२० कात्तिक काठमान्डौ । भिडियो भ्लगको नाममा जथाभावी बोल्ने रतन कार्की पछिल्लो एक हप्तादेखि चर्चामा छन् । सामाजिक सञ्जालबाट मुलुकका प्रधानमन्त्रीको हत्या गर्न उक्साएपछि उत्पन्न विवाद र आलोचनाका कारण कार्कीको बारेमा चर्चा भएको छ ।
चितवन घर भएका कार्की जापानको टोकियोमा बस्छन् । दुई वर्षअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका उनले गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउँदै फेसबुक लाइभ गरेका थिए । साफ वुमन्स च्याम्पियशिपको फाइनल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीको नाम नलिई उनले ‘आजै घेरा हालेर सिध्याईदिउँ’ भनेका थिए ।अराजक भएर हत्याकै योजना सुनाएपछि जापानस्थित नेपाली दूतावासको समन्वयमा प्रहरीले कार्कीलाई नेपाल ल्याउन पहल थालेको बुझिएको छ । कार्कीविरुद्ध विद्युतीय कसूरमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।