१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
एकीकृत समाजवादी जाजरकोटकाे अध्यक्षमा खड्का
एकीकृत समाजवादी जाजरकोटकाे अध्यक्षमा खड्का
  • Paschimpatra

जाजरकोट । नेकपा एकीकृत समाजवादी जाजरकोटको अध्यक्षको जिम्मेवारी नेता कमान खड्काले पाएका छन्। बुधबार सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको तेस्रो बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको हो। खड्का यसअघि उपाध्यक्ष थिए।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा सम्पन्न बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको जिल्ला कमिटी सचिव गंगाबहादुर शाहीले जानकारी दिए।

खड्काले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै पार्टी निर्माणमा कटिबद्ध भएर लाग्ने बताएका छन्। विशेष परिस्थितिमा प्राप्त भएको यो महत्त्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने र समाजवादको यात्रामा निरन्तर लागिरहने खड्काको प्रतिवद्धता छ।

‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला संगठन कमिटी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुहुने पार्टी अध्यक्ष कमरेड कृष्णबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपमहासचिव कमरेड प्रकाश ज्वाला, विभिन्न कमिटीमा प्रतिनिधित्व गर्ने जिल्लाका सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु। हार्दिक अभिवादनसहित लालसलाम!’, खड्काले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।

६ महिनाअघि जाजरकोटमा नेता कृष्ण बिसीको नेतृत्वमा एकीकृत समाजवादी गठन गरिएको थियो। बिसी हाल एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज छन्। जिम्मेवारी ग्रहण गरेको ६ महिना ६ दिनमा ६ नगर/गाउँ कमिटी, ३१ वडा कमिटी, १७ टोल कमिटी, ८ जनवर्गीय/पेशागत संगठन निर्माण गरि परिचालित भएका बिसीले बताएका छन्।

एक हजार २०० पार्टी सदस्यता अद्यावधिक भएका उनले बताए। जिल्ला कार्यालय, सचिवालय, ८ विभाग र अधिकांश फाँटहरुको पनि कार्यविभाजन गरिएको बिसीले बताएका छन्।

‘बुद्धिजीवी परिषद्, सल्लाहकार र जेष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व चयन गरिएको छ। कार्यालय र आन्तरिक अभिलेख उत्तिकै चुस्त बनाइएको छ’, बिसीले भने, ‘नेतृत्वमा पुगेपछि टाँसिइरहने नजिर तोड्न र पार्टी केन्द्रीय निर्देशन पालन गर्न नेतृत्व हस्तान्तरण गरेको हुँ।’

अध्यक्षको जिम्मेवारी पाएका खड्का जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन्। साविक खलंगा गाउँ विकास समितिको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका खड्का जाजरकोट उद्योग वाणिज्य संघमा लामो समय नेतृत्व गरेका थिए।

उनी हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत हुन्।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech