६ फागुन काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ ।लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।गृह मन्त्रालयका अनुसार अघिल्लो आव ०८०/८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो । चालु आवको वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको मृत्यु भएको छ ।
गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ ।