२३ मंसीर चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा सामाजिक सञ्जालमा कपोकल्पित र भ्रमपूर्ण विचार सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।०८१ मंसिर २० गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादकपदार्थ सेवन गरेको भन्नेजस्ता विचारहरु भ्रामक, झुटा र अनुमानमा आधारित रहेको प्रहरीको जिकिर छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन लगिएको थियो । मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान भइरहेका बेला अनुसन्धान बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेको, प्रहरी कार्यालय तथा सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्नेलगायत कार्य समेत भएको प्रहरीले जनाएको छ ।