१७ साउन हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौँडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको ‘देश चिनाउने सम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि भण्डारीले आफूले धेरै मिहिनेत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् ।
मोजाको भकुन्डोबाट आफ्नो फुटबल करियर सुरु भएको उनले स्मरण गरिन् । अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताइन् । मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको उनको भनाइ थियो ।