९ असोज कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न व्यवसायीहरूले सहयोग गर्नुपर्ने बताउनु भएको छ । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अवैध बाटोबाट आयात हुने समान रोक्न व्यवसायी एकमत हुनुपर्ने बताउनु भएको हो ।
नेपाली व्यवसायीहरूले चाडबाडका नाममा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य लाउने प्रवृत्ति हटाए भोलीबाटै भन्सार नाकाबाट एक सय रुपियाँ भन्दा बढीको समान बिना भन्सार आउनबाट रोक लगाइने मन्त्री भण्डारीले बताउनु भयो ।मन्त्री भण्डारीले भने, ‘कैलाली उद्योग वाणिज्य सङ्घले नै यसको अगुवाइ गरोस्, हामी कुनै पनि समानको कृत्रिम अभाव सृजना गर्दैनौँ, सरकारले तोकेको मूल्य भन्दा एक रुपियाँ बढी लिँदैनौँ भन्ने प्रतिबद्धता गर्नुस्, सरकारले गरेको १ सय रुपियाँ बढीको समानमा पूर्ण भन्सार लाइने नीति भोलीबाटै कार्यान्वयन हुन्छ, मात्र व्यवसायीहरूकै सहयोग चाहिन्छ । फेरी समान समातिए व्यवसायीहरुनै आन्दोलन गर्न नपुग्नुहोला ।’