जाजरकाेट । जाजरकोट भेरी नगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरपालिकाद्वारा सञ्चालन गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
वडा नं १३ को कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा देखिएको कठिनाइ समाधान नभएसम्म नगरपालिकाका सम्पूर्ण गतिविधिहरू बहिष्कार गर्ने निर्णय गरिएको हो । वडा नं १३ का वडा अध्यक्ष यज्ञ बहादुर बटालाका अनुसार, सो वडामा कार्यरत कर्मचारीको कार्यसम्पादनमा जटिलता देखिएको छ ।
नगरपालिकाले समयमै आवश्यक कर्मचारी खटाउन नसक्दा स्थानीय जनताले सास्ती भोग्नुपरेको छ । कार्यपालिकाको गत फागुन २६ गते बसेको बैठकले नयाँ कर्मचारी खटाउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएकाले बाध्य भएर कार्यक्रम बहिष्कार गर्नुपरेको अध्यक्ष बटालाले बताए ।
आज कार्यपालिका सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भेरी नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । विज्ञप्तिमा नगरपालिकाको प्रशासनिक कमजोरीप्रति आपत्ति जनाउँदै बैठक, सेमिनार, गोष्ठी तथा अन्तक्र्रियाजस्ता कुनै पनि कार्यक्रममा सहभागी नहुने स्पष्ट गरिएको छ ।