८ असार बाँके । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको जानकारी दिए ।
नेपालगञ्ज बाहेक बर्दिया, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट छाला रोगका बिरामी अस्पताल आउने गरेका छन् । भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका बिरामीको सङ्ख्या झन् वृद्धि भएको नरैनापुर गाउँपालिकाको कटकुइया स्वास्थ्य चौकी प्रमुख दिनेशकुमार मौर्यले जानकारी दिए ।उनले दैनिक ४० देखि ६० जनासम्म बिरामीको जाँच हुँदा सबैभन्दा बढी २० देखि २५ जना छाला रोगका बिरामी फेला परेको बताए । छाला रोगमा सबैभन्दा बढी दाद, लुतो र छाला चिलाउने समस्या देखिएको उनको भनाइ छ ।बर्सेनि छाला रोगसम्बन्धी शिविर सञ्चालन भएको र त्यसबाट छाला रोगका बिरामी झन् बढ्दै गएको उनको भनाइ छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीले छाला रोगका बिरामी सबैभन्दा बढी आएको जानकारी दिए।