७ माघ बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिनुभयो ।
पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको १२ लाख ९४ हजार एक सय ५८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ ।प्रहरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सात वटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार आठ रुपैयाँ जरिवाना गरिएको छ ।