जाजरकोट । कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आजको गणतन्त्रले रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताएका छन् ।
नेकपा (एस) जाजरकोट जिल्लाको छैठौँ जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले गणतान्त्रिक व्यवस्थाले जनतामा रोजगारी सिर्जना गर्न नसक्दा भ्रष्टाचार मौलाउँदै गएको बताएका हुन् ।
यसैगरी नेपाली कांग्रेस विचार र सिद्धान्त विहीन पार्टी भएको, माओवादीले माओवाद व्याख्या गर्न नसकेको र नेकपा एमाले झनै केपी ओलीको सर्वसत्तावादका कारण पतनको बाटोमा गएको ठोकुवा गरे । सिद्धान्त र एजेन्डा विहीन यी पार्टी र अन्य क्षेत्रीयताको विचार बोक्ने पार्टीकै कारण मुलुक ठूलो दुर्घटनामा जान सक्ने नेता भुषालले बताए ।
अब मुलुकलाई यस खालको दुर्घटनाबाट बचाउन नेकपा एकीकृत समाजवादीले कोरेको बाटोमा सबै राजनीतिक दल आउनुपर्ने बताए । तब मात्र देशमा रोजगारी सिर्जना र भ्रष्टाचारको अन्त्य हुने नेता भुसालको भनाइ छ ।