१६ माघ २०७९, सोमबार
१६ माघ २०७९, सोमबार
थाप्लेचौरको त्यो रमाइलो मेला
थाप्लेचौरको त्यो रमाइलो मेला
  • जनक केसी

पुस १३, १४ र १५ गते खलंगाको थाप्लेचौरमा लाग्ने रमाइलो मेला भन्ने वित्तिकै सानो ठुलो सवै उमेरका मानिसहरुको मनमा उमंग छाउने गथ्र्यो । कुनै वेला वच्चा वच्ची, युवायुवती देखि वुढावुढी सम्मका सवैको रहर र मनोरन्जनको केन्द्र थियो रमाइलो मेला ।

जाजरकोटका गाउँ वस्तीका सर्वसाधारणहरु मात्र नभइ छिमेकी जिल्ला रुकुम, सल्यान र डोल्पा अनि सुर्खेतका सर्वसाधारणहरुको जिव्रोमा झुन्डिएको हुन्थ्यो थाप्लेचौरको रमाइलो मेला । कार्तिक महिना सकिएर मंसिर सुरु हुने वित्तिकै रमाइलो मेलाको हावा चल्न सुरु हुन्थ्यो । तत्कालिन समयमा जिल्ला सदरमुकाममा मनोरन्जनको साधन नभएपछि जिल्ला पन्चायत र स्थानीय अगुवाहरुको प्रयासमा सुरु गरिएको रमाइलो मेलाको अहिले रुप फेरिएको छ ।

२०२९ सालमा स्थानीय व्यापार प्रवद्र्धन गर्न र मनोरन्जनका लागि खलंगाको गैरीखालीमा स्थानीय अगुवाहरुको पहलमा हाटवजारबाट सुरु भएको रमाइलो मेला थाप्लेचौरमा भने २०३४ साल देखिसुरु भएको पाइन्छ । स्थानीय वुढापाकाहरुका अनुसार गैरीखालीमा लाग्ने हाटवजारलाई नै पछि रमाइलो मेलाको रुपमा थाप्लेचौरमा मनाउन थालिएको हो ।

पछि यो मेलालाई स्वर्गिय राजा वीरेन्द्रको जन्मदिनको अवसरमा भव्य वनाइएको भएता पनि रमाइलो मेलाको सुरुवातको उद्देस्य राजाको जन्मदिन मनाउने नभइ स्थानीय वजार प्रवद्र्धन गर्ने र मनोरन्जनको माध्यम थियो भन्ने वुढापाकाहरुको भनाइ छ । उति वेला रमाइलो मेलाको लागि भनेर स्थानीय किसान, व्यापारी, वुढापाका देखि युवा, महिला वालवालिकाहरुले स्वस्फुर्त विशेष तयारी गर्थे भने स्थानीय कलाकारहरुले पनि मेलामा प्रदर्शन गर्न भनेर मौलिक झाँकी, गीत नाँच लगाएतका प्रस्तुतीको तयारी मज्जैले गर्थे । सर्वसाधारणहरु मेलाको लागि भनेर घरको कामकाज कि मेला अघि सकेर कि पछि वाँकी राखेर समयको जोहो गर्थे ।

मेला सुरु हुनु भन्दा एक दुइ दिन अघि मात्र अर्थात पुसको ११ र १२ गते थाप्लेचौरमा व्यापक रुपमा मेलाको तयारी भइरहेको हुन्थ्यो । वरिपरि बाक्लो साल सल्लीको जंगलको विचमा होटेलका लागि चुलो खन्नेहरु, प्लास्टीकका पाल हाल्नेहरु, त्रिभुवन माविको पर्खाल विहिन खुला चउरमा पनि त्यस्तै दृष्य देखिन्थ्यो ।

माथिल्लो चौरमा औपचारिक मन्च र भलिवल लगाएतका कार्यक्रम हुने तल्लोचौरमा दम्दाला, तिमीले र सल्याको जिमालीका सुन्तला, वदम, खलंगा र वाहिरका गाउँका स्थानीयले मौवाका पातमा राखेर वेच्ने डल्ला परेको खीर, उखु, राता जलवी अर्थात जेरी, गन्जी, वन तरुल, घर तरुल, घिउ, मह, तोरीको तेल, टिमुर, आलु, भांगो, धनिया, लसुन लगाएत ताजा स्थानीय कृषि उत्पादनका वस्तुहरुका छरपष्ट पसलहरुका विचमा मेला हेर्नेहरुमा मौलिक उत्साह उमंग अनि त्यो वातावरणले छुटटै रमाइलो अनुभुति हुन्थ्यो ।

१३ गते उद्घाटन हुने मेलाको मुख्य आकर्षण १४ गते हुन्थ्यो । आज भोलि जस्तो वाहिरवाट किनेर ल्याएको कलाकार आउछ भन्ने चासो कसैसंग हुदैनथ्यो । स्थानीय स्तरमै प्रतिभा र सीप क्षमता पहिचानका क्रियाक्लापहरु भलिवल, लोकगीत, हाजिरीजवाफ, लोकनृत्य, लोक धुनका वाद्यवादन, कृषि उपज प्रदर्शनी, औधोगिक कला प्रदर्शनी लगाएतका कार्यक्रमहरु नियमित रुपमा हुन्थे । आज भोलि जस्तो मेलाको सटटा महोत्सव आयोजना गरेर सिमित व्यक्तिले फाइदा कमाउने सोच त्यतिवेला हुदैनथ्यो किन भने रमाइलो मेलामा सवै जसो जाजरकोटी मौलिकता देख्न पाइन्थ्यो ।

चारैतिरका गाउँ वस्तीवाट स्वस्फुर्त रुपमा झयाली मादल, कुटकुटी वोकेर होस कि मयुर नाँच, सिंगारु, हिउदाले भाका, मागल, देउडा, ख्याली, पैसेरी नाँच नाच्दै आएका स्थानीय कलाकार र दमाह र झयालीको गर्जन थाप्लेचौर भन्दा परैदेखि गुन्जिदा देख्ने सुन्नेहरुलाई पनि मेला जाँउ जाँउ लाग्यो ।

मेलामा आउने कसैलाइ टिकट लेउ भनेर भन्न पनि पर्दैनथ्यो । रमाइलो मेलामा व्यापार भएपनि, कुनै प्रदर्शनी भएपनि कुनै मनोरन्जन भएपनि पैसा वाहिर जिल्लाका मानिसले लैजाने सम्भावना थिएन ।

रमाइलो मेलाको लागि भनेर वारीमा चार पाँच महिना देखि स्थानीय किसानहरुले फलाएर जोगाइ राखेका उत्कृष्ट तरकारी तथा फलफुलहरु मेलामा देख्न पाइने, जिल्लाका विभिन्न भेगमा उत्पादन गरिएका कृषिजन्य वस्तुहरुको विक्रि वितरण हुने मेलावाट घर आउदा सवैका हातमा केहि न केहि कृषि उत्पादनका वस्तुहरु हुन्थे । मेला जानेहरुको उदेश्य रमाइलो गर्ने मात्र नभएर केहि कृषि जन्य वस्तु किन्ने या वेच्ने पनि हुन्थो ।

घरवाट मेला जाँदा पनि रमाइलो फर्केर आउदा पनि मनभरि सन्तुष्टि लिएर आउने सर्वसाधारण देख्दा रमाइलो मेला जाजरकोट र जाजरकोटीका लागि दशैंतिहार जतिकै महत्वको पर्व जस्तो लाग्थ्यो । १४ गतेका दिन ठाँटी गैरीखालीका वजार पुरै वन्द गरेर स्थानीयहरु थाप्लेचौरमा जाँदा दिउसो १२ वजे देखि २ वजे पुरा मेला भरिन्थ्यो । मानिसहरुको सागर नै उर्लिएर मेला भरिदा स्थानीय व्यापारी खुसी, मेला हेर्न जाने खुसी मेला आयोजना गर्नेहरु पनि खुसी, अनि मेला हेरिरहेको प्रकृति खुसी देखिन्थ्यो । उति वेला धेरै कुराको अभाव थियो तर पनि मेलामा आउने मेलारुहरु भरपुर मनोरन्जन लिएर सन्तुष्ट हुन्थे । आज भोलि सवै कुराको सुविधा भएप्नि मेलाहरुको मौलिकता जोगाउन गाह्रो हुदै गएको छ ।

जिल्लाका सातै स्थानीय तहमा लाग्ने मेलाहरुलाई स्थानीय कृषि उत्पादन, व्यापार तथा लोक सँस्कृतिको प्रदशनी गर्ने स्थानीय पर्व र अवसरको रुपमा विकास गर्न जरुरी छ । मेलाहरुलाइ जिल्लाको विकास र समृद्धिको लागि माध्यमको रुपमा विकास गर्न स्थानीय सरकार र सरोकारवालाहरुले चासो र योजना देखाउन पर्छ ।

यी मेलाहरु आज भोलिका लागि मात्र हैनन भावि पुस्तालाई हामीले दिने हाम्रा कमाइ पनि हुन् । भावि पुस्तालाई हामीले यी मेला हस्तान्तरण गर्दा मौलिकता, सभ्यता, सँस्कृतिसहित दिन सक्यौं भने मात्र हाम्रो कमाइको भोालिका पुस्ताले इज्जत गर्न सक्छन् । जिल्लाको कृषि तथा औधोगिक उत्पादनको लागि आवस्यक वजार मौलिक कला सँस्कृतिको जगेर्ना गर्ने मुख्य अवसरको रुपमा मेलाको व्यवस्थापन गर्न स्थानीय सरकारहरुले पहिलो जिम्मेवारी लिनु पर्छ ।

हाम्रा आफनै विशेषता र मौलिकताहरुमा लाग्ने शिवालयको चिनीकम्द मेला, कुशेको धारपानी मेला, जुनीचाँदेको शिवपुरी मेला, छेडागाडको चुवादेवल मेला, वारेकोटको रामीडाँडा मेला, नलगाडको घुवार मेलालाइ पालिकागत विशिष्टतामा निश्चित योजना र लक्ष सहित मनाउदै समग्र जाजरकोटको मौलिक एवं विशिष्ट पर्वको रुपमा खलंगाको रमाइलो मेलालाई मनाउने परम्परा र योजना सुरु गर्नु पर्र्छ भन्ने मलाई लाग्छ ।

एउटा निश्चित कार्यक्रम र रुपरेखा तयार पारेर मेला तयारीको लागि प्रयाप्त समय लिएर मेला आयोजकको जिम्मेवारी एकै सँस्थाले लिएर स्थानीय र जिल्लाको विशेष पर्वको रुपमा यी मेलाहरुलाई मनाउने काम गरेको खण्डमा मात्रै स्थानीय अर्थतन्त्र र मौलिकताको संरक्षणमा सकरात्मक प्रभाव पर्ला नत्र भने जाजरकोटीले ठुलो लगानी गरेर, शैंक्षिक घाटा वेहोरेर अनि दुख गरेर मेला लगाउने अनि लाखौं रुपैया वाहिरका मान्छेले कुम्ल्याएर जाने भयो भने हामी रोटेपिङ खेलेर मख्ख पर्दै उल्लु हुने वाहेक अरु केहि हात लाग्ने देखिदैन । सवैलाइ चेतना भया ।

(लेखक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।)

  • १७ पुष २०७९, आईतवार प्रकाशित
  • Nabintech