
जाजरकोट । भेरी नगरपालिका–१३ कुदुका किसानहरूले यस वर्ष पहिलोपटक आफ्नै खेतमा धान रोप्दै २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव – २०८२ भव्य रूपमा मनाएका छन्।
सिंचाइको अभावका कारण वर्षौंदेखि बाँझो रहेको कुदु क्षेत्र यस वर्ष भने एकीकृत कर्णाली सिँचाइ आयोजना अन्तर्गत लिफ्ट सिँचाइ प्रणाली सञ्चालनमा आएपछि हरियालीतर्फ उन्मुख भएको छ। करिब साढे ५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाले स्थानीय किसानहरूमा उत्साह थपेको छ ।
गत वर्षबाट सुरु गरिएको योजना यस वर्ष सम्पन्न भई सिँचाइ सुरु भएसँगै कुदुका खेतहरूमा पहिलोपटक धान रोपिएको हो।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री, भेरी नगरपालिकाकी उपप्रमुख सीता जैसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, वडा अध्यक्षहरू, विभिन्न सरकारी कार्यालय प्रमुखहरू, पत्रकारहरू, तथा स्थानीय कृषकहरूको उपस्थिति थियो ।
कार्यक्रम भेरी नगरपालिका र कृषि विकास कार्यालय जाजरकोटको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

“आज हामीले कुदुमा पहिलोपटक रोपाइँ गर्न पायौं, यो हाम्रो वडाको ऐतिहासिक क्षण हो। खानेपानी र सिँचाइको चरम अभावमा परेका हामीले आज आफ्नै खेतमा पानी पुर्याएर रोपाइँ गर्न सक्यौं, अब कृषि आत्मनिर्भरतातर्फ अघि बढ्नेछौं।”भेरी नगरपालिका वडा न १३ का वडा अध्यक्ष यज्ञ वटालाकाे भनाइ छ ।
त्यसैगरी एकीकृत कर्णाली सिँचाइ आयोजना कार्यालयका प्रमुख कृष्णप्रसाद डुम्रकोटीले भने “गत वर्षदेखि सुरू भएको यो आयोजना यस वर्ष सम्पन्न भएको छ। यो कुदुको ऐतिहासिक उपलब्धि हो। सम्पन्न हुन सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छु र म आफै पनि निकै खुशी छु।

” यस वर्षको नाराका रूपमा “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” तय गरिएको छ। कुदुमा धान रोपाइँसँगै सिँचाइ संरचना विस्तारले कृषि उत्पादन वृद्धि, बाली विविधीकरण, रोजगारी सिर्जना र गाउँमै खाद्य सुरक्षामा योगदान पुर्याउने विश्वास गरिएको छ।