४ चैत्र २०८१, मंगलवार
४ चैत्र २०८१, मंगलवार
स्थानीय तहका विज्ञापन स्थानीय मिडियाले नै पाउनुपर्छ : अध्यक्ष हुमागाईँ
स्थानीय तहका विज्ञापन स्थानीय मिडियाले नै पाउनुपर्छ : अध्यक्ष हुमागाईँ
  • paschimpatra

जाजरकोट । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले स्थानीय तहका विज्ञापन स्थानीय मिडियाले पाउनुपर्ने बताएका छन् । शुक्रबार जाजरकोट खलंगामा भएको विज्ञापनको नियमन, लोक कल्याणकारी विज्ञापन वितरण विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष हुमागाईँले स्थानीय तहका सबै विज्ञापन स्थानीय मिडियाले पाउनुपर्ने बताएका हुन् ।

स्थानीय तहहरुले विज्ञापन क्षेत्रका विचौलिया पोस्ने, मिडियाहरुलाई विज्ञापन नदिने परिपाटी छ, उनले भने, ‘हामीले सबै स्थानीय तहलाई परिपत्र गरिसकेको छौं, स्थानीय मिडियालाई लोककल्याकारी विज्ञापन वितरण गर्नुपर्छ, समाचार स्थानीय मिडियाले लेख्ने, विज्ञापन अरु विचौलियाले पाउने यो परिपाटी अन्त्य हुनुपर्छ ।’

यस्तै, विज्ञापनका क्षेत्रमा विभिन्न विकृतिहरू रहेको र त्यसका विरुद्धमा काम गरिरहेको बताए । फलस्वरूप धेरै विकृतिहरू नियन्त्रण भएको उनको भनाई छ । ‘म विज्ञापन बोर्डमा आइसकेपछि मिडियाको दिगोपनाका लागि काम गरिरहेका छौँ, विज्ञापन क्षेत्रमा धेरै विकृतिहरू थिए, विज्ञापन एजेन्सीहरू मोटाउने तर मिडियाहरू सुक्दै जाने परिपाटीको अन्त्यका लागि खटिइरहेका छौँ, धेरै विकृति नियन्त्रण भएका छन्, उनले भने ।’

यसअघि राष्ट्रिय मिडियामा छापिनुपर्ने विज्ञापनमा एजेन्सीहरूले मनलाग्दी बिल बनाएर पठाउने परिपाटीलाई हाल विज्ञापन छापेको सम्बन्धित मिडियाकै बिल पठाउने गरी व्यवस्था गरेकोले यसले धेरै हदसम्म विचौलियाको चलखेल अन्त्य हुने विश्वास व्यक्त गरे । यसबारेमा महालेखा परीक्षकको कार्यालयलाई समेत लेखि पठाएको र कार्यालयले पनि यसमा गम्भीरता देखाएको उनको भनाई छ ।

गलत काम गर्ने विज्ञापन एजेन्सीहरूलाई कारबाही गरिरहेको जानकारी दिए । मिडिया बाँच्ने मुख्य आधार नै विज्ञापन भएको भन्दै उनले विज्ञापनको समानुपातिक वितरणको आवश्यकता औँल्याए । खरिद ऐनले टेन्डरका विज्ञापन राष्ट्रिय पत्रिकामा छाप्नुपर्ने व्यवस्था गरेको हालसम्म सम्म सोही अनुसार भइरहेको र अन्य विज्ञापनको हकमा भने स्थानीय मिडियाहरूलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले विज्ञापनमा स्थानीय मिडियाहरूलाई विभेद गरिएको, विज्ञापनको समानुपातिक वितरण हुन नसकेको, लोक कल्याणकारी विज्ञापनमा थप कर काट्ने गरिएको, पत्रकारका नाममा मनलाग्दी विज्ञापन लगायतका सेवा सुविधा माग गर्ने जस्ता गतिविधिहरू भइरहेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका थिए ।

  • १७ फाल्गुन २०८१, शनिबार प्रकाशित
  • Nabintech