सुर्खेत । गठबन्धन दलका शिर्ष नेताहरूले गठबन्धन र आफ्ना दलका उम्मेदवारीविरूद्ध दिएका कार्यकर्ताहरूलाई स्वतन्त्र र बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन्।
सुर्खेतमा भएको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरूले उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन्।
‘अहिले टिकट पाएनौं भनेर गठबन्धनभित्र विरोध गर्नुपर्दैन, हरेश खानुपर्ने अवस्था पनि छैन,’ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘तपाईंहरूले बागी उम्मेदवारी फिर्ता लिएपछि भोलि अरू थुप्रै ठाउँमा व्यवस्थापन गर्न सकिन्छ।’
देउवाले गठबन्धनको जीतका लागि आपसी रूपमा मिल्नुको विकल्प नभएको बताए।
उनले अहिलेको निर्वाचनमा परिवर्तन चाहने दलहरूबीच गठबन्धन भएकाले यो गठबन्धन वर्षौंसम्म जाने बताए।
‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो, ओलीबाट प्राप्त गरेको ज्ञान आज गठबन्धन बनाउनका काम लागेको छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भने, ‘नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएका थिए, त्यसलाई कांग्रेस–माओवादीकै अगुवाइमा परास्त गर्ने काम भएको थियो।’
उनले देशको विकास र समृद्धिका लागि अहिलेको गठबन्धन भएकाले गठबन्धनकै विरूद्ध परेका उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरूलाई सुझाए।
‘अहिले टिकट नपाएका या केही कारणले छुटेका साथीहरूलाई सम्बोधन गर्ने पर्याप्त ठाउँ हामीसँग हुनेछन्,’ प्रचण्डले बागी उम्मेदवारहरूलाई लक्षित गर्दै भने, ‘थुप्रै राजनीतिक नियुक्ति हुनेछन्, राजदूत हुनेछन्, संवैधानिक नियुक्ति हुनेछन्।’
इमानदार र टिकट नपाएकाहरूलाई भोलि राष्ट्रिय सभामा समावेश गर्नेगरी छलफल भएको उनले बताए।
उनले कर्णालीको विवादले केन्द्रमा प्रतिगमनले प्रवेश पाएको बताए।
‘कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार छन्, कतिपय ठाउँमा दलकै बागी उम्मेदवार छन्, कतिपय ठाउँमा मित्रवत प्रतिस्पर्धा भनिएको छ,’ भेलालाई सम्बोधन गर्दे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने, ‘ती सबै ठाउँमा समस्या हल गनुपर्छ, टिकट पाउनु मुख्य कुरा होइन। जित्ने कुरा मुख्य हो।’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने अभियान गठबन्धन दलभित्र चलेको बताए।
‘यतिबेला लोकतन्त्रको रक्षा गर्ने अभियानमा छौं, हामीले लोकतान्त्रिक उन्नतितर्फ अगाडि बढाउने बाटो खोजेका छौं,’ उनले भने।