८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरबारमा
पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरबारमा
  • paschimpatra

जाजरकोट । तत्कालिन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय ५६ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको शक्तिको प्रतिक खड्ग अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ ।

वडादशैंका अवसरमा फुलपाती भित्र्याउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग विहिवार जगतिपुरवाट जाजरकोट दरवारमा भित्र्याइएको हो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुको व्यापक सहभागितामा शंख ध्वनी सहित भेरी नगरपालिका ४ गैरीखालीमा पुजाआजा र सलामी दिएर उक्त खड्गलाई जाजरकोट दरवार लगिएको हो ।

विक्रम सम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसंग नेपाल एकीकरण अभियान सफल पार्ने उद्धेश्यले धर्मसन्धी गर्दै उक्त खड्ग (तरवार) जाजरकोट राज्यलाई उपहार स्वरुप दिएका थिए ।

दुइ राज्यका विचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग शक्तिको प्रतिकको रुपमा जाजरकोटी राजालाई दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार जनक केसीले बताउनुभयो । उहाँले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित जगतिपुरवाट खलंगा दरवारमा ल्याउने परम्परा सुरु भएको बताउनुभयो ।

फुलपातीका दिन विशेष पुजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि राज्य रजौटा उन्मुलन सँगै प्रमुख जिल्ला अधिकारीले गदै आएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गत बर्ष गएको भुकम्पले दरबारमा क्षति पुरयाएपछि त्रिपालले ढाकेर राखिएको छ । त्यही क्षतिग्रस्त दरबारमा विधिपुर्वक शक्तिको प्रतिक खड्ग भित्र्याईएको हो ।

फुलपातीका दिन जाजरकोट दरवारमा भित्रयाइएको उक्त खड्गलाइ दशैंको फुलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशीमीको दिन सम्म पन्चे वाचाको ध्वनीका साथ वोका, रांगाको वलि दिएर भव्य रुपमा पुजाआजा गरि दशमीकै दिन टीका लगाईसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे माओवादी द्धन्दका क्रममा असुरक्षाका कारण उक्त खड्ग २०५८ देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको थियो । यस बर्ष देखि पुरानै परम्परा अनुसार जगतिपुरबाट खड्ग जाजरकोट दरबारमा भित्र्याईएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाइ जगतिपुरमै राख्ने पुरानै परम्पराको निरन्तरता दिने काम भएको प्रजिअ अधिकारीले बताउनुभयो ।

  • २४ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech