जाजरकाेट । जाजरकोटका १५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १५ हजार किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन हुने भएको हो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार जिल्लाका सात पालिकाका २६६ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने छ । देशव्यापी रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म चल्नेछ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइने तयारी गरिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तबहादुर बुढाथोकीले अनुसार २६६ खोपकेन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने बताए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखेको उनको भनाई छ । उनका अनुसार ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचारसमेत सुनिश्चित गर्न सरकारको योजना रहेको छ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
जाजरकाेटका सात वटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिनेछ । भेरी नगरपालिकामा जम्मा ४७ वटा खोपकेन्द्र रहेका छन् । कक्षा ६ मा ५ सय १ जना, कक्षा ७‒१० सम्मका १ हजार ७ सय ७१ जना विद्यालयमा अध्ययनरत विद्यार्थी सहित जम्मा २ हजार ५ सय ६३ जना किशोरीलाई खोप लगाइने भएको छ । भेरी नगरपालिकामा माघ २२ गतेदेखि खोप अभियान सुरु हुने जनाईएको छ । छेडागाड नगरपालिकामा जम्मा २ हजार ९ सय ९७ जनालाई खोप लगाईने छ ।