१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी ?
११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी ?
  • paschimpatra

काठमाण्डाै ।  नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागिसकेको छ।

पछिल्लो पटक नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरूद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो।

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन। भलै मैत्रीपूर्ण खेललाई जितभन्दा पनि सिक्ने अवसरको रूपमा लिने गरिन्छ। तर समर्थक र टिमले हरेक खेलमा जितको अपेक्षा गरेका हुन्छन्।

सन् २०११ मा भुटानलाई हराएपछि नेपालले त्यही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो।

भुटानलाई हराएपछि नेपालले २१ वटा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा १५ खेलमा हार बेहोरेको छ भने ६ खेल बराबरीमा रोकिएको छ। यो बीचमा नेपालले उमेर समूहका टिम, क्लब र फिफाबाट मान्यता नभएका मैत्रीपूर्ण खेल खेले पनि ती खेलको नतिजा पनि सम्झनलायक छैन।

पछिल्लो पटक नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। साफ च्याम्पियनसिपअघि भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा भारत २-१ ले विजयी भएको थियो।

मैत्रीपूर्ण खेलमा जित निकाल्न सकस परिरहेको नेपालले सन् २०२२ को पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी देश मरिससको सामना गर्दैछ।

नेपालले भोलि शनिबार मरिससँग अपरान्ह ४:४५ बजे मरिसससँग पहिलो पहिलो मैत्रीपूर्ण खेल्नेछ। दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामै मंगलबार हुनेछ।

मरिससविरूद्धको दुवै खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई छुट्टा छुट्टै टिम घोषणा गरिसकेका छन्।

खेलअघि नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले यसअघिका गल्ती सुधार गर्दै शनिबारको खेलमा राम्रो खेल पस्कने बताए। साथै उनले यो खेललाई सिक्ने अवसरको रूपमा लिएको बताए।

नेपालका कप्तान किरणकुमार लिम्बुले जितका लागि खेल्ने बताए।

यता मरिसका प्रशिक्षक टोनी फ्रान्कोइसले ४५ दिनको तयारी गरेपछि नेपाल खेल्न आएको बताए। साथै उनले मरिससले साढे दुई वर्षपछि खेल्न लागेकाले घरेलु टिमको सामना गर्दा सजिलो नहुने प्रतिक्रिया दिए।

नेपाललाई बलियो प्रतिद्वन्द्वीको संज्ञा दिएका उनले साफ च्याम्पियनसिपमा नेपालले खेलेका खेलको विश्लेषण गरेको बताए।

हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो।

फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।

मरिससले सन् २०१९ को मार्चदेखि जित निकाल्न सकेको छैन।

२०१९ मार्च २१ मा न्यु क्यालेडोनियालाई ३-१ ले हराएयता मरिसस जितविहीन छ। त्यसयता मरिससले ९ खेल खेल्दा १ खेल बराबरी गर्नु नै उपलब्धि हो। बाँकी ८ खेलमा मरिसस पराजित भएको थियो।

तीन वर्षको अवधिमा अफ्रिका कप अप नेसन्सको छनोटअन्तर्गत जिम्बावेसँग समग्रमा ७-१ ले पराजित हुँदा मरिसस विश्वकप छनोटमा मोजाम्बिकसँग समग्रमा ३-० ले हारेको थियो।

मरिससविरुद्ध खेल्ने नेपाली टिममा १२ खेलाडीले दुवै टिममा स्थान पाउँदा ११-११ खेलाडीले फरक फरक टिममा स्थान बनाएका छन्।

प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीलाई नै फरक फरक टिममा गरी स्थान दिएका हुन्।

गोलकिपर तथा कप्तान किरणसहित गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, आसिस लामा र विमल घर्तिमगर गरी १२ खेलाडी दुवै टिममा परेका छन्।

गोलकिपरद्वय दीप कार्की र टिकेन्द्र थापा पहिलो खेलका लागि मात्र टिममा रहदा विशाल श्रेष्ठ र सत्रुघन चौधरी दोस्रो खेलका लागि टिममा समावेस छन्। ‍

दर्शन गुरुङ, सुदीप गुरुङ, विशाल राई र मनिष डाँगी पहिलो खेलको लागि टिममा परेका छन् भने पुजन उपरकोटी, नवीन गुरुङ, सुवास गुरूङ र अनन्त तामाङ दोस्रो खेलको लागि टिममा परेका छन्।

यस्तै सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु र जगजित श्रेष्ठ पहिलो खेलको लागि मात्र टिममा छन्।

आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ दोस्रो खेलको लागि मात्र टिममा छन्।

खेलका लागि रंगशालामा दर्शकलाई प्रवेश दिइने छ। एन्फाका अनुसार रंगशालामा एक तिहाई दर्शकलाई मात्र प्रवेश दिइनेछ। दशरथ रंगशालाको क्षमता १५ हजारको हाराहारीमा भएकाले ५ हजार दर्शकलाई प्रवेश दिइने भएको हो।

रंगशालामा खेल हेर्न जाने दर्शकले खोप कार्ड देखाउनु पर्नेछ।

खेलका लागि भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। टिकट सजिलो पेमार्फत कट्न सकिनेछ।

पहिलो खेलका लागि नेपाली टिम

किरणकुमार लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु, जगजित श्रेष्ठ

दोस्रो खेलका लागि नेपाली टिम
किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आसिस लामा, विमल घर्तिमगर, अनन्त तामाङ, आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech