७ भदौ काठमान्डौ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज बोलाएको छ । लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि सिंहदरबारस्थित संसद सचिवालयमा राखिएको समिति बैठकमा डाकिएको छ ।
लामिछाने यसअघि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक थिए । सोही क्रममा सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेपछि उनलाई सोही हैसियतमा आवश्यक सोधपुछका लागि बोलाइएको समितिका एक जना सदस्यले बताए ।गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि आजै बिहान ११ बजे बयानका लागि बोलाइएको छ । सांसद सूर्य थापा संयोजक रहेको छानबिन विशेष समितिले यहि भदौ २३ गतेभित्र आफ्नो प्रतिवेदन बुझाउने तयारी छ ।