
जाजरकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री गणेशप्रसाद सिंहले पार्टीभित्र भएको उम्मेदवार छनोट प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेका छन्।
जाजरकोट जिल्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवार छनोट गर्दा पार्टीको विधि, विधान र सामूहिक निर्णय प्रक्रियाको उल्लङ्घन भएको आरोप लगाउँदै सिंहले पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा काठमाडौंमा औपचारिक असहमति पत्र बुझाएका हुन्।
उनले पत्रमा जाजरकोट जिल्ला पार्टी बैठकबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका नामहरूलाई बेवास्ता गर्दै दबाब, आदेश र व्यक्तिगत प्रभावका आधारमा फेरि पनि पुरानै नेता शक्ति बहादुर बस्नेतलाई टिकट दिइएको उल्लेख गरेका छन्। यही निर्णयप्रति गम्भीर असहमति जनाउँदै उनले पार्टी छोड्ने घोषणा गरेका हुन्।
सिंहका अनुसार जिल्ला बैठकमा क. शक्ति बस्नेतसहित अन्य नेताहरूको नाम सिफारिस गरिएको थियो। तर पछि काठमाडौँमा भएका भेटघाट र छलफलपछि जिल्ला निर्णय उल्ट्याइयो। उनले आफू उम्मेदवार नबन्ने स्पष्ट धारणा राख्दासमेत त्यसलाई बेवास्ता गरी जबर्जस्ती निर्णय लादिएको आरोप लगाएका छन्।
पत्रमा पार्टी अध्यक्षसँग भएका भेटघाट, टेलिफोन कुराकानी तथा बैठकका निर्णयहरूलाई तोडमोड गरी उम्मेदवार बनाउने प्रयास गरिएको उल्लेख छ। यस्तो प्रक्रिया पार्टीको लोकतान्त्रिक अभ्यास, विधान र सामूहिक नेतृत्वको मर्मविपरीत भएको सिंहको दाबी छ।
उनले यस्तो निर्णयले पार्टीभित्र गम्भीर असन्तुष्टि र विभाजन सिर्जना भएको बताउँदै सम्पूर्ण प्रक्रिया सच्याउन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्। साथै पार्टीका सबै तहमा आत्मालोचना गर्दै गलत निर्णय सच्याउन आग्रह गरेका छन्।
पार्टी हितविपरीत भएका निर्णय, आदेश र प्रतिनिधित्वप्रति घोर आपत्ति जनाउँदै आफूले औपचारिक रूपमा असहमति पत्र पेश गरेको सिंहले बताएका छन्।
पूर्वमन्त्री सिंहको पार्टी परित्यागपछि जाजरकोटको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
उक्त पत्रको पूर्ण पाठ निम्नानुसार रहेको छ ।
आदरणिय अध्यक्ष ज्यु
नेपाल कम्युनिष्ट पार्टी
केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौं । २०८२/१०/०४ गते
विषयः असहमति पत्र पेश गरिएको बारे।
प्रस्तुत विषयमा कर्णाली प्रदेश, जाजरकोट जिल्ला, निर्वाचन क्षेत्र नं.१ अन्तर्गत प्रतिनिधि सभा निर्वाचन २०८२ फाल्गुण २१ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवार छनोटको अन्तिम प्रक्रियासम्बन्धमा यस पत्रमार्फत् मेरो असहमति औपचारिक रूपमा प्रस्तुत गर्न चाहन्छु।
जिल्ला पार्टी जाजरकोटको मिति २०८२ साल पौष १० गते सम्पन्न बैठकमा क. शक्ति बस्नेतले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने सोच बनाएको छु, तपाईंहरू सल्लाह र तयारी गर्नुहोस् र म यो पटक पार्टी चलाएर बस्छु भन्ने जानकारि पठाउनु भएको थियो। उक्त बैठकमा पार्टीभित्र छलफल र सहमतिका आधारमा उम्मेदवार सिफारिस गर्ने विषयमा विभिन्न चरणमा चर्चा भएको थियो।
जिल्लाबाट सम्मानार्थ रूपमा क शक्ति बस्नेतसहित क रामदीप आचार्य, गणेश प्रसाद सिंह, क.कृष्ण बि.सी. क. पार्वती थापा र क. महेश अधिकारीका नाम सिफारिस गरिएको थियो। यसै सन्दर्भमा काठमाडौंमा क. शक्ति बस्नेतको निवासमा भएको भेटघाट तथा छलफलमा मैले उठ्ने भए त जिल्लाको बैठकमा जान्थे, म यो पटक उम्मेदवार नहुने मानसिकता बनाएकोले नै बैठकमा गएन भन्नुभएको थियो। उक्त भेटमा उहाँले तपाईहरु सल्लाह गर्नुहोस् भन्नुभयो।
त्यसपछि मेरो क. रामदिपसँग बसाइ भयो र उहाँले पनि समय लिएर क.शक्ति दाइसँग बसौं भन्ने कुरा भयो, तर शक्ति सरको समय मिलेन। क. रामदिपले पनि क. शक्ति दाइ रिजर्भ नभएर स्पष्ट बोल्नुपर्छ भन्नुभयो, तर क. शक्ति सरसँग छलफलको लागि उहाँको समय मिलेन।
त्यसपछि माघ १ गते मैले क.अध्यक्ष ज्यूलाई भेटेर क. शक्ति र क. रामदिपसँग भएका छलफलका कुराहरु र यसपालि शक्ति सरलाई पनि आलोपालो दिनुस् भनेर आग्रह गरेको र उहाँको भनाई यस्तो छ भनेर सबै रिपोर्ट पनि गरियो। साथै यसपटक मेरो दाबि पनि छ भनिसकेपछि अध्यक्ष ज्युले म शक्तिसँग कुरा गर्छु र भन्छु भन्नुभयो।
माघ ३ गते क. शक्ति बस्नेतसँग भएको भेटघाटमा अहिले भर्खर अध्यक्षको फोन आयो, तपाई उठ्नुपर्छ भन्नुभयो, तर मैले साथीहरुलाई म उड्दिन भनेर भनिसकेको छु। म ३ बजे भेटेर तपाईसंग सबै कुरा गर्छु भनेर भनेको छु भन्नुभयो। तर पार्टीले जाजरकोटबाट क. शक्ति बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
क. शक्ति बस्नेतलाई निर्वाचनमा उठ्न टिका लगाएर आदेश दिनु, एउटै व्यक्तिले अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गर्नु, साथै ूम उठ्ने मन छैनू भन्ने भनाइ हुँदाहुँदै पनि जबर्जस्ती निर्णय लादिनु यी सबै प्रक्रिया नेपाली कम्युनिष्ट पार्टी एकता घोषणा सभा सम्मेलन २०८२ कार्तिक १९ गते भृकुटीमण्डप, काठमाडौंबाट पारित अन्तरिम विधानको धारा ९९ बिपरीत रहेको र यी सबै कार्यहरु गम्भीर रूपमा आपत्तिजनक छन्।
यस्तो स्वेच्छाचारी, मालिक मुखिया प्रवृत्तिका निर्णयहरूले कार्यकर्ताहरूलाई रैती र दाससरह बनाउने प्रयास गरिएको छ, जुन पार्टीको विधान, सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत छ। यस किसिमका निर्णय, आदेश र प्रवृत्तिप्रति म घोर आपत्ति तथा असहमति प्रकट गर्दछु।
अतः यी सबै कारणहरूले गर्दा म नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय आयोजक समिति सदस्यसहित पार्टीको साधारण सदस्यसमेत नरहेको औपचारिक जानकारी यसै पत्रमार्फत् गराउँछु।
आजसम्म पार्टीका लागि मैले निर्वाह गरेका सम्पूर्ण काम (कार्बाहिमा) कुनै त्रुटि वा कमी कमजोरी भएको भए आत्मालोचना गर्दै यो असहमतिको पत्र पेश गरिएको
जानकारी गराउँछु ।
गणेश प्रसाद सिंह
जाजरकोट
नेपाली कम्युनिष्ट पार्टी
केन्द्रीय आयोजक समिति सदस्य