१५ कात्तिक काठमान्डौ । यमपञ्चक तिहार तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ।यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो।