१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जुम्ल्याहालाई चिन्दैन ई-पासपोर्टको सफ्टवेयर, सिस्टमले बारम्बार आवेदन रद्द गरिदिएपछि तनाव
जुम्ल्याहालाई चिन्दैन ई-पासपोर्टको सफ्टवेयर, सिस्टमले बारम्बार आवेदन रद्द गरिदिएपछि तनाव
  • paschimpatra

काठमाडौं । यही मङ्गसिरदेखि नेपाल सरकारले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी प्रचलनमा ल्याएको छ । यससँगै सरकारले सेवाग्राहीको सहजताको लागि भनेर अनलाइनबाट आवेदन दिने व्यवस्था पनि मिलाएको छ ।

राहदानी विभागको केन्द्रिय कार्यालय लगायत ३१ ओटा जिल्ला प्रशासन कार्यालयबाट हाल राहदानीको वितरणको काम भइरहेको छ । सबै काम घरमै बसेरै गर्न सकिने अनि कार्यालय धाउनु नपर्ने भएपछि सेवाग्राहीहरूलाई धेरै सहज हुने अनुमान थियो ।

तर सरकारको यो सफ्टवेयरले जुम्ल्याहा दुई जनालाई छुट्याउन भने नसकेको देखियो । एक महिना अगाडि विवाह गरेर आफ्नो श्रीमान भएको देश ‘दुबई’ नै जाने गङ्गादेवी दङ्गालको योजना थियो ।

विराटनगर घर भएकी उनले विवाह लगत्तै ई-पासपोर्ट बनाउन आवेदन दिइन् । विवाहपछि उनका श्रीमान दुबई फर्किसकेका छन् । उनी पनि उतै जाने योजना अनुरूप राहदानी बनाउन खोज्दा थप झमेलामा परिन् ।

‘मेरो श्रीमान दुबईमा बस्नुहुन्छ । मङ्गसिरमा विवाह भएपछि मेरो पनि उतै जाने योजना थियो,’ गङ्गाले भनिन्, ‘त्यही भएर पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यलयबाट आवेदन दिएकी थिएँ ।’

आवेदन दिएको केही दिनपछि उनको पासपोर्ट बन्न नसक्ने भन्दै प्रशासनबाट मेसेज आयो । उक्त मेसेज देखेर उनी आश्चर्यमा परिन् ।

‘मेरो नामको नागरिकताबाट पहिले नै पासपोर्ट बनिसकेका कारण आवेदन रद्द भएको भनेर म्यासेज आयो । जबकी म पहिलो पल्ट पासपोर्ट बनाउँदै थिएँ,’ उनले भनिन्, ‘अझ पुरानो पासपोर्टको विवरण पनि नराखिएको भनेर मेरो आवेदन रद्द हुनुको अर्को कारण उल्लेख थियो ।

यसले हामीलाई अलमलमा पार्‍यो ।’ त्यस्तो मेसेज आएपछि गङ्गा जिल्ला प्रशासन कार्यालयमा आफ्नो समस्याको समाधान खोज्न पुगिन् ।

जिल्ला प्रशासन कार्यालयमा गएपछि बल्ल उनले थाहा पाइन, उनको नागरिकताबाट बनेको भनिएको पासपोर्ट अरु कसैको नभई उनकै जुम्ल्याहा बहिनीको थियो । यो कुराले उनलाई समस्यामा पार्‍यो ।

वास्तवमा गङ्गाको जुम्ल्याहा बहिनी छिन्स गीतादेवी दंगाल । गीताले आफ्नो व्यक्तिगत प्रयोगजनको लागि सन् २०१९ मै पासपोर्ट बनाइसकेकी थिइन् ।

अहिले गङ्गाले पासपोर्टको लागि आवेदन दिँदा सफ्टवेयरले अन्य विवरण रिड गर्न सकेन र पासपोर्ट पहिले नै बनिसकेको भन्दै आवेदन रद्द गरिदियो ।

‘मेरो नामको पासपोर्ट पहिले नै बनेको भनेपछि हामी प्रशासनमा बुझ्न गयौँ । त्यहाँ गएपछि थाहा भयो हाम्रो (गङ्गा र उनकी जुम्ल्याहा बहिनी) फोटो (अनुहार) एउटै भएको र हाम्रो नागरिकतामा भएका सबै विवरण एउटै भएका कारण मेरो आवेदन रिजेक्ट भएको रहेछ,’ उनले सुनाइन् ।

‘सफ्टवेयरले आमा-बुवाको नामदेखि जन्मदिन, जन्मस्थान, नागरिकता जारी गरेको स्थान लगायतका सबै मिति एउटै भएपछि नागरिकता पहिले नै बनिसकेको डिटेक्ट गरेको रहेछ ।’ राहदानी विभागले विद्युतीय पासपोर्ट र यसका लागि अनलाइन आवेदन प्रचलनमा त ल्यायो ।

तर जुम्ल्याहाको कुरामा आएर सफ्टवेयरले काम गर्न नसकेपछि भने त्यस्ता सेवाग्राहीलाई समस्या परेको छ । ‘त्यसपछि प्रशासनका कर्मचारीले हामीलाई सफ्टवेयरको समस्या रहेछ । विभागमा भनेर तपाईंको समस्या समाधान गर्छौँ भन्नुभयो र फेरि फोटो खिचाउन लगाउनु भयो,’ उनले भनिन् ।

त्यसैअनुसार उनी तीन दिनपछि फोटो खिचाएर प्रशासन कार्यालय पुगिन् । पहिलेकै जसरी अनलाइनबाट आवेदन दिइन् । तर फेरि पनि आवेदन रद्द भयो । अब उनी एमआरपीको लागि पनि आवेदन दिन सक्दिनन् ।

किनभने सरकारले ई-पासपोर्ट अनिवार्य गर्दै पुरानो पासपोर्ट जारी गर्न बन्द गरिसकेको छ । गङ्गासँग धेरै समय छैन । तर प्रशासन र विभागले भने केही दिनमै यो समस्या समाधान हुने बताएका छन् ।

‘हामी आवश्यकता अनुसार सफ्टवेयरमा परिवर्तन गर्दै गइरहेका छौँ,’ राहदानी विभागका प्रवक्ता शरदराज आरनले टेकपानासँगको कुराकानीमा भने । दुई महिनादेखि विद्युतीय राहदानी प्रचलनमा आएको र यसको सुधारका कामहरू अझै पनि भइरहेको उनको भनाई छ ।

‘जुम्ल्याहाको सन्दर्भमा यो पहिलो घटना हो । हामी यसमा काम गरिरहेका छौँ,’ उनले भने, ‘हाम्रो सफ्टवेयरले फोटो लगायतका विवरणहरू रिड गरे पनि परिचयपत्रको नम्बर पढ्नुपर्ने थियो । त्यसो नहुँदा यो समस्या आएको हो । तर अब भने फोटो भन्दा पनि विवरण रिड गरेर काम गर्ने गरी सफ्टवेयर अपग्रेड गर्दैछौँ ।’

ई-पासपोर्टको वितरण हुन थालेको साढे दुई महिनाको अवधिमा यो पहिलो केस भएको उनले बताए । एकदुई दिन मै यो समस्या समाधान हुने पनि उनको भनाई छ । ‘कोरोना महामारीको त्रास झन् बढ्दो छ ।

देशमै पनि सङ्क्रमितको संख्या बढिरहेका कारण सार्वजनिक काम कारबाहीमा सरकारले कडाइ गरिरहेको छ । झन् दुबई सरकार महामारीको नियन्त्रणमा गत वर्ष पनि कडा रुपमा उत्रेको थियो,’ उनले भनिन्, ‘संक्रमण बढ्दै गएको खण्डमा दुबई सरकारले फेरि बोर्डर बन्द गर्न सक्छ ।’

संक्रमण बढ्दै गएपछि यता देशमा पनि बाहिर जान प्रतिबन्ध हुने हो अथवा दुबईमा यात्रा प्रतिबन्ध हुने हो भन्ने कुराले उनलाई अन्यौलमा पारेको छ । गत वर्ष पनि दुबई सरकारले लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै उडानमा प्रतिबन्ध लगाएको थियो ।

राष्ट्रिय उडान तथा आवतजावतमा प्रतिबन्ध फुकुवा गरेको धेरै समय भएको छैन । यस्तोमा फेरि सीमामा प्रतिबन्ध लाग्यो भने ई-पासपोर्टको समस्याले आफू यतै रोकिने हो कि भन्ने डर उनलाई छ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech