२६ असोज काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ । लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।