२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार
कर्णालीको विकासका लागि केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक : पूर्व मुख्यमन्त्री शाही
कर्णालीको विकासका लागि केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक : पूर्व मुख्यमन्त्री शाही
  • paschimpatra

जाजरकोट । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि नीति र नेतृत्वमा कर्णाली पुग्न आवश्यक रहेको बताएका छन्। उनले विगतलाई बिर्सेर पार्टी संगठनलाई अगाडि बढाउँदै केन्द्रमा कर्णालीको नेतृत्व स्थापित गर्नुपर्ने बताए।

‘पार्टीको नेतृत्व र सरकारमा कर्णालीको नेतृत्व भइदिएको भए अघिल्लो वर्षको भूकम्पमा घरबारविहीन भएका परिवारहरू अहिलेसम्म पालमुनि बस्नुपर्ने अवस्था रहन्थेन,’ नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको कार्यकर्ता भेला एवम् प्रबोधन कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले भने, ‘त्यसैले पार्टी र सरकारको नेतृत्वमा कर्णालीलाई पुर्याउन जरूरी छ।’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले आगामी पार्टीको अधिवेशनबाट कर्णालीलाई नेतृत्वमा पुर्याउने अवसर रहेको बताउँदै त्यो अवसरलाई कर्णालीले गुमाउन नहुने बताए। ‘जाजरकोटमा भूकम्प जाँदा देशको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का हुनुहुन्थ्यो, त्यति बेला तत्काल उद्धार र राहतको काम भयो,’ उनले भने, ‘अहिले नेतृत्वमा कर्णाली नहुँदा भूकम्प पीडितहरू अझैँ टहरोमै हुनुहुन्छ।’

कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले भूकम्प प्रभावित जिल्ला र पालिकाका विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवन निर्माणका लागि एक अर्ब बजेट छुट्याइएको भएपनि तत्कालीन सरकारको नेतृत्वले काम गर्न नसकेको बताए। उनले चालू आर्थिक वर्षदेखि विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवन बन्न सुरु भएको बताए। शाहीले भूकम्प पीडितको दुःखलाई मेटाउनेतर्फ सबै तहका सरकार र पार्टीपङ्क्ति सक्रिय हुनुपर्ने बताए। ‘भूकम्प पीडितहरूलाई अहिले न्यानो छानो चाहिएको छ, पेट भर्नका लागि खाना चाहिएको छ,’ उनले भने, ‘भूकम्प पीडितका घर बनाउन र पेट भर्नका लागि सबैको चासो र साथ आवश्यक छ।’

उनले कर्णाली प्रदेशसभाका संसदीय समितिहरू चाँडै बन्ने बताए। ‘संसदीय समिति बनाउनका लागि सत्तारूढ दलहरूबीच छलफल भएको छ,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीले भने, ‘चाँडै संसदीय समितिको नेतृत्वलाई पूर्णता दिन्छौँ।’ उनले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू चाँडै परिवर्तन नहुने बताए। ‘अहिलेका मन्त्रीहरूले अर्कोले ल्याएको बजेट कार्यान्वयन मात्रै गरिरहनु भएको छ,’ उनले भने, ‘आगामी बजेट नल्याउँदासम्म मन्त्रीहरू परिवर्तन गर्दैनौं।’

उनले बिग्रिएको कामलाई सपार्नु नै विकास भएको बताउँदै कांग्रेसले नेतृत्व गरिरहेका तीन तहका सरकारले बिग्रिएका कामहरूलाई सपार्दै लिनुपर्ने बताए। उनले कर्णाली प्रदेश संसदीय दलले जाजरकोटलाई न्याय गरेको बताए।

‘जाजरकोटले दुई–दुई पटक कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय पाएको छ,’ उनले भने।
कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहले पार्टी र सरकारको नेतृत्वमा कर्णाली नपुग्दासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताए। उनले आउने पार्टी अधिवेशबाट कर्णालीले नेतृत्व लिने अवसर आएको बताउँदै कर्णालीको सम्पूर्ण पार्टीपङ्क्ति एक हुनुपर्ने बताए। ‘कर्णाली पछाडि पर्नुको मुल कारण पार्टी र सरकारमा कर्णालीको नेतृत्व नहुनु हो,’ उनले भने, ‘आउने पार्टी अधिवेशनबाट कर्णालीलाई नेतृत्वमा पुर्याउने अवसर आएको छ, विचार समूह जे भएपनि कर्णालीलाई नेतृत्वमा पुर्याउन हामी सबै एकजुट हुन आवश्यक छ।’

  • १९ पुष २०८१, शुक्रबार प्रकाशित
  • Nabintech