२८ चैत जाजरकोट । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङलेका रोल्पा र डोटिमा २ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन ।
डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो राति चट्याङ लागेर सोही स्थानका लहरी नागरीकी श्रीमती ४० वर्षीय कमला नागरीको मृत्यु भएको हो। यसै गरी चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दानबहादुर कार्कीले जानकारी दिनु भयो ।
डीआईजी कार्कीका अनुसार बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ ।रोल्पाको गंगादेव गाउँपालिका र अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पनि हावाहुरीले क्षति पुर्याएको छ । बाँकेको सुर्खेत रोडमा पनि हावाहुरीले क्षति पुर्याएको छ । त्यहाँ सडकको बीच भागमा रोपिएका बोटबिरूवा ढलेका छ्न् ।बिहीबार बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एकतले दुई कोठे घरमा चट्याङ लागेर जलेको डीआईजी कार्कीले बताए ।