१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
रूकुम पश्चिमका दुई बस्ती भासिएपछि जङगलमै बास
रूकुम पश्चिमका दुई बस्ती भासिएपछि जङगलमै बास
  • paschimpatra

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं। ११ का दुई बस्ती भासिएका छन । २५ घरधुरी रहेको मङग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ ।

अहिले मङग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावितहरु अझैसम्म घर फर्केर बस्न सकेका छैनन् । उनीहरु नजिकैको जङगलको बिचमा रातदिन काटिरहेका छन् ।

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाईला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाईते समेत भएका उनले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको बताए । अन्यत्र कतैपनि जग्गा नभएकोले सरकारले दिएको अनुदान रकमले जङगलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उनले उल्लेख गरे । कामीले वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरुलाई अहिले बासको पीरलो भएको बताए ।

सोहि टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङगलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार तीन जना सुत्केरी र नावालकहरु समेत रहेका छन् । भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु बसेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उनले सुनाए । अस्थायी आवास सोहि जङगलमै बनाउनु परेको र घर बनाउनलाई जग्गा नभएको उनको भनाई छ ।

मङग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरोलो पाखोमा बस्न बाध्य छन् । वडा नम्वर ११ का वडा सदस्य समेत रहनुभएका स्थानीय जगबिर बटालाले जसोतसो टिनका टहरा बनाएतापनि घर बनाउन लायक जमिन नभएको बताए । उनका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोईरी–रातामाटा सडक, टोलको छेउबाटै बनाईएको गिजागार–चौर सिचार्ई नहर र गाउँदेखि तल्लो भागमा रहेको राडिहुँदै रिम्ना जाने सडकको कारण बस्ती नै जोखिममा रहेका थिए ।

अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकोले थप जोखिम बढेको उनको भनाई छ । वडा कार्यालयको तथ्याङक अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन् ।

आठविसकोट नगरपालिका प्रमुख रबि केसीले यो बिषय चुनौतीका रुपमा आएको बताए । अहिलेलाई खाली ठाउँमा रहेका सार्वजनिक जमिन उपयोग गर्न सहजिकरण गरिएको र पुनर्निर्माणको बेला सकेसम्म एकिकृत बस्ती हुने गरेर घर बनाउने सोच बनाएको उनले बताए । गाउँघर छरिएर भन्दा पनि एकिकृत रुपमा बनाउन कोशिस रहने र जग्गा नभएकाहरुको हकमा ठोस योजना बनाउन आवश्यक रहेको नगरप्रमुख केसीले जानकारी दिए । नगरपालिकाका वडा नम्वर ११, १२ र १३ मा समेत केहि घर तथा बस्तीहरु जोखिममा रहेको नगरप्रमुख केसीले बताए।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित
  • Nabintech