जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ ।
जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ ।
भेरी नगरका वडाहरु १०, ११, १२ मा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र यसको फलको रस मानव स्वास्थ्यका लागि अचुक औषधिका रुपमा रहेको भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा नासिँदै गएको छ । जंगली जनावरको आहाराको रुपमा प्रयोग हँुदै आएको बेलको फल प्रशोधन गर्नुपर्नेमा स्थानीयवासी पदम बहादुर बुढा बताउनुहुन्छ ।
“सामुदायिक वनका उपभोक्ताको आयस्तरमा वृद्धि गर्न सकिने हुन्छ” उहाँले भन्नुभयो । जुनसुकै ठाउँमा पनी बेलका बिरुवा हुर्कन सक्ने भएकाले वनको बाँझो जग्गामा यसको बिरुवा रोप्नुपर्ने उहाँको भनाइ छ ।
बुढाका अनुसार केही वर्ष अघि स्थानिय महिला समुहले वेल प्रसोधन गरी वेलको जुस उत्पादन गरि विक्री वितरण गरिएपनि उचित तालिम र आर्थिक स्रोतको अभावमा उत्पादन र विक्री वितरण रोकिएको थियो । त्यसपछि सम्विन्धित निकायले चाँसो नदिदाँ बेल जंगलमा खेर गैरहेको छ ।
आयुर्वेदिक औषधिका रुपमा समेत बेलको पात, जरा, बोक्रा र फललाई प्रयोग गरिँदै आएको छ ।
बेलपत्र शिवरात्रि, गणेशको पूजनका बेला अनिर्वाय चढाउनु पर्ने चलन छ । बेलको महत्वबारे धार्मिक ग्रन्थ ऋग्वेद, शिवपुराण, अग्निपुराण, स्वस्थानी व्रतकथा लगायतमा वर्णन गरिएको छ । बेलको आयुर्वेदमा उपयोग गरिँदै आएको छ । प्राचीनकालदेखि नै ऋषिमुनिले बेलको प्रयोगलाई विभिन्न रोग निवारणका लागि प्रयोग गरिँदै आएको पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका कार्यालय प्रमुख देवेन्द्र ठाकुरले बेल पेट दुखेका बेला, आउँ परेका बेला, झाडापखाला लागेमा, अजीर्ण भएमा, बान्ता रोक्न कब्जियत निको पान यो फल एकदमै फलदायी हुने बताउनुहुन्छ ।
उता वन डिभिजन कार्यालय जाजरकोटका कार्यालय प्रमुख राधाकृष्ण दासले वेल संरक्षणका लागि आर्थिक बर्ष २०७७।७८ मा ६ हेक्टर जंगलमा तारवार गरेको र आउँदो वर्ष बेल जुस उत्पादनको लागि मन्त्रालयसंग समन्वय गरीरहेको र अब जाजरकोटको वेल खेर नजाने गरी काम भैरहेको बताउनुभयो ।
बेल औषधिका रुपमा र धार्मिकरुपमा समेत महत्वपूर्ण भएकाले वनमा खेर जाँदै गरेका फललाई प्रयोगमा ल्याउन र नासिँदै गएका क्षेत्रमा रुख जोगाउन अनिवार्य देखिएको छ ।