१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
“याे तस्बिरले जाजरकोट सदरमुकामलाई गिज्याइरहेकाे छ”
“याे तस्बिरले जाजरकोट सदरमुकामलाई गिज्याइरहेकाे छ”
  • paschimpatra

जाजरकोट । सडक विकासको नाममा पटक–पटक बजेट विनियोजन हुने, योजना बनाइने, अनुगमनको औपचारिकता पुरा हुने  तर परिणाम भने यही हो: हिलो, फोहोर, असहज र जोखिमपूर्ण सडक।

तस्बिरले जाजरकोटको सदरमुकामसँग जोडिएको मुख्य सडक खण्डको वास्तविकता बोलेको छ। विकासका नाममा कागजमा करोडौंको प्रगति देखाइन्छ, तर भौतिक रुपमा जनताले पाइला टेक्ने बाटो समेत सहज छैन। यो दृश्य कुनै टाढाको दुर्गम बस्तीको होइन, सदरमुकामको प्रवेशद्वारतिरको अवस्था हो, जहाँबाट स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय अनि नागरिक दैनिक आवत–जावत गर्छन्।

सडकको अवस्थाले निर्दयी बेवास्ता र लापरवाहीको कथावाचन गरिरहेको छ। वर्षा लाग्ने वित्तिकै सडक हिलोले लथालिङ्ग हुन्छ, स्कुल जाने बालबालिका, बिरामी बोकेर अस्पताल हिँड्ने नागरिक, बजारतिर आउने किसान सबैका लागि यो सडक पीडादायी यात्राको बाटो बनेको छ।

यसबाट दुई वटा कुराको पुष्टि हुन्छः
१. पूर्वाधार निर्माणमा गम्भीरता छैन।
२. गुणस्तरीय कामको प्रत्याभूति गर्ने संयन्त्र पूर्णतः विफल छ।

समस्या केवल सडक बनाउनेमा होइन, अनुगमन, मर्मत, दीगो योजना र जनताको आवाजप्रति राज्यको संवेदनशीलता मा पनि छ। यदि यही अवस्था रहिरहने हो भने सदरमुकामले विकासको भाषण झेलिरहनेछ, तर नागरिकले पीडामय यात्रा नै सहनुपर्नेछ।

अन्ततः, यो तस्बिर केवल सडकको होइन, राज्यप्रति बढ्दो नागरिक असन्तोषको दृश्य दस्तावेज हो। यति खराब सडकको दृश्य देख्दा लाग्छ, सदरमुकामको शिरमा विकास होइन, विफलताको हिलो चढिरहेको छ।

  • १२ असार २०८२, बिहीबार प्रकाशित
  • Nabintech