२२ असार २०८२, आईतवार
२२ असार २०८२, आईतवार
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख साहमाथि कार्यकक्षमै हातपात
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख साहमाथि कार्यकक्षमै हातपात
  • paschimpatra

जाजरकोट । जाजरकोट डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार कार्यालय समयमै अज्ञात समूह कार्यालयभित्र पसेर प्रमुख साहमाथि आक्रमण गरेको हो।

साहका अनुसार उनी कार्यकक्षमा नियमित फाइलहरू हेर्दै गरेका बेला एक्कासि ३–४ जना आक्रोशित व्यक्तिहरू पसेर कराउन थाले र हातपात गरेका थिए। ‘म सामान्य फाइल हेरिरहेको थिएँ, एक्कासी मानिसहरू पसेर आक्रोश देखाउँदै मलाई थिचथाच पार्दै कुटे,’ साहले भने। घटनामा उनलाई सामान्य चोटपटक लागेको बताइएको छ।

केही दिनअघि शाहको एक भिडियो सार्वजनिक भएपछि उनी आलोचनाको घेरामा परेका थिए। उक्त भिडियोमा उनी कार्यालयको तालिम हलमा मदिरा सेवन गरिरहेको देखिन्छ भन्ने आरोप लागे पनि साहले त्यसलाई अफवाह र नियोजित चरित्र हत्या भनेका छन्। ‘भिडियो कार्यालय समय बाहिरको हो र त्यो मेरो छवि बिगार्नकै लागि प्रचार गरिएको हो,’ साहले स्पष्ट पारे, ‘तर यस्तो आक्रमण हुनु आफैँमा अत्यन्तै निन्दनीय र नियोजित देखिन्छ।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटले सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। ‘हामीले कार्यालय परिसरको सिसिटिभी फुटेज लिएका छौं, त्यसकै आधारमा दोषी पहिचान गरेर कानुनी कारबाही अघि बढाइन्छ,’ प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आक्रमणकारीहरूको पहिचान हालसम्म नखुले पनि प्रारम्भिक अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ।

  • २२ असार २०८२, आईतवार प्रकाशित
  • Nabintech