपद ब्यवस्थापन सम्बन्धी तालिम संचालनमा रु २ लाख बजेट विनियोजन गरेको छु। यसबाट नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुलाई आकस्मिक रुपमा आई पर्ने विपद् व्यवस्थापन तथा राहत उध्दार सम्बन्धी दक्षता हासिल हुने अपेक्षा गरेको छु ।

९२.  विपदमा तत्काल उध्दार तथा राहतमा परिचालन गर्नका लागि वडास्तरीय स्वयं सेवक दल गठन गरि परिचालन गरिनेछ।यसको लागि रु ३ लाख रकम विनियोजन गरेको छु ।

९३.  विश्वव्यापि चुनौतीका रुपमा खडा भएको जलवायु परिवर्तन र यसका असर तथा प्रभावहरुलाई न्यूनिकरणका लागि चेतना जागरण गर्न जलवायु अनुकुलन तथा उत्थानशीलता सम्बन्धी विद्यालय तथा समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ। यसका लागि समेत आवश्यक रु ४ लाख बजेट ब्यवस्था गरेको छु ।

सुशासन तथा संस्थागत विकासतर्फः

९४. नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह हुने सेवाको गुणस्तर सम्बन्धमा नागरिकहरुको प्रतिक्रिया संकलन गरी सुधार गर्न सेवाग्राही सन्तुष्टी सर्वेक्षण गराईने छ। सेवाग्राहीहरुबाट प्राप्त प्रतिक्रियाको आधारमा पालिका तथा वडाको सेवा प्रवाह प्रणालीलाई सुदृढ गरिनेछ। यसका लागि आवश्यक पर्ने बजेट बिनियोजन गरेको छु।

९५. नगरपालिकाको कार्य सम्पादन प्रक्रियालार्इ पारदर्शि एवं जवाफदेही बनार्इ सुशासन कायम गर्न भए गरेका क्रियाकलापहरुको सम्बन्धमा स्थानीय संचार माध्यमबाट मासिक त्रैमासिक एवं बार्षिक रुपमा प्रकाशन तथा प्रसारण गर्ने र नियमित रुपमा सार्वजनिक सुनुवार्इ तथा सार्वजनिक लेखा परिक्षण कार्यलार्इ आगामी आ.व. मा पनि निरन्तरता दिर्इने छ।

९६. नगरक्षेत्रभित्र रहेका सार्वजनिक बाटोहरुको कित्ता काट गरी सडक क्षेत्र कायम गर्ने कार्यका लागि समेत आवश्यक बजेट बिनियोजन गरिएको छ ।

९७. न्यायिक समितिबाट सम्पादन हुने कार्यलार्इ ब्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडास्तरमा कानूनी लिखतहरु तयार गर्ने जनशक्ति तयार गर्न लेखापढी ब्यवसायी सम्बन्धी तालिम तथा अनुमतिका लागि परिक्षा संचालन गर्न आवश्यक बजेट ब्यवस्था गरेको छु।

९८. स्थानीय न्यायिक समितिको कार्य सम्पादनलाई थप प्रभावकारी तुल्याउन सामुदायिक मेलमिलापलाई प्रोत्साहन गरिनेछ।

९९. आर्थिक रुपमा अति विपन्न नागरिकहरुलार्इ निःशुल्क कानून सेवा प्रदान गर्ने कार्यक्रमलाई आगामि आ.व. मा पनि निरन्तरता दिईनेछ। यसको लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।

१००. नगरपालिकाको आन्तरिक आय बृध्दि गर्नको लागि राजश्व सुदृढिकरणका क्रियाकलापहरु संचालन गर्न रु. १० लाख बजेट बिनियोजन गरेको छु ।

१०१. नगरपालिकाको आन्तरिक आय बृध्दि गर्न करको दरभन्दा दायरा फराकिलो पार्ने नीति लिर्इएको छ । तोकीएको समयसिमाभित्र कर बुझाउने करदातालार्इ कर छुट दिने परिपाटीलार्इ आगामि आ.व. मा पनि निरन्तरता दिर्इनेछ ।

१०२. कार्यालय भवन नभएका र भवन भएका वडा कार्यालयहरू पनि व्यवस्थित नभर्इ सेवा प्रवाहमा समस्या भएका वडा नं. ४ र ११ को कार्यालय भवन निर्माण गर्न रू. १ करोड बिनियोजन गरेको छु ।

१०३. अन्तमा, आ.व. २०८२।८३ को बजेट तर्जुमाका लागि मार्गदर्शन तथा स्रोत उपलब्ध गराउने नेपाल सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला समन्वय समिति, सल्लाह सुझाव प्रदान गर्ने राजनीतिक दल, नागरिक समाज, बिकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि, कार्यपालिका परिवार, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

१०४. प्रस्तावित बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सरोकारवाला सबैको सकारात्मक सहयोग सक्रियता र साथ रहनेछ भन्ने कुरामा म बिश्वस्त छु । कार्यक्रमको सफल कार्यान्वयनबाट अपेक्षित उपलब्धि हासिल हुन गर्इ नगरवासिको जीवनयापनमा सहजता हुनेछ भन्ने अपेक्षा लिएको छु ।

धन्यवाद ।

  • ११ असार २०८२, बुधबार प्रकाशित
  • Nabintech