१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान संचालन
भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान संचालन
  • न्युज डेस्क

जाजरकाेट । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ ।

आपतकालिन अबस्थामा श्वासप्रश्वास, दुषित पिउनेपानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरु फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भुकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम लगाएत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डा. प्रतिक्षा भारतिले जानकारी दिईन् ।

सामान्य अबस्थामा दादुराको महामारी फैलिएमा मृत्युदर १ प्रतिशत रहने जानकारी दिदै डा. भारतिले विपदको वेला दादुराको महामारी फैलिएमा मृत्युदर ३० प्रतिशत रहने बताएकी छन् । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुकम्प प्रभावित र आसपासका जिल्लाहरुमा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान संचालन गरेको डा. भारतिले बताएकी छन् ।

१ सय ८ जनाको ज्यान जानेगरी २०६६ सालमा फैलिएको झाडापखालाबाट १२ हजार ५०० जना संक्रमित भएको बताउदै डा. भारतिले ३५ जनाको ज्यान जानेगरी २०७२ सालमा फैलिएको ईन्फ्लुयन्जा भाइरसबाट १० हजार जना संक्रमित भएकोले जाजरकोट जिल्ला महामारीको उच्च जोखिममा रहेको बताईन् ।

गत बर्ष जाजरकोट जिल्लामा दादुराको संक्रमण देखा परेको जानकारी दिदै स्वास्थ्य सेवा विभाग अन्तरगत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच पाँच बर्षमा दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गरिरहेको सरकारले भुकम्प प्रभावित र आसपासका जिल्लाहरुमा पाँच बर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको जानकारी दिए । दादुरा–रुवेला, टाइफाइड जस्ता प्रकोपहरुलाई फैलिन नदिन निश्चित गरिएका उमेर समुहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमले भनाई राखेका थिए । दादुरा–रुवेला विरुद्धको खोप ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइड विरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबै नागरिकहरुले लगाउनुपर्ने डा। गौतमले बताएका छन् ।

स्वास्थ्य सेवा कार्यालयका अुनसार जाजरकोट जिल्लामा ६ महिना देखि १५ बर्ष सम्मका ६८ हजार ९ सय १९ जना र १६ बर्षदेखि ४५ बर्षसम्मका ८६ हजार ६ सय ३६ जना रहेका छन् ।

यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानको पहिलो चरणमा भेरी र नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकामा संचालन गरिएको छ । १० गतेदेखि १४ गतेसम्म दोस्रो चरणमा छेडागाड नगरपालिका, जुनीचाँदे र शिवालय गाउँपालिकामा संचालन गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

भुकम्प प्रभावित क्षेत्रमा सरकारले संचालन गरेको दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान आफैमा राहत स्वरुपको अभियान भएको बताउदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खोप अभियानबाट सबैलाई लाभ लिन अपिल गरेका छन् । खोप अभियानलाई राहत वितरण, अस्थायी आबास निर्माणसंगै जोडेर लिनुपर्ने बताउदै प्रजिअ सुनारले खोप लगाउनका लागि सवै नागरिकसम्म सुचना प्रवाह गर्नुको साथै नलगाउने नागरिकलाई सेवाबाट बन्चित गर्न स्थानीय तहहरुलाई सुजाएका छन् । खोप अभियानको लक्ष्य पुरा गर्न भोली देखिनै जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी कार्यालय लगाएतका ठाउँहरुमा केन्द्र स्थापना गरी खोप संचालन गरिने प्रजिअ सुनारको भनाई छ ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित
  • Nabintech