२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार
मौरीपालन तर्फ किसानको आकर्षण
मौरीपालन तर्फ किसानको आकर्षण
  • paschimpatra

जाजरकोट । जाजरकोटमा पछिल्लो समय मौरी पालन कृषकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसाय प्रति स्थानीयवासीको मोह बढ्दै गएको हो । भेरी नगरपालिका २ डिगाकी विमला बोहरा वलीले मौरी पालन गरेको लामो समय भएको छ। व्यावसायिक मौरी पालन गर्दै आएकी वलीलाई सुरुमा मौरी पालनबाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन ।

मौरी पालन गरे त्यसको मह घरमै मात्र प्रयोग हुन्छ भन्ने उनलाई आजभोलि व्यवसायरुपमा पनि मौरी पालन गर्न सकिन्छ भने लागेको छ । मौरी पालन सुरु गरेपछि घरमा मह किन्न मानिसहरू आउन थालेका छन् । वलीले अहिले व्यावसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थालेकी छन् । उनले घरबाटै प्रतिकिलो ८ सयका दरले मह बेच्छिन् ।

उनले यसबाट घर व्यवहार चलाउनुका साथै केही रकम बचत पनि गर्ने गरेकी छिन। उनले वार्षिक ३ लाख सम्मको मह बेच्ने गरेकी छन् । वलीले भनिन, ‘मैले अहिले वार्षिक करिब दुई देखि ३ लाखसम्म मौरी पालनबाटै कमाउँछु, महको माग बढ्दै गएकोले घारहरू पनि थप्ने सोचमा रहेको छु ।” उनले केही समय मात्र मौरीलाई दिए पुग्ने बताइन् ।

वलीको घरमा अहिले करिब १० भन्दा बढी आधुनिक घारमा मौरीहरू रहेका छन् । वलीले गरेको व्यावसायिक मौरी पालन देखेर गाउँमा माहुरी पालन गर्नेहरूको सङ्ख्या समेत बढिरहेको छ । यस्तै, भेरी नगरपालिका १ मैदेका विभिन्न घरमा मौरी पालन गरी अहिले करिब ५ सय देखि १ हजारसम्मका आधुनिक घारमा मौरी पालन गरिएको छ ।

भेरी नगरपालिकामा मात्र नभएर जिल्लाका सातै स्थानीय तहमा समेत मौरी पालन गर्ने किसानहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्लामा विशेष गरी किसानहरू आकर्षित भए पनि मह घट्दो क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए । गत वर्ष भदौ २७ देखि असोज ३ गते सम्म परेको अविरल वर्षाका कारण चिउरी, अन्य फुलमा भएको रस बगाएको हुँदा मह घट्दो क्रममा रहेको उनको भनाइ छ ।

पानीका कारण मौरी चरनका लागि बाहिर निस्किन नपाएका कारण आफै मह खाएकोले पहिलेको तुलनामा यस वर्ष महको उत्पादन घटेको उनको भनाइ छ । यस वर्ष जिल्लामा १५ टन मह उत्पादन भएको कार्यालयको दाबी छ । कार्तिकमा मह निकाल्ने समय भएकोले गत वर्षको उत्पादनको अहिले तुलना गर्न नसकिने नेपालीको भनाई छ ।

अबको एक महिना धेरै वर्षा नभएको खण्डमा मह उत्पादन वृद्धि हुने सम्भावना भएको कार्यालयको भनाइ छ । ‘अहिले जिल्लाका विभिन्न स्थानीय तहमा १५ हजार आधुनिक र परम्परागत मौरीका घारहरू छन्,’ कृषि कार्यालय जाजरकोटका प्रमुख महेश आचार्यले भने, ‘विशेष गरी सजिलो पेसा भएकोले युवा पुस्ताले यसमा चासो देखाएका छन् ।’

उनका अनुसार प्रत्येक वर्ष कृषि कार्यालयले जिल्लाका मौरीका घारहरू वितरण गर्ने र मौरी पालन गर्न चाहने किसानहरूलाई व्यावसायिक मौरी पालन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए ।जिल्लामा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई घार वितरण गर्दै आएको छ । जिल्लामा ६० प्रतिशत परम्परागत खोपे तथा मुडे घारहरू भएको र ४० प्रतिशत आधुनिक घार राख्दै आएको कार्यालय प्रमुख आचार्यले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा एउटा आधुनिक घार बरावर १५ किलो र परम्परागत घारबाट १२ किलोसम्म वार्षिक मह उत्पादन हुने कार्यालयको भनाइ छ । जिल्लाको नलगाड नगरपालिका पालि ,कल्पत,र डाँडागाउँलाई मौरी “जोन“को रूपमा लिएको छ ।

यस्तै, भेरी नगरपालिकाको पिपे ,मैदे,रिसाँग,छेडागाड नगरपालिकाको डाँडागाउँ घोगी र दशेरामा मौरी पालन गरिँदै आएको छ । जिल्लामा एक जना किसानले १५ देखि १ सय घारसम्म प्रयोग गरी मौरी पालन गर्दै आएका छन् । अहिले मौरीको मह भन्दा गोलाको माग बढेको कार्यालयले जनाएको छ। ।

स्रोत केन्द्र र मह प्रशोधन केन्द्र सञ्चालन

नलगाड नगरपालिका २ छेप्कामा मह प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । एक पटकमा १ सय ५० किलो मह शुद्ध गर्न सक्ने क्षमताको प्रशोधन केन्द्र स्थापना गरिएको छ । साबिक कृषि ज्ञान केन्द्र जाजरकोटको आव २०७५÷०७६ सालमा स्थापना गरिएको थियो । पैँतीस लाखमा उक्त भवनसहित आवश्यक सामाग्री खरिद गरिएको थियो ।

यसको जिम्मा ज्वाला साना किसान सहकारी संस्था लिमिटेडले लिएको थियो । विगतमा थ्री–फेज लाइन नभएको कारण मह प्रशोधन केन्द्र अलपत्र परेको सहकारीका व्यवस्थापक चन्द्रा थापाले बताइन । अहिले सहकारीले प्रशोधन केन्द्रमा थ्रि–फेज लाइन जडान गरेकोले केन्द्र सुचारु भएको उनको भनाइ छ । यस्तै, नलगाड नगरपालिका ५ मा मौरी स्रोत केन्द्र सञ्चालनमा आएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा माहुरीको घार र माहुरी समेत उत्पादन गर्ने उद्देश्यले स्रोत केन्द्र स्थापना गरिएको थियो । तत्कालीन कृषि ज्ञान केन्द्र जाजरकोटको ३५ लाख कार्यालय र १५ लाख सहकारीको साझेदारीमा केन्द्र स्थापना भएको थियो । हाल उक्त स्रोत केन्द्रबाट मागको आधारमा टुनीको घार उत्पादन गर्दै आएका छन् ।

उक्त केन्द्रबाट नगरपालिका र कृषि विकास कार्यालयले घार र मौरी खरिद गर्न सुरु गरेको स्रोत पञ्चासे बहुउद्देश्यीय सहकारीका व्यवस्थापक किशोर रावलले बताए । जिल्लामा मौरीलाई चारा अभाव नहुँदा दैनिक मह घट्दै गएको छ ।

यस्तै मौरी पालन किसानको व्यवस्थापनको कमजोरीका कारण मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । दैनिक बन जङ्गल फडानी, चरी चरण क्षेत्र अभाव मौरीमा नयाँ सङ्क्रमित रोग देखा पर्नुमा मह घट्दै गएको छ ।

किसानलाई उद्यमशीलता तालिम
यसैबिच, जिल्लाका माहुरी पालन गर्दै आएका किसानलाई उद्यमशीलता तालिम दिएको छ । खलङ्गा साना किसान कृषि सहकारी संस्था लि.को आयोजनामा माहुरी पालन किसानलाई तालिम दिएको हो । इन इलम हेल्भेटास नेपालको आर्थिक सहयोगमा क्रियाशील मौरी पालन गर्दै आएका किसानलाई उद्यमशीलता विकास तालिम दिएको छ ।

व्यवसाय सम्बन्धी जानकारीका लागि मौरी पालक कृषकहरूलाई तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष योगमाया कार्कीले बताइन । व्यवसाय सम्बन्धी जानकारी तथा सुरु गर्नका लागि गत भदौ २१ गते देखि भदौ २४ गतेसम्म तालिम सञ्चालन गरिएको उनको भनाइ छ । देवेन्द्र अधिकारी र विनोद लम्सालले तालिमको सहजीकरण गरेका थिए ।

सहभागीहरूलाई व्यवसायको महत्त्व र सञ्चालन गर्दाको फाइदाको विषयमा मोहन रानाले प्रशिक्षण दिएका थिए । भेरी नगरपालिका भित्रका किसानलाई तालिमले व्यवसायमा मद्दत गर्ने भेरी नगरपालिका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । अहिलेको आवश्यकता अनुसारको तालिमले किसानलाई उत्साहित गरेको घर्तीको भनाइ छ ।

उद्यमशीलता मार्फत व्यवसायमा सक्रिय कृषकलाई नगरपालिकाबाट समेत सक्दो सहयोग गर्ने नगर प्रमुख घर्तीले प्रतिबद्धता जनाए । जिल्लाका ३१ जना मौरी पालक किसानलाई तालिम दिइएको इन– इलम परियोजना हेल्भेटास नेपालका कार्यक्रम संयोजक टेकबहादुर सिंहले जानकारी दिए ।

खबरदृष्टि

  • २६ भाद्र २०८०, मंगलवार प्रकाशित
  • Nabintech