२५ चैत काठमान्डौ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन पछि उहाँको चाहना अनुसार पार्थिक शरीर अस्पताललाई दान गरिएको छ ।मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको आइतवार राति ८ बजे ९७ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको छ। भाइ पुरु रिसालका अनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम नभएको बताउनु भयो ।वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नुभएको थियो ।वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति राससमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो ।