२९ चैत रुकुम पश्चिम । रुकुम पश्चिममा जिल्लाका विभिन्न ठाउँमा ७५ रोपनीमा लगाइएको लागु औषध अफिमखेती नष्ट गरेको छ ।चार दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले खेति नष्ट गरेको जनाएको छ ।अफिम तयारी हुने याम भएकाले प्रहरीले उत्पादन हुने सम्बन्धित ठाउँसम्म पुगेर नष्ट गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनु भयो ।अफिमखेती आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको उच्च भूभागमा उत्पादन हुने गरेको छ । गत शुक्रबार आठविसकोट–१२ को ठूली बार्खूमा पाँच रोपनीमा लागाइएको अफिम नष्ट गरिएको थियो ।
त्यस्तै, सोही नगरपालिका–३ कालापानी बाँस्तोला भन्ने स्थानमा गत आइतबार १० रोपनी, गत सोमबार सानीभेरी–६ छहरामा ४० रोपनी र आठविसकोट–३ पाटागाउँमा २० रोपनी गरेर चार दिनमा ७५ रोपनीमा लगाइएको लागुऔषध अफिमखेती नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले बताउनु भयो ।