जाजरकोट । बालबालिकाका सवाल, जिज्ञासा र अधिकारबारे छलफल गर्न आयोजित बालकचहरी कार्यक्रम भेरी र नलगाड नगरपालिकामा सम्पन्न भएको छ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमले स्थानीय बालबालिकाका समस्या र आवश्यकताहरू सम्बोधन गर्ने प्रयास गरेको छ।
सामुदायिक रेडियो खलंगा एफएम को सहजिकरणमा भेरी नगरपालिकाका वडा नं. ६, ७, ८, ९, १०, ११, १२ मा तथा रेडियो सानाभेरी को सहजिकरणमा नलगाड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५ र ७ मा कार्यक्रम सम्पन्न भएको थियो।
बालबालिकाका जिज्ञासाहरूको प्रत्यक्ष सम्बोधन कार्यक्रममा बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, बाल अधिकार, सुरक्षालगायतका विषयमा प्रश्नहरू राखेका थिए। उनीहरूले समुदायमा सामना गरिरहेका समस्याबारे सरोकारवालासँग छलफल गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा बाल अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। बालकचहरीमा बालबालिकाले उठाएका जिज्ञासाहरूको उत्तर सम्बन्धित सरोकारवालाहरूले दिएका थिए।
विशेषगरी, बाल हिंसा, विद्यालय स्तरीय सुविधा, अपाङ्गता भएका बालबालिकाको पहुँच, किशोर-किशोरीहरूका चुनौती तथा बाल अधिकार कार्यान्वयनका विषयमा गम्भीर छलफल गरिएको थियो। सरोकारवालाहरूको प्रतिबद्धता कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालबालिकाका मुद्दाहरू प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
आयोजक संस्थाहरूका अनुसार, यस्ता कार्यक्रमले बालबालिकाहरूलाई आफ्ना आवाज उठाउन तथा समाधान खोज्न सक्षम बनाउने विश्वास गरिएको छ। बालबालिकाहरूले बाल अधिकार प्रवर्द्धन तथा उनीहरूको भलाइका लागि यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्। आयोजकहरूले आगामी दिनहरूमा पनि समुदायस्तरमा बालकचहरीजस्ता छलफल कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन्।