६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
कविताः आज मलाई फेरि प्रेम गर्न मन लागेको छ
कविताः आज मलाई फेरि प्रेम गर्न मन लागेको छ
  • डा. गोबिन्दसिंह रावत

गृहस्थीको दिनचर्या
केहीबेर अन्त थन्काएर
काम कर्तव्यलाई तगारो लगाएर
मुटुलाई दाम्पत्यको पर्खालबाट बाहिर निकालेर
यो मन
तिमीलाई फेरि हस्तान्तरण गर्न मन लागेको छ
आज फेरि मलाई प्रेम गर्न मन लागेको छ

आफ्नो अतीतलाई
रिवाइण्ड गरी पुनः प्ले गर्दै
फेरि एकपटक गोदावरीमा डुल्न मन लागेको छ
चउरमा बसेर तिम्रा केस्राहरुलाई औंलामा अल्झाएर
जीवनको अंकगणित मिलाउन मन लागेको छ
आज फेरि मलाई प्रेम गर्न मन लागेको छ

उमेरको भ-याङबाट केही तल ओर्लेर
तीन घण्टा चलचित्र मन्दिरभित्र
एकहातले बदाम छोडाउँदै खुवाउँदै
अर्को हात समातेर दिन बिताउन मन लागेको छ
अनि चलचित्र भित्रको चलखेललाई विर्सेर
तिमीमा रमरमाउँदै रङ्गीन हुन लागेको छ
आज फेरि मलाई प्रेम गर्न मन लागेको छ

घरमा सधैँ हुने नुनतेलको दैनिकी पञ्छाएर
छोराछोरीको टिफिन र ट्युसनलाई चटक्क बिर्सेर
घर कार्यालय बजार र समाजबाट अवकास लिएर
एकपटक फेरि अतीतलाई ब्युँताउन मन लागेको छ
आज फेरि मलाई प्रेम गर्न मन लागेको छ

किमार्थ ढाटेको हैन
जसरी पनि समय उबार गृहस्थीलाई थान्को लगाएर
प्रेमिका बनेर आऊ छोराछोरीलाई स्कूल पठाएर
मैले पनि बिदा लिई सके आफैँलाई बिरामी बनाएर
आऊ न प्रिये आऊ मेरो आलिङ्गनमा कैदी बनेर
फेरि एउटै कुल्फीमा पालैपालो बरफ खान मन लागेको छ
आज फेरि मलाई प्रेम गर्न मन लागेको छ

खै किन हो किन साठी नागेछ क्यारे
जुँघेरेखी बस्दाको प्रेम फेरि जागेछ क्यारे
फुलेको केस र अहिलेको भेषलाई विर्सेर आऊ
तिमीले भन्दै जाऊ म मान्दै जान्छु पहिले जस्तै
अनि गुनासो गर्ने छौनौं तिमीले म बदलिए भनेर
त्यसैले भन्या प्रेम दिवस मनाउन
फेरि एकपटक अतीतलाई निम्ताएर रमरमाउन मन लागेको छ
आज फेरि मलाई प्रेम गर्न मन लागेको छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech