
२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ ।
धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ ।