२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
रुकुम पश्चिमका दीपक अमेरिकामै अस्ताए
रुकुम पश्चिमका दीपक अमेरिकामै अस्ताए
  • न्युज डेस्क

१५ साउन रुकुम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका १० का ३० वर्षीय युवा दीपक वली करिब ८० लाख रुपैयाँ खर्चिएर गत वर्षमात्रै स्थलमार्गबाट अमेरिका पुगे ।

करिब ८० लाख रुपैयाँ तिरेर दुई दर्जनभन्दा बढी देशको स्थलमार्ग छिचोल्दै अमेरिका छिरेका उनी त्यहाँ रोजगारीमा पनि लागिसकेका थिए । अमेरिका सपना पछ्याउँदै ३ वर्षअघि घर छाडेका दीपकले सन् २०२३ जुलाईमा त्यहाँको भूमि टेकेका थिए । उनलाई ‘तल्लो बाटो’बाट अमेरिका पुग्न नै डेढ वर्षभन्दा धेरै समय लाग्यो ।

अवैध बाटोबाट लाखौँ तिरेर अमेरिका पुगेका उनी आइतबार बिहानै टेक्सासको एल्म मोटस्थित आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा ड्युटीरत थिए ।ग्यास स्टेशनमा क्यासियरको काम गर्दै आएका उनले बुनेका कयौँ सुन्दर सपना लुटेराहरूको गोलीका कारण सदाका लागि चुँडिएको छ ।उता दीपकको वडाका अध्यक्ष हरि चन्दले पनि आफूहरूको गाउँले एउटा ऊर्जाशील युवा गुमाएको भन्दै दुखेसो गरेका छन् ।

नेपाली युवक दीपकको गोली हानी हत्या भएको घटनाको पुष्टि म्याक्लेनन काउन्टीको प्रहरी कार्यालयले गरिसकेको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।अमेरिकामा लुटेराको शिकार हुन पुगेका दीपकका घरमा ५ वर्षीया छोरी र पत्नी रहेका छन् । दीपकको हत्याको खबरले गाउँमा रहेको झुप्रोमा रुवाबासी चलेको छ । दीपककी पत्नी २६ वर्षीया विमला बुढाथोकी वली अहिले छोरीसँग दाङमा बस्छिन् । दीपकका भाइ दिनेश पनि रोजगारीका क्रममा दक्षिण कोरियामा छन् ।

वडाध्यक्ष चन्दका अनुसार दीपकका ५६ वर्षीय बुवा लीलाराम वली गाउँमै कृषि र बाख्रा पालन गरेर बसेका छन् । दीपकले अमेरिका जाँदा लागेको ८० लाख रुपैयाँमध्ये ४० लाख मात्रै तिर्न सकेको खुलेको छ । उनीमाथि ऋणको बोझ नहट्दै लुटेराबाट मारिन पुगे ।

वैधानिक र अवैधानिक दुवै बाटोबाट अमेरिका पुग्ने नेपालीहरू ग्यास स्टेशनमा बाक्लो संख्यामा काम गर्छन । धेरै संख्यामा काम गर्ने भएकाले उनीहरू पटक पटक लुटेराको आक्रमणमा परिरहेका छन् । रातको समयमा लुटेराले ग्यास स्टेशनलाई निशाना बनाउने गरेका छन् । साभार खवरहव बाट

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech